सरकारले जारी गर्‍याे लिम्पियाधुरासमेत समेटिएको नेपालको नक्सा

काठमाडौँ– सरकारले भारतले अतिक्रमण गरी विवादित बनाएको लिम्पियाधुरा, कुटी, गुन्जी, नाभि, लिपुलेकसहितका क्षेत्र समेटेर नयाँ नक्सा जारी गरेको छ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले भुमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले तयार पारेको नक्सालाई अनुमोदन गरेको हो।

सुगौली सन्धि अनुसार महाकालीपूर्व रहेका लिम्पियाधुरासहितको भुभाग नेपालको भएपनि लामो समयदेखि नेपालको नक्साबाट छुटेको थियो।

पर्यटनमन्त्री योगेश भट्टराईले सोमबार साँझ यसबारे जानकारी गराएका हुन्।

भारत सरकारले कालापानीसमेत अतिक्रमण गरेर आफ्नो सेना राख्ने, लिपुलेक हुँदै मानसरोवर जाने बाटो एकतर्फी रुपमा खोल्ने जस्ता कार्य गरेपछि नेपाल सरकारले असहमति जनाउँदै आएको छ।

गत मंसिरमा भारतले नेपालको लिम्पियाधुरासमेत समेटेर आफ्नो राजनीतिक नक्सा जारी गरेपछि दुई देशबीचको सीमा विवाद सतहममा आएको थियो।

सरकारले शुक्रबार जारी गरेको नीति तथा कार्यक्रममा नेपालको भुभाग समेटेर नयाँ नक्सा जारी गर्ने र अतिक्रमति नेपाली भूमिबाट भारतको उपस्थिति हटाउने घोषणा गरेको थियो।

जेठ ५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्