प्रिमियर लिग पुनः सुरु गर्ने अभियानको अर्को चरणमा मतदान हुँदै

इंग्लिस प्रिमियर लिग क्लबहरुले यो हप्ता आफ्ना खेलाडीहरुलाई सानो समूह बनाएर प्रशिक्षण गर्न स्वीकृति दिने तयारी गरेका छन् । अहिलेसम्म खेलाडीले एक्लै प्रशिक्षण गरिरहेका छन् ।

आउँदो जुन १२ देखि लिग सुरु गर्ने तयारी छ । कोरोना भाइरसको महामारीका कारण गएको मार्च १३ देखि रोकिएको लिगका खेलहरु पुनः सुरु गर्ने सम्बन्धमा भने क्लबहरु अझै एकमत हुन सकेका छैनन् ।

न्यूट्रल भेन्यूमा बाँकी ९२ खेल गर्ने तयारी थालिए पनि सबै क्लब त्यसमा सहमत देखिएका छैनन् । सोमबार लिगका २० क्लबबिच छलफल हुँदैछ । सो छलफलमा प्रशिक्षण तथा मेडिकल प्रोटोकललाई लिएर मतदान हुनेछ ।

मतदानमा प्रस्ताव पारित भएमा मंगलबारदेखि खेलाडीहरु पाँचजनाको समूह बनाएर प्रशिक्षण गर्न पाउने छन् । प्रस्ताव पारित हुन लिगका २० मध्ये १४ क्लब सहमति हुनु पर्छ ।

सबै प्रोटोकलहरुमा सामाजिक दूरीसहितका सुरक्षात्मक उपायहरुलाई ख्याल गरिएको लिगका क्लबले बताएका छन् ।

गएको हप्ता बेलायत सरकारले क्लबहरुले प्रशिक्षण व्यक्तिगत रुपमा सुरु गर्न पाउने गरी मार्ग खुला गरेको थियो । तर बन्द रंगशालामा खेल हुनका लागि अझै धेरै समय लाग्ने देखिएको छ ।

जेठ ५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्