‘प्रेस’ लेखिएको भारतीय मोटरसाइकलमा सवार दुईजना हतियारसहित पक्राउ

सांकेतिक तस्बिर

जनकपुरधाम– प्रेस लेखिएको भारतीय मोटरसाइकलमा सवार दुई जनालाई हतियारसहित सर्लाहीबाट पक्राउ गरिएको छ। प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको टोलीले दुई जना युवालाई पेस्तोल र त्यसमा लाग्ने गोलीसहित नियन्त्रणमा लिएको हो।

सर्लाहीको विष्णु गाउँपालिका वडा नं. ३ का २५ वर्षीय मदन साह कानुलाई पोस्तोल र त्यसमा लाग्ने गोली एक राउण्ड र भारतको सितामढी जिल्ला ग्राम मरहाडिह वार्ड नं. १ का १९ वर्षीय अनिष साह मुस्लिमलाई १ थान पेस्तोल, त्यसको म्यागजिन एक थान र ५ राउण्ड गोलीसहित नियन्त्रणमा प्रहरीले लिएको हो।

पक्राउ परेका दुवैजनालाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा पठाएको प्रदेश प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक सापकोटाले बताए।

यस्तै प्रहरी टोलीले धनुषाबाट पनि दुई जनालाई हतियारसहित नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता प्रहरी उपरीक्षक जयराज सापकोटाले जानकारी दिए।

धनुषा जिल्लाको शहिदनगर नगरपालिका वडा नं. ३ झण्डा चौकबाट दुई जना युवालाई एउटा पेस्तोल र त्यसमा लाग्ने तीन राउण्ड गोलीसहित प्रदेश प्रहरीबाट खटिएको सादा पोशाकका प्रहरी टोली र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।

पक्राउ परेका कमला नगरपालिका वडा नं. ८ हरिनेका १८ वर्षीय अक्षय पासवान र २० वर्षीय सुनिल कुमार साहलाई जिल्ला प्रहरी कार्यालय धनुषामा पठाइएको प्रदेश प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक जयराज सापकोटाले जानकारी दिए।

जेष्ठ ४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्