अमेरिकन आइडलका निर्णायकले भने-काठमाडौँमा आर्थरजस्तै अरु गायक हुनुहुन्छ भने आगामी सिजन फर्म भर्नुस्

काठमाडौँ – दिवेश पोखरेलले अमेरिकन आइडलको स्टेज टेक्दा आफ्नो पुरा परिचय दिएका थिए सुरुमा- नमस्ते म दिवेश पोखरेल। स्टेजमा आर्थर गनका रुपमा चिनिने छु। म नेपालको काठमाडौँमा जन्मिएको हुँ। पाँच वर्षअघि अमेरिका आएको हुँ।

तीन सदस्यीय निर्णायक टोलीमध्येका वरिष्ठ लाइनाे रिचीले अडिसनमा पोखरेलको पहिलो गितपछि उनलाई आफ्नो क्षमता खुलाउने खालको अर्को गीत गाउन आग्रह गरेका थिए। उनले सिसिआरको ह्याभ यू एभर सिन द रेन गीत गाए।

गीतपछि अर्की निर्णायक केटी पेरीले उनको वास्तविक नाम पुन सोधिन् अनि भनिन्- दिवेश, यू आर रकस्टार। अर्का निर्णायक लुक ब्रायनले उनलाई विश्व संगीतमा राज गर्न सक्ने कलाकार भने। अनि रिचीले दिवेश उभिरहेको ठाउँ अगाडि आएर उनलाई अंगालो हाले ।

त्यसयता टप-४०,टप-२०, टप-१०,टप-७,टप-५ हुँदै टप-२ सम्म आईपुग्दा उनले हरेकपटक निर्णायकहरुलाई आश्चर्यमा भने।

रिचीकाे शब्दमा आर्थरले हरेकपटक आफ्नै कीर्तिमान भंग गरे, जति पनि गीत गाए, आफ्नो बनाएर गाए अर्थात ती गीतहरुमा आफ्नै पहिचान दिए। ब्रायनकै शब्दमा आर्थरका बारेमा कहिले उनले प्रश्न गर्नु परेन किनभने उनले कहिल्यै नराम्रो गाएनन्।

नेपाली समयअनुसार सोमबार बिहान अमेरिकन आइडल २०२० को विजेता घोषणा गरियो। टप-७ मा पुगेका प्रतियोगिहरुमध्ये गत साताको प्रदर्शनका आधारमा टप-५ छनाैट गरेर उनिहरुलाई २/२ वटा गित गाउन लगाइएको थियो। विजेता घोषणा गरिनुअघि दिवेशले ह्याभ यू एभर सिन द रेन गाए, आफ्नै भर्सनमा। प्रतियोगितामा उनले यो गित आफ्नै भर्सनमा गाएको दोस्रोपटक थियो।

शायद कुनै पनि प्रतियोगितामा एउटै गीत कुनै एक प्रतियोगिले फरक फरक तरिकाले एकभन्दा बढी पटक गाएको यो पहिलोपटक हुनुपर्छ।

ब्रायनले यसअघिजस्तै प्रंससा दोहोर्‍याएर अन्तिमपटक भने- काठमाडौँमा आर्थरजस्तै अरु गायक हुनुहुन्छ भने आगामी सिजनका लागि फर्म भर्नुस्।

२१ वर्षीय आर्थरले गाएका गितहरुमा निर्णायकहरुले उठेर सम्मान व्यक्त नगरेको कुनै क्षण थिएन। प्रतियोगिता दौरान नेपालबाट आफ्नो सपना पछ्याउँदै अमेरिकामा आएर यो स्थानसम्म पुग्न ठुलै साहस चाहिन्छ होला नी भन्ने प्रश्नमा दिवेशले भनेका थिए-हरेक मानिसले आफ्नो सपना पछ्याओस्। शायद मबाट मानिसहरुले यहि सिक्नेछन्।

रिचीले एकपटक भनेका थिए-दिवेश जब गाउनुभन्दा अगाडि आईरहेका हुन्छन्, यसले के गाउला नि भन्ने लाग्छ जब उनी गाउन मुख खोल्छन् अनि विशिष्ट गायकी पहिचान देखाउँछन्।

यूट्युबलगायत सामाजिक सन्जालहरुमा हेरिएका गीतहरुका आधारमा दिवेश अन्य प्रतियोगिभन्दा निकै अगाडि देखिएका थिए। अन्तिम दुईको नाम सार्वजनिक गर्दा पनि दिवेशकै नाम अगाडि लिइएको थियो। दाबेदारका रुपमा कम नाम सुनिएकी अफ्रिकन अमेरिकन जस्ट सामको नाम त्यसपछि घोषणा गरिएपछि दिवेशले जित्ने अनुमान गरिएको थियो। तर अमेरिकन आईडलको विजेताका रुपमा यसअघिका विवादहरुले यसपटक पनि निरन्तरता पायो-विजेता बन्ने प्रवल अनुमान गरिएका प्रतियोगि उपविजेता बन्ने चलन।

अर्थात दिवेश उपविजेता बने। प्रतियोगिता जित्नु एउटा कुरा, आफ्नो क्षमता विश्वलाई देखाउनु अर्को। विश्वकै सबैभन्दा ठूलाे सांगीतिक रियालिटी सो अमेरिकन आईडलको मन्चमा उभिएको पहिलो दिनमै दिवेशले विश्व संगितको ध्यान तानेका थिए। उनले आफ्नो पहिचानलाई विश्वस्तरमा व्यापक बनाएका छन्। अब यसलाई उनले कति सघन बनाउने छन्, आगामी दिनमा उनीबाट हुने सृजनामा निर्भर हुने छ।

तर ब्रायनले भनेजस्तै अमेरिकन आईडलजस्ता ठुला सांगितिक रियालिटी सो अब विश्वका कुना कुनाका आवाजहरुप्रति सचेत हुने छ। विश्वका कुना कुनाका प्रतिभाले विश्वस्तरको सपना देख्न थाल्नेछन्।

जेष्ठ ५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्