इन्सपेक्टरको बढुवामा शक्ति केन्द्र हावी, अख्तियारमा कार्यरत १० मध्ये ९ जना सिफारिस

काठमाडौं – २०६७ सालमा खुलातर्फ प्रहरी निरीक्षकमा भर्ना गरिएका ८० जनामध्ये अहिले कार्यरत ७६ जना छन्। चार जनाले जागिर छाडे। यीमध्ये सात जना सरकारी कर्मचारीले गर्ने भष्ट्राचार हेर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छन्।

गृह मन्त्रालयले आइतबार ६० प्रहरी नायब उपरिक्षक-डीएसपी दरबन्दीका लागि निकालेको बढुवा सिफारिस सूचीमा उक्त ब्याचका ३१ जना छन् जसमा अख्तियारमा कार्यरत ७ मध्ये ६ जना बढुवा सिफारिसमा परेका छन्। त्यसबाहेक अन्य तीन इन्स्पेक्टर पनि अख्तियारमै कार्यरत छन्।

दुई वर्षयता अख्तियार केन्द्रीय कार्यालय टंगालमा दरबन्दी रहेका सन्जिब बाबु खड्का आफ्नो ब्याचबाट पहिलो नम्बरमा रहेर बढुवा सिफारिसमा परेका छन्। खुलातर्फ प्रहरी निरीक्षकमा नाम निकाल्दा सन्जिबबाबु १३ औँ नम्बरमा थिए।

डीएसपीका लागि बढुवा सिफारिस हुँदा उनले १२ स्थान छर्लाङ मारेका छन्। बढुवा सिफारिसमा महत्वपुर्ण भूमिका खेल्ने गृह मन्त्रालयका सचिव पनि अख्तियारबाटै आएका हुन्। आफ्नो ब्याचमा पहिलो नम्बरमा रहेका अनिल घिमिरे बढुवा सिफारिस हुँदा ३८ औँ नम्बरमा झरेका छन्।

व्यावशायिक प्रहरी अधिकृतको छवी बनाएका र आफ्नो ब्याचबाट संगठनको भावी नेतृत्व गर्न सक्ने अधिकृतका रुपमा हेरिएका घिमिरेलाई बढुवा यति धेरे पछाडि किन पारियो, संगठनभित्रका व्यावशायिक प्रहरी अधिकारी अचम्मित छन्।

विगतमा प्रहरी निरिक्षकमा रिक्त दरबन्दी पुर्ती गर्दा ४० प्रतिशत नायब निरिक्षक-सईबाट बढुवा गरेर पुर्ति गरिन्थ्यो भने ६० प्रतिशत खुला प्रतिस्पर्धाबाट लिइन्थ्यो।

२०६७ सालमा सईबाट प्रहरी निरिक्षकमा बढुवा भएकामध्ये २३ जना प्रहरी अधिकृत पनि यसपटक बढुवा सिफारिसमा परेका छन्। जसमध्ये अख्तियारमा कार्यरत तीनै जना बढुवा सिफारिसमा परेका छन् । त्यतिबेला ५८ जना सई, इन्सपेक्टरमा बढुवा भएका थिए। सईबाट इन्सपेक्टरमा बढुवा हुन बहालवाला दर्जामा कम्तिमा ८ वर्ष काम गरेको हुनुपर्ने प्रहरी नियमावलीको व्यवस्था छ।

यसपटक बढुवा सिफारिस भएका ६० मध्ये ६ जना अघिल्ला बढुवामा छुटेका प्रहरी अधिकृत छन्।

शक्ति केन्द्रको चलखेल 

अख्तियारसँगै निजी क्षेत्रबाट हुने अकुत सम्पत्ती आर्जनको अनुसन्धान गर्ने सम्पत्ती शुद्धिकरण विभाग प्रहरी अधिकारीका लागि शक्तिकेन्द्रसँग सम्बन्ध नजिक बनाउने निकाय हुन्।

सम्पत्ती शुद्धिकरण विभागमा कार्यरत प्रतिक विष्ठ पनि बढुवा सिफारिसमा परेका छन्। खुलातर्फ प्रहरी निरिक्षकमा नाम निकाल्दा उनी ३८ औँ नम्बरमा थिए। अचम्म त के छ भने खुलातर्फ प्रहरी निरिक्षकमा नाम निकालेका ८० जनामध्ये दोस्रोदेखि १२ औँ नम्बरसम्म केवल एक जना मात्र बढुवा सिफारिसमा परेका छन्।

१३ औँ नम्बरमा रहेका सन्जिबबाबु र १४ औँ नम्बरमा रहेका पन्चकुमार बाखु बढुवा सिफारिसमा आफ्नो ब्याचका मध्ये क्रमश पहिलो र दोस्रो नम्बरमा छन्। यसैगरि ७२ औँ नम्बरमा रहेका प्रमेश विष्ट आफ्नो ब्याचबाट तेस्रो नम्बरमा रहेर बढुवामा सिफारिस भएका छन्।

१५ औँ नम्बरमा रहेका नविनराज बुढाथोकी चौथो नम्बरमा छन् बढुवा सिफारिसमा । खुलातर्फ प्रहरी निरिक्षकमा नाम निकाल्दा निकै पछाडि रहेका सुबास खड्का, इन्द्रबहादुर राना पनि बढुवा सिफारिसमा परेका छन्।

शक्तिकेन्द्रहरुसँग सम्पर्क बढाउने महानगरीय अपराध महाशाखा, केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीमा कार्यरत प्रहरी निरिक्षकहरु पनि बढुवा सिफारिसमा परेका छन्। अख्तियार, सम्पत्ति शुद्धिकरण विभाग, सीआईबी, महाशाखालगायतमा काबिल प्रहरी अधिकृतहरुलाई खटाइनुपर्ने भएपनि यसमा दरबन्दी पार्न क्षमताभन्दा बढी शक्ति केन्द्रसँगको सम्बन्ध र सम्पर्कले ठुलो भूमिका खेल्ने गरेको छ।

जेष्ठ ५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू