लकडाउनमा नातिनीका लागि दूध लिन निस्केका बृद्धको प्रहरीले खुट्टा भाँचिदियो

पर्सा- कोरोना महामारीबीच जारी निषेधाज्ञामा नातिनीका लागि दूध लिन घरबाट निस्केका एक वृद्धको सोमबार प्रहरीले कुटपिट गरी खुट्टा भाँचिदिएको छ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ का ६७ वर्षीय नागेन्द्र पटेललाई प्रहरीले कुटपिट गरि खुटा भाँचिदिएको हो।आइतबार बिहान उनी नातिनीको लागि दूध लिनको लागि घरबाट पसल जाँदै गर्दा वीरगञ्‍ज बसपार्कस्थित प्रहरीले कुटपिट गरेको हो। कुटपिटबाट उनको दाहिने खुट्टा भाँचिएको छ।

पसल हिँडिरहेका वृद्धलाई प्रहरीले रोकेर किन घरबाट बाहिर निस्केको? कहाँ गइरहेको? भन्दै जथाभावी कुटपिट गरेका थिए। घाइते भएका उनलाई नेशनल मेडिकल कलेजमा उपचार गराइएको छ भने पटेलको खुट्टामा प्लास्टर गरिएको छ।

प्रहरीले कुटपिट गरेको बिषयमा परिवारजनले बसपार्क प्रहरी चौकीमा सोधपुछ गर्दा प्रहरीले आफूहरुले नभई टाईगर टोलीले कुटपिट गरेको हुन सक्ने जवाफ दिएका छन्।

खुट्टा भाँचिदिएपछि प्रहरीविरुद्धमा समाजिक सञ्जालमा सर्वसाधारण आलोचना गर्दै घटनामा संलगन प्रहरीलाई कारवाही गर्नु माग गरेका छन्।

यता, वीरगञ्‍ज महानगरपालिकाका राजनीतिक सल्लाहकार मुकेश द्विवेदीले फेसबुकमार्फत प्रहरीको चर्को आलोचना गरेका छन्। उनले भनेका छन्, ‘प्रहरी मेरो साथी नारामा मात्रै सीमित भयो। व्‍यवहारमा कहिले कार्यान्वयन गर्ने र गराउने ? आज वीरगञ्जमा बिहान बसपार्कमा दुध किन्न गएका होटेल व्‍यवसायी नागेन्द्र पटेललाई लालबाबु साह नाम भएको असईले कुटपिट गरि खुट्टा समेत भाँचिदिनुलाई के भन्ने?’

बसपार्कको प्रहरीसँग सोध्दा प्रहरीले त्यस्तो कुटपिट नभएको भन्ने खबर पाएको तथा घटनाको बारेमा आफूले पनि समाचार पढेपछि मात्रै थाहा पाएको पर्साका प्रहरी प्रबक्ता वीरेन्द्रबहादुर शाहीले जानकारी दिए। उनले प्रहरीले नै कुटपिट गरी खुटा भाँचेको भन्ने सामाजिक सञ्जालमा आएको फोटोको बारेमा पनि बुझ्ने कार्य भइरहेको बताए। ‘हामीले पनि समाचारमा पढेर नै थाहा पायौँ, बसपार्क प्रहरीमा बुझ्दा त्यस्तो केही भएको छैन भनेर कुरा आयो,’ शाहीले भने, ‘सामाजिक सञ्जालमा पनि आएको फोटो र मेडिकल रिपोर्टको बारेमा पनि हामी बुझ्दैछौँ।’

जेष्ठ ५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्