कालिमाटी तरकारी बजारमा गरिएका सबै परीक्षणकाे रिपाेर्ट नेगेटिभ

काठमाडौँ – कालिमाटी तरकारी बजारमा कोरोना भाइरस संक्रमणको लागि गरिएको सबै परीक्षण नेगेटिभ आएको छ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका प्रमुख तेजेन्द्र पौडेलका अनुसार परीक्षण भएका सबै रिपोर्ट नेगेटिभ आएको हो।

जेठ १ गते झण्डै ६ सय १ जनामा आरडिटी र पीसीआर परीक्षण गरिएको थियो। जसमा दुई जनाको आरडिटी परीक्षण पोजेटिभ आएको थियो। आरडिटी पोजिटिभ आउनेमा एक जना भरिया र एक जना सावारी चालक रहेका थिए। उनीहरुलाई टेकु अस्पतालको आइसोलेशमा राखिएको थियो।

काठमाडौँ महानगरपालिकाले कालिमाटी तरकारी बजारमा काम गर्ने व्यापारी, भरीया, सवारी चालक, सरसफाई कर्मचारीहरु सबैको कोरोना परीक्षण गरेको थियो। बिहीबार बिहान ११ बजेदेखि बेलुका साँझसम्म गरिएको परीक्षणमा २३ प्रतिशतलाई पिसिआर र बाँकीलाई आरडिटी गरिएको थियो।

आइतबार साँझ पीसीआर टेस्टको सबै नतिजा नेगेटिभ आएको हो। परीक्षण गरिएका सबैमा टेस्ट नेगेटिभ आएपछि कालिमाटी तरकारी बजार पूर्ण रुपमा सञ्चालनमा आइरहेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका प्रमुख तेजेन्द्र पौडेलले जानकारी दिए।

जेठ ५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्