भारतबाट आएर धनगढीमा क्वारेन्टाइनमा बसेकालाई सम्बन्धित जिल्ला पठाइयो

धनगढी– भारतबाट आएर धनगढीमा क्वारेन्टाइनमा बसेका १ सय ८५ जनालाई आइतबार सम्बन्धित जिल्लामा पठाइएको छ। धनगढीबाट चार बस र एक टिपरमा उनीहरुलाई घर पठाइएको हो।

जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत यादव भण्डारीका अनुसार एउटा बसमा बैतडीका २९ जनालाई पठाइएको छ। झापा जाने बसमा ४४ जना, पोखरा जाने बसमा ५३ जना, सुर्खेत जाने बसमा ४८ जना र बर्दिया जाने टिपरमा ११ जनालाई पठाइएको हो।

झापा जाने बसमा नवलपरासी, मकवानपुर, रौतहट, धनुषा, सिराहा, सिन्धुली, बारा, सप्तरी, सुनसरी, मोरङ, झापा, इलाम र बाँकेका बासिन्दा रहेका छन्।

त्यस्तै पोखरा जाने बसमा बाग्लुङ, दाङ, चितवन, तनहुँ, कास्की र स्याङजाका बासिन्दा रहेका छन् भने सुर्खेत जाने बसमा सुर्खेत, सल्यान, दैलेख, पश्चिम रुकुम र दाङका वासिन्दा रहेका छन्।

सम्बन्धित जिल्ला प्रशसान कार्यालयसँग समन्वय गरेर क्वारेन्टाइनमा रहेकाहरुलाई पठाइएको र सम्बन्धित जिल्लाका राजमार्गमा रहेका प्रहरी इकाइमा उनीहरुलाई बुझाइने जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशीले बताए।

‘सम्बन्धित जिल्लाका प्रशासनसँग समन्वय गरेर पठाइएकोले बसमा रहेकाहरुलाई सम्बन्धित जिल्लाको प्रहरी इकाईमा बुझाउँछौँ’, प्रशासकीय अधिकृत जोशीले भने, ‘प्रहरी कार्यालयबाट सम्वन्धित पालिकाहरुले बुझेर क्वारेन्टाइनमा  राख्नेछन्।’

क्वारेन्टाइन रहेकाहरुलाई पुर्‍याउन मारवाडी सेवा समिति, कैलाली उद्योग वाणिज्य संघ, रोटरी क्लब धनगढी र श्याम तायलले एक–एक बस उपलव्ध गराएका हुन्। बसमा जानेहरुका लागि मारवाडी सेवा समितिले नास्ता र पानीको पनि व्यववस्था गरेको छ।

मारवाडी सेवा समितिका उपाध्यक्ष अनिलकुमार भुजानियाले यस संकटको बेलामा मानवीय नाताले बसको व्यवस्था गरेको बताए। ‘अहिले संकटको बेला छ, यस्तो बेलामा नै मानवीय भावना देखाउनु पर्छ’, उपाध्यक्ष भुजानियाले भने, ‘त्यसैले हामीले सल्लाह गरेर बस र बसमा जानेलाई नास्ता र पानी उपलव्ध गराएका हौँ।’

भारतको पलियामा क्वारेन्टाइनमा  रहेका ७ शय ५८ जना नेपालीलाई शुक्रबार र शानिबार गौरीफन्टा नाकाबाट नेपाल भित्र्याइएको थियो। नेपाल भित्रिएका उनीहरुमध्ये कैलाली घर भएकाहरु सम्बन्धित पालिकाको सम्पर्कमा गइसकेका छन्।

प्रशासकीय अधिकृत भण्डारीका अनुसार अब धनगढीका क्वारेन्टाइनमा  डोटी, अछाम, बाजुरा र काठमाडाैँका वासिन्दा रहेका छन्।

जेष्ठ ४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्