प्यूठान प्रवेश सीमानामा उच्च सतर्कता, भारतबाट आउनेलाई सिधै क्वारेन्टाइनमा

दाङ-प्यूठान र पूर्वी रोल्पा जान पूर्व पश्चिम राजमार्ग बाट राप्ती नदीमा बनेको पुल तरेपछि उत्तरतर्फ लाग्नु पर्छ। सानो तर, पक्कि बाटो हुदै अघी बढेपछी गनाह खोलाले दाङ र प्यूठानको सिमाना छुट्याएको छ। प्यूठानको सिमनामा ‘स्वर्गद्धारी स्वागतद्धार’ छ ।

लकडाउनले गर्दा बाटो सुनसान छ। वाटोमा गुड्ने सवारी साधन देखिदैनन् । मुस्किलले एम्बुलेन्स र सुरक्षा निकायका सवारी साधन गुडेको पाईन्छ । गनाह खोलाको प्यूठान सिमानामा केही युवा भेटिए।

प्यूठान जिल्ला प्रवेश गर्ने हरेक मानिसको बारेमा उनिहरुले सूचना संकलन गर्छन् । जेठ १ गते बाट भारतबाट आउने मानिसहरुको संख्या बढ्न थालेपछी यहाँ थप सतर्कता अपनाईएको छ।सरुमारानी गाउँपालिका वडा नं. २ ले प्यूठान प्रवेश गर्ने हरेक मानिसको रेडर्क राख्ने गरेको छ।

‘लकडाउन सुरु भएदेखीनै हामी स्वयम सेवामा खटिएका छौं। हाम्रो ददेरी दाङको राप्ती गाउँपालिका वडा नं. १, अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. ८ संग जोडिएको छ । त्यही भएर पनि हामीले अली बढी सजगता अपनाउनु पर्ने भएकाले खटिएका छौं’स्थानीय युवा आकाश भुसालले भने–‘भारतबाट आउनेलाई यही पुल नेर पाल टाँगेर वेटिङ्ग क्वारेन्टाइन बनाउँदैछौं। स्कुलसम्म नपुर्‍याउने । यही बाट सम्वन्धित पालिका सम्म गाडीको व्यवस्था गरेर पठाउने योजना छ।’

प्यूठानमा भारतबाट काम गरेर फर्कीने नागरिक भित्रन थालेपछि प्यूठान प्रवेश गर्ने नाकामा उच्च सतर्कता अपनाइएको छ । स्थानीय जनप्रतिनिधि, प्रहरी, स्वयमसेवक युवा अनावश्यक रुपमा हिडडुल गर्ने मानिसलाई रोक्दै भारतबाट आउनेलाई वेटिङ्ग क्वारेन्टाइनमा राख्ने गरेका छन्।

जेठ १ गते देखी चार गते विहान सम्म सम्म ३२ जना नागरिक भारतबाट प्यूठान आएको र उनिहरुलाई सम्वन्धित पालिकाको क्वारेन्टाइनमा पठाईएको प्रहरी हवल्दार मित्रबहादुर बोहोराले जानकारी दिए । उनका अनुसार कृष्णनगर नाका हुदै नेपाल प्रवेश गरेर प्यूठान आउने पञ्जाव, हरियाना, मध्यप्रदेश, लगनउ लगायतका शहरबाट आएकाहरु छन्।

‘भारतबाट प्यूठान जिल्ला प्रवेश गर्ने सबैको तीन पुस्ते विवरण, सम्पर्क नम्बर, काम गरेको ठाउँ सबै टिपोट गरेर राख्छौं’प्रहरी हवल्दार बोहोराले भने–‘कुनै किसिमको कमजोरी नहुनेगरी हामीले सिमामा काम गरिरहेका छौं ।’

बाहिरबाट आएकालाई व्‍यवस्थापन गर्न वडाध्यक्ष सक्रिय


सरुमा रानी गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष वसन्त जिसी क्वारेन्टाइनमै थिए । विहान ७ बजे भारतको इलाहवादबाट साइकल चढेर आएका तीन जना युवाको बारेमा बुझन उनी क्वारेन्टाइनमा आईपुगेका थिए। उनको वडामा जिल्ला स्तरीय वेटिङ्ग क्वारेन्टाइन पनि छ।

जिल्ला प्रवेश गर्ने हरेक नागरिक यो क्वारेन्टाइनमा रोकिनुपर्ने हुन्छ । सम्वन्धित गाउँपालिकासंग समन्वय गरेर मात्रै उनिहरु जिल्ला प्रवेश गर्न पाउछन् । अनी अर्को कुरा वडा अध्यक्ष जिसी संग आफ्नो वडामा को मान्छे भारतमा छ ? त्यहाँको अवस्था कस्तो छ भनेर नियमित सम्पर्कमा छन् । वडाबाट नेपालका अन्य जिल्लामा को कहाँ छ ? तेस्रो मुलुक पुगेको व्यक्तिको सवै विवरण समेत उनीसँग छ।

सरुमारानी गाउँपालिकाका एक हजार दुई सय ६० जना व्यक्ति भारतमा छन् । उनको वडाका दुई सय ४१ मध्य ७ जना भारतबाट आईपुगेका छन् । जिल्ला बाहिर एक सय ६७ जना छन् । तेस्रो मुलुकमा ८२ जना रहेको तथ्यांक छ । स्वयमसेवक परिचालन गरेर सबै विवरणहरु संकलन गरेर सरकार भएको महसुश वडाबासीलाई गराइएको छ।

इलाहवादबाट पाँच दिनमा साइकल चढेर प्यूठान आइपुगे तीन युवा

भारतको इलाहवादको एक होटलमा गेहेन्द्र बुढा र उनका दुई साथी काम गथ्र्ये । लकडाउनले होटल वन्द भएपछी तीन जना एउटा कोठामा बसे । रासन सकिएपछी साइकल चढेर पाँच दिनमा प्यूठान आईपुगेका छन्।‘पाँच दिन भयो त्यहाँबाट हिडेको । दिन रात साइकल चलाइयो।

खुट्टा सुन्निएका छन् ’उनले भने–‘गाउँ घरको मायाँले भारतमा बस्न दिएन । फर्किएर आयौं ।’ स्वर्गद्धारी नगरपालिका वडा नं. ५ निवासी उनिहरु अव भारत नजाने संकल्पका साथ गाउँ फिरेका हुन्।‘अब भारत नजाने। गाउँमै हलो जोत्छु तर, जाँदिन’ओविराम रोका मगरले भने–‘साइकल चढेर आउन त दुःख भयो। तर, दुःख भयो भनेर पनि के गर्नु।’

जेष्ठ ४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू