लकडाउनमा भीरबाट हिड्दै, ज्‍यान जोगाउँदै कर्णालीका स्थानीय

सिमकोट- लकडाउनले कर्णाली करिडोर अन्तर्गत खार्पु सुनाखाडा खण्डको बोक्चे गौडा भिरमा निर्माण कार्य भइरहँदा त्यहाँका स्थानीयहरु भने आफ्नो ज्‍यानलाई धरापमा राखेर पैदल हिड्न बाध्य छन्। अत्यावश्‍यक खाद्यान्‍न र विरामीलाई आउजाउ गर्न परेपछि त्यही भीरको बाटोमा ज्‍यान जोखिममा राख्‍दै पैदल हिड्‍नु परेको त्‍यहाँका स्थानीय कुशल रोकाया बताउँछन्।

उनी भन्छन्, ‘ बन्दबन्दीका बेला काम बिशेषले हिड्ने पैदल यात्रुहरु ज्यानको जोखिम उठाएर हिड्न परिरहेको छ। कर्णाली करिडोर अन्तर्गत खार्पु सुनाखाडा खण्डको बोक्चे गौडा भिरमा निर्माण कार्य भइरहेको हामीलाई आवत जावतमा समस्या भइरहेको छ। कतै घिस्रेर त कतै झार समातेर हिड्‍नु परिरहेको छ।’

उनका अनुसा तल कर्णाली नदी माथि बन्दै गरेर भिरबाट हिड्न निक्कै जोखि रहेको भए पनि हिड्नै पर्ने बाध्यता भएकाले समस्या आइपरेको हो।कतै घिस्रेर त कतै झार समातेर पैदल यात्रुहरुले ओहर दोहर गर्नु परि रहेको उनको भनाइ छ।

काम बिशेषले आउने यात्रुहरुले जोखिम उठाएर हिड्नु परि रहेको उनले बताए । पशुबस्तु हिड्न भने बन्द गरिएको छ । बिष्फोट भएको भीरमा हिड्न यात्रुहरुलाई रिंगटा पनि लाग्ने गरेको छ, तर पनि यात्रुहरुले हिड्नु परि रहेको छ।

करिब सत्तरी देखि असी मिटर लामो अप्ठ्यारो भिर नकट्दासम्म ज्यान थुरथुर काम्ने अर्को यात्रु पदम बहादुर शाहीले बताए । तर पनि बिरामी, अन्य महत्वपुर्ण काम परेका मानिसहरु त्यो बाटो नहिटि सुखै नभएको उनको गुनासो छ।

गत पुसबाट करिडोरको उक्त खण्डमा सडक निर्माण कार्य सुरु भएको भएपनि हालसम्म सम्पन्न नहुदा पैदल यात्रुहरुलाई शास्ती खेप्नु परेको हो । निर्माण कम्पनीले उक्त बाटोमा नहिड्न र अन्य बाटोको बिकल्प पनि दिन नसकेको गुनासो बटुवाहरुको छ।

सडकको निर्माण कार्य कछुवा गतिमा अगाडी बढी रहेको कारण कहिलेसम्म यात्रुहरुले शास्ती खेप्नु पर्ने हो, त्यो भने निश्चित भएको छैन । बिफोष्टको काम मात्र भएको कारण आयोजनाले पनि कहिले सम्पन्न होला भन्न नसक्ने अबस्था रहेको जनाएको छ।

बिष्फोटका लागि होलहरु खोप्ने र बिष्फोट गर्नका लागि सेना सदरमुकामबाट जानु पर्ने भएको कारणले पनि काममा ढिलाई भई रहेको निर्माण कम्पनीको भनाई रहेको छ।

आयोजना र निर्माण कम्पनीले सूचना जारी गरि उक्त खण्डमा सडक निर्माण कार्य भई रहेको कारण नहिड्न अनुरोध गरे पनि पैदल यात्रुहरुले अटेर गर्दै हिडि रहेको जनाएको छ।

जेठ ५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्