चिनियाँ राष्ट्रपति सी र भारतका प्रधानमन्त्री मोदीलाई विप्लव माओवादीको छुट्टाछुट्टै चिठ्ठी

नेत्रबिक्रम चन्द 'विप्लव'

काठमाडौँ- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले लिपुलेक विवादमा भारत र चीनलाई बेग्लाबेग्लै चिठी पठाएको छ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी जिन पिङलाई सम्बोधन गरी लेखिएको छुट्टाछुट्टै चिठी नेपालस्थित दुवै देशका राजदूतावासमार्फत बुझाइएको हो।

विप्लव माओवादीले इमेलमार्फत दुवै दूतावासलाई चिठी पठाएको जनाएको छ। नेपाली भूमि लिपुलेकमा भारतले सडक बनाइरहेको समाचार सार्वजनिक भएपछि विप्लव माओवादीले चीनसमेतको सीमा जोडिएको विषयमा दुवै देशका कार्यकारी प्रमुखलाई पत्र पठाएको छ।

विप्लव समूहले चिनियाँ राष्ट्रपति सीलाई सम्बोधन गरेको पत्रमा छिमेकी राष्ट्रको सार्वभौमिक अस्तित्वप्रति आफ्नो जिम्मेवारी सम्झन आग्रह गरिएको छ।

काली नदीको मुहान् लिम्पियाधुरा त्रिदेशीय सिमा बिन्दु हो भन्ने जान्दाजान्दै चीनले सन् २०१५ मा भारतसँग लिपुलेकलाई दुई देशको सिमा मानेर धार्चुला-मानसरोबर सडक निर्माण सम्झौता गरेको विषयमा विप्लव माओवादीले आपत्ति जनाएको छ।

विप्लव माओवादीले घुमाउरो पारामा भारतले नेपाली भूमिमा गरिरहेको साम्राज्यवादी अतिक्रमणबारे बोल्न चीनलाई आग्रह गरेको छ। यसैगरी मोदीलाई लेखिएको पत्रमा भारतलाई नेपाली भूमिबाट हट्न आग्रह गरिएको छ।

भारतले सुगौली सन्धीलाई समेत बिर्सिएर लिपियाधुरा, कालापानीलगायत नेपाली भूमिलाई आफ्नो भनिरहेको भन्दै नेपालको कब्जा गरिएका सम्पुर्ण भुभाग फिर्ता गर्न विप्लव माओवादीले माग गरेको छ।

जेष्ठ ५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू