काफल पाक्यो

लकडाउनले बिकेन काफल, बोटमै सुक्न थाल्यो

दाङ – अहिले पहाडका वनमा काफल पाकेको छ । मानिसहरु काफल टिप्न जंगलमा जान सकेका छैनन् । लकडाउनले गर्दा काफल किन्ने मानिसहरु पुग्न नसक्दा बोटमै काफल सुक्न थालेको छ ।

स्वर्गद्वारी नगरपालिका वडा नं. २ प्युठानका मिनप्रसाद पौडेलको खर्‍यानमा काफलको वन छ । उनी बस्ने वडामा काफल टिप्ने गरिएका तीन हजार जती बोट मात्रै छ ।

एउटा घरले सिजनमा ५०–६० हजार रुपैयाँ काफल बेचेरै आम्दानी गर्ने गरेको थियो । तर, अहिले काफल बोटमै सुक्न थालेको छ । जसले गर्दा स्थानीयहरुको आम्दानी घटेको छ । यो गाउँमा करिब तीन हजार काफलको बोट रहेको पौडेलले जानकारी दिए ।

वार्षिक एउटा घरको बढीमा ५०–६० हजार आम्दानी हुन्थ्यो । तर, लकडाउनले गर्दा बिक्रि वितरण गर्न सकिएको छैन । ‘लकडाउनले गर्दा बिक्रि वितरण गर्न सकेनौँ। गाडीको सुविधा मिलेन । काफल बेच्न पाएको भए एक घरले ५०–६० हजार कमाउँथे’, उनले भने ।

उनी भन्छन्, ‘लकडाउनले गर्दा टाढाबाट मान्छेहरु पनि आउन पाएनन् । हामीले बेच्न पनि पाएनौँ । यो काफल सुकेर सबै सिद्धिने भयो । काफल बेच्ने वातावरण भएन।’

चेतना पौडेलका अनुसार अहिले मानिसहरु काफल खोज्दै पहाड उक्लिएका छैनन् । लकडाउन नभएको भए काफल खोज्दै वन चहार्ने मानिसहरुको संख्या धेरै नै हुन्थ्यो । मानिसहरु आउन नसकेपछि रुखमै काफल सुक्न थालेको छ । काफल बिक्रि नहुँदा आम्दानी पनि घटेको उनले बताइन् । ‘शून्य छ । मानिसहरु आउँदैनन्’उनले भनिन्–‘आफन्तहरुलाई बाँडौँ भने सबै टाढा टाढा छन् । पुर्‍याउन पनि गाह्रो छ ।’


काफल पहाडी भूभागमा पाइने एक लोकप्रिय जंगली फल हो । यो फल गर्मी याममा पहाडका वन पाखाहरूमा पाकेको हुन्छ । यस वर्ष पनि पहाडी क्षेत्रमा काफल पाकेको छ । यसको फलको आकार लाम्चो र गोलो हुन्छ । यसको स्वाद अमिलो मिठो हुन्छ ।

यसको फलको रंग काँचोमा हरियो हुन्छ । पाकि सकेपछि रातो र धेरै पाकेपछि बैजनी रंगको हुन्छ । काफललाई धेरै मानिसले रुचाउँछन् । काफल बिक्रिका लागि मानिसहरु डोको बोकेर शहर बजार धाउने चलन थियो । तर, अहिले लकडाउनले गर्दा काफल बेच्ने मानिस शहर पस्न पाएनन् ।

जेष्ठ ६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्