एमसीसी चोर बाटोबाट पारित गर्न खोजियो : भीम रावल

फाइल फोटो।

काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) चोर बाटोबाट पारित गर्न खोजिएको बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा नेता रावलले राष्ट्रहित विपरितको एमसीसी सम्झौता चोर बाटोबाट पारित गर्न खोजिएको आरोप लगाएका छन् ।

एमसीसी पारित गर्नैपर्ने कांग्रेस सभापतिले दिएको अभिव्यक्तिलाई रावलले महाकाली सन्धिसँग जोडेका छन् । उनले भने, ‘एमसीसी पछाडिको ढोकाबाट आउन खोजेजस्तो अनुभूति भइरहेको छ । नेपाली कांग्रेसका नेताले भन्नुभयो छिटो पारित गर्नुपर्छ भनेर । उहाँले महाकाली सन्धिमा पनि त्यस्तै कुरा गर्नुभएको थियो । १०—१० वर्षमा महाकाली सन्धिको पुनरावलोकन हुने भन्ने थियो । न त्यसको पुनरावलोकन भएको छ, न कार्यान्वयन भयो । मैले आशा गर्छु नीति तथा कार्यक्रममा उल्लेख भएका विषय एमसीसी अन्तर्गत हुनेछैनन् । यदि भयो भने त्यो राष्ट्रहित विपरित हुनेछ । जनताले आवाज उठाउँदै आएको कुराको विपरित हुनेछ ।’

नेता रावलले अन्तरदेशीय उद्योग धन्दा खोल्ने कुरा नीति तथा कार्यक्रममा उल्लेख भए पनि कानूनमै नभएको उल्लेख नभएका कुरा गरेर जनतामा भ्रम सिर्जना गर्न खोजिएको बताए । उनले जनतालाई दुविधामा पार्ने र आलोचित विषयहरु सरकारले अगाडि नबढाउनेमा विश्वास व्यक्त गरे ।

भिडियाे:

रावलले राष्ट्रिय स्वाधिनताको रक्षाका लागि सरकारले नेपालको सम्पूर्ण भूभागसहितको नक्सा सार्वजनिक गर्ने कुरा स्वागतयोग्य रहेको बताए । विश्वमहामारीबाट जोखिनुपर्ने अवस्थामा राष्ट्रिय स्वाधिनता, स्वतन्त्रता र सुक्षातर्फ त्यतीकै गम्भीर भएर लाग्नुपर्ने आवश्यकता रहेको उनले बताए।

नेपाली कांग्रेसका नेता शशांक कोइरालाले सरकारले ल्याएको नीति तथा कार्यक्रम कर्मकाण्डी मात्रै भएको बताएका छन् । जनताको दुःखमा सरकार संवेदनशिल हुनुको सट्टा कर्मकाण्डी शैलीमा आफ्नै गुणगान गाउँदै नीति तथा कार्यक्रम आएको उनले बताए ।

नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानी लागयतका अतिक्रमित भूमिका विषयमा नीति तथा कार्यक्रममा उल्लेख हुनु सकारात्मक भए पनि सार्थक र परिणाममूखि वार्ता गरेर उच्च स्तरबाटै समाधान खोज्नुपर्ने उनले बताए ।

सरकारले कोरोना नियन्त्रणलाई उच्च प्राथमिकतामा राखेको बताएपनि खास योजनाहरु नआएको उनले बताए ।

जेठ ५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्