सामाजिक सञ्जालमा सार्वजनिक नयाँ नक्साबारे मन्त्री गुरुङको आपत्ति, भन्छन्- ‘चित्रलाई नक्सा नभनौँ’

काठमाडौँ– मन्त्रिपरिषदले भारतद्वारा अतिक्रमित लिम्पियाधुरासहित नेपाली भूभाग समेटेर पास गरेको भन्दै सामाजिक सञ्जालमा सार्वजनिक भएको ‘नेपालको नक्सा’प्रति गण्डकी प्रदेशका एक मन्त्रीले आपत्ति जनाएका छन्।

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले सामाजिक सञ्जालमा नेपालको नयाँ नक्सा भनेर सार्वजनिक भइरहेको नक्सालाई नक्सा नभई चित्रको संज्ञा दिएका छन्।

उनले सरकारले आधिकारिक रुपमा नक्सा सार्वजनिक नगरेका कारण जथाभावी चित्रलाई नक्सा भनेर प्रचारबाजी नगर्न पनि आग्रह गरेका छन्।

‘यो नक्सा हो कि चित्र हो ? नक्सा र चित्र छुट्टयाउन नसक्नेहरूलाई के भन्ने ? आफ्नै देशको नक्सा र चित्र नचिन्नेहरूले कसरी हो राजनीति गर्ने?’ गुरुङले सामाजिक सञ्जालमा उक्त नक्साबारे टिप्पणी गर्दै लेखेका छन्, ‘सरकारले लिम्पियाधुरासहितको गुमेको भूभाग समेटेर नयाँ नक्सा पास गरेको छ तर आधिकारिक रूपमा नक्सा सार्वजनिक गरेसकेको छैन ।’

उनले भनेका छन्, ‘ सरकारले लिम्पियाधुरा समेतको नक्सा पास गरेको हो । फेसबुकमा शेयर भइरहेको चित्र पास गरेको होइन । नक्सा र चित्र एउटै कुरा होइन । यसमा ठूलो अन्तर र भिन्नता हुन्छ । नक्सा भनेको स्केलमा हुन्छ, जहाँ भूभागको निश्चित लम्बाई, चौडाई, उचाई तथा क्षेत्रफल निकाल्न सकिन्छ । तर चित्रमा स्केल हुँदैन र निश्चित भूभाग निकाल्न सकिँदैन । चित्र चित्रकारले बनाउँछ, जहाँ स्केलको महत्त्व हुँदैन, सीप र कलाको मात्र महत्त्व हुन्छ ।’

उनले कुनै एक चित्रलाई नक्सा भन्दै र अझ, सरकारले पास गरेको भन्दै शेयर गर्नु गलत भएको बताएका छन् । उक्त, चित्रमा प्रदेशको सिमानाहरू पनि गलत ढंगले कोरिएका उनको दाबी छ ।

‘सरकारको आधिकारिक नक्सा सार्वजनिक नहुँदै गलत नक्सालाई सरकारले पास गरेको नक्सा भनि सार्वजनिक गर्नु ठूलो अपराध गर्नु हो’, मन्त्री गुरुङले भनेका छन् ।

यता भूमि व्यवस्था मन्त्रालयले भने सोमबारको मन्त्रिपरिषद बैठकले नयाँ नक्सा पास गरेको र केही दिनमै उक्त नक्सा सार्वजनिक हुने बताएको छ । ‘कसले कुन नक्सा कहाँ सार्वजनिक गरेको छ भन्दा पनि सरकारले नेपालको नयाँ आधिकारिक नक्सा छिट्टै सार्वजनिक गर्छ’, मन्त्री अर्यालको सचिवालय श्रोतले भन्यो ।

 

जेठ ६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्