इगोका कारण पत्‍नीले गरिन् पतिको हत्या, हत्यामा संलग्न तीनजना प्रहरी फन्दामा

मोरङ-विराटनगरमा औषधि ब्यवसायी देविप्रसाद दुलालको हत्यामा संलग्न तीन जनालाई प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरंगका अनुसार पति दुलाललाई सबक सिकाउने इगो राखेर पत्नी मीना श्रेष्ठ दुलालको योजनामा हत्या गरिएको खुलेको छ।

प्रहरीले पतिपत्निबीच चिसिएको सम्बन्धका कारण पति दुलाललाई सबक सिकाउने क्रममा योजनाबद्ध रुपमा हत्या गरिएको अनुसन्धानबाट खुलेको जनाएको छ। तथापी, घटना भएको २४ घण्टा नवित्तै प्रदेश एक प्रहरी कार्यालयको अनुसन्धान टोली र मोरंग प्रहरीको संयुक्त टोलीले घटनामा संलग्न पत्नीसहित अन्य दुईजनालाई पक्राउ गरेको छ।

मोरंग प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले सोमबार भर्चुअल पत्रकार सम्मेलनका क्रममा घटनामा मुख्य योजनाकार श्रेष्ठसहित सिराह लाहान १० पडहरीयाका २१ वर्षीय ब्रम्हदेव साह, र इटहरी उपमहानगरपालिका वडा नम्बर १२ का २० वर्षीय सोनु साहलाई गिरफ्तार गरिएको जानकारी दिए।

यसरी भयो हत्या


३ गते शनिबार राती दुलालले विराटनगर १० स्थित आफ्नै घरमा औषधी ब्यवसायी हरिमोहन श्रेष्ठ र धनबहादुर काफ्लेलाई बोलाएर खानपिन गरेका थिए। राती करिब ९ बजे खानपिन सकिएपछि दुवैजना घर फर्किए। सोही क्रममा पत्नी मीना श्रेष्ठ दुलालले हत्याको योजना बुनेको प्रहरीको भनाइ छ।

खानपिन सकेर साथीहरु घर गइसकेपछि पत्नीले नै अन्य दुईजना निकटस्थ साहलाई फोन गरेर बोलाएको खुलेको छ। जसमा विगत ४ वर्ष दुलालकै देवी माँ पाथिभरा फर्मासिटिकल्समा कार्य गरिसकेका ब्रम्हदेव योजनाका लागि उपर्युक्त र भरपर्दा पात्रको रुपमा रहेका थिए।

राती प्लाष्टिकको डोरीसहित दुलालको घर पुगेका ब्रम्हदेवलाई पति सुतिनसकेको जनाउदैं मीनाले केहीसमय घरको माथिल्लो तल्लामा बस्न भनेको प्रहरी अनुसन्धानबाट खुलेको छ। दुलाल सुते लगत्तै ब्रम्हदेवले दुलालको घाँटीमा प्लालिष्टकको डोरी कसेको र सोनुले खुट्टा अठ्याएका थिए।

दुईतर्फबाट आक्रमण हुदाँ आत्मरक्षाका क्रममा दुलालले फुत्किने प्रयास गरे। यसक्रमा उनको निधारमा चोट लाग्न पुग्यो। उनको घाँटीमा लगाइएको सुनको सिक्री समेत चुडिन पुग्यो। यो क्रम राती करिब साढे एघारबजेसम्म चलेको प्रहरीको भनाई छ। यसबीच दुलालको मृत्युलाई पक्का गर्न दुवैजनाले लात्ती तथा मुक्का प्रहार गरेका थिए। जसका कारण शरीरका विभिन्न भागमा चोट र निलडाम रहेको थियो।

यसैगरी तीनै जना राती २ बजेसम्म संगै कोठामा रहेका थिए। त्यसपछि दुईजना न्यूरो अस्पताल नजिक एक औषधी पसल अघि सडकमा राखेको मोटरसाईकल लिएर भागेका थिए। अर्कोतर्फ दुलालको स्वास्थ्यमा समस्या भएको जनाउदैं पत्नि श्रेष्ठ दुलालले राती खानपिनमा बोलाएका औषधि ब्यवसायी साथीलाई फोन गरेकी थिइन्।

दुलाललाई घरबाट अस्पताल चौकस्थित गोल्डेन अस्पताल पुराउने क्रममा उनको मृत्यु भएको बताइएको छ। तथापी, चिकित्सकहरुले दुलालको मृत्युलाई स्वभाविक मान्‍न नसकिने जनाएपछि घटनाका बारेमा अनुसन्धान अघि बढाइएको प्रहरी उपरीक्षक अधिकारीको भनाइ छ।

प्रहरीको अनुसन्धान
घटनाको खबरपाए लगत्तै अस्पताल पुगेको प्रहरीले दुलालको शरीरमा देखिएको चोटपटकपछि सुक्ष्म अनुसन्धान अघि बढाएको थियो। प्रहरीले श्रीमति मीनाबाट सुरु गरेको अनुसन्धानले एकपछि अर्को गर्दै राती भएका घटना खोतल्न सफल भएको हो। हत्याकाण्डमा मुछिएका अन्य दुइजनालाई प्रहरीले उनीहरुको घरबाट पक्राउ गरेको थियो।

हत्याका क्रममा प्रहरीले ८ जोर सर्जिकल ग्लोब्स, ४ थान मोबाइल, ८ वटा सिमकार्ड समेत बरामद गरेको छ। प्रहरीका अनुसार राती हत्याका क्रममा मृतक दुलालको घाँटीमा डोरी कस्दा डोब लुकाउन पाउडर प्रयोग गरिएको थियो। हत्यामा संलग्न ब्रम्हदेव मृतक दुलालकै औषधी पसलमा काम गरिसकेका कर्मचारी थिए।

तथापि, ४ वर्ष लामो काम गरेका ब्रम्हदेवसंग पत्नी मीनाले आन्तरिक कुरा राख्ने गरेकी थिइन्। यसैक्रममा शनिबार रातीनै ब्रम्हदेवलाई फोन गरेर घर बोलाउदैं गर्दा ब्रम्हदेवले सोनुलाई समेत लिएर गएका थिए।

१० वर्षअघि प्रेम बिवाह गरेका दुलालको एक ८ वर्षीय छोरा समेत रहेकाछन्। आफु खुशी विवाह गरेपनि पछिल्लोसमय पतिपत्निबीच सम्बन्धलाई लिएर चिसोपना रहेको प्रहरी अनुसन्धानले खुलेको छ।

प्रहरी प्रमुख अधिकारीका अनुसार दुवैबीचको चिसो बन्दैगएको सम्बन्धको विषयमा समेत अनुसन्धान भइरहेको छ। हाल पक्राउ परेका तीनैजना विरुद्ध प्रहरी ज्यान मुद्धा अघि बढाएको छ।

जेष्ठ ५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू