साना उद्योग व्यवसायीले सोझै उद्योग विभागबाट पास पाउने

काठमाडौँ– ठूला व्यवसायिक छाता संगठनमा आबद्ध नरहेका उद्योगी व्यवसायीहरुले सिधै उद्योग विभागबाट पास लिन पाउने भएका छन्।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले अब पासका लागि ठूला व्यवसायी छाता संगठनको सिफारिस नभई कर बुझाएको प्रमाण देखाएमा उद्योग विभागले पास दिने जानकारी दिए।

केही समय अगाडि मन्त्रालयले व्यवसायिक छाता संगठनको सिफारिस लिएपछि मात्र पास दिने निर्णय गरेको थियो। तर स्वतन्त्र र साना उद्योगी व्यवसायीहरुले उक्त निर्णयको विरोधपछि मन्त्रालयले सिधै उद्योग विभागबाट पास दिने व्यवस्था गरेको महासंघका अध्यक्ष नरेश कटुवालले बताए। उनले भने, ‘उद्योग मन्त्रालयले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श र नेपाल उद्योग परिसंघको सिफारिस ल्याएपछि मात्र पास दिने निर्णय गरेको थियो। हाम्रो चर्को विरोधपछि हाम्रो माग पूरा भयो।’

उनले ठूला उद्योगीहरुको संगठनबाट सिफारिस लिनुपर्ने भएपछि नेपाल राष्ट्रिय व्यवसायी महासंघले त्यसको विरोध गरेको बताए। ‘सरकारले हामी साना तथा स्वतन्त्र व्यवसायीहरुलाई असमान व्यवहार गरेकाले हामीले विरोध गरेका थियौँ’ उनले भने। उनले राज्यले सबै उद्योगलाई समान किसिमले व्यवहार गर्नु पर्ने बताए।

उनले मन्त्रालयको यस्तो निर्णयले स्वतन्त्र र साना उद्योगी व्यवसायी मारमा परेको गुनासो गरे। ‘अहिले हाम्रो माग सम्बोधन भएको छ’ उनले भने ‘जसका कारणले हामी कुनै संस्थासँग आबद्ध नभएपनि उृद्योग विभागबाट पास पाउने भएका छौ।’ सोमबार बसेको मन्त्रालय बैंठकले यस्तो निर्णय गरेको हो।

सरकारले केहि दिन अघि ४२ प्रकारका उद्योगहरु सञ्चालनमा ल्याउने निर्णय गरेको थियो । उक्त निर्याय अनुसार ४२ उद्योगहरुले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श र नेपाल उद्योग परिसंघको सिफारिसमा मात्रै पास पाउने व्यवस्था गरेको थियो।

जेष्ठ ५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू