सरकारबाट कोरोनाको क्षति रोक्ने चमत्कारको आशा छैन

औषत हामी नेपालीको आदत नै भैसक्यो सबै कुरालाई हामी नकारात्मक नै देख्छौँ । गलत व्याख्या गर्ने, राम्रा पक्ष भन्दा नराम्रा पक्ष धेरै देख्ने, टिका टिप्प्णीमा धेरै जानकार आफूलाई नै मान्छाैँ । त्यसमा पनि महिनाैँदेखि लकडाउन छ, परिस्थिति फरक छ ।

सबै दैनिकी व्यवसाय दाउमा राखेर घरभित्रै सीमित छाैँ । त्यसैले पनि नकारात्मक साेच बढाएकाे हाेला । अछुतो कहाँ छु र म पनि ‘नेगेटिभिटी’को मामलामा । म पनि यहीँको पानी पिउँछु, यहीँको हावा अनि यहीँको माटोमा खटिएकाे छु । यहीँकाे धर्तीमा पसिना खर्चिन्छु पापी पेट र आफ्ना आवश्यकताका लागि ।

तर विडम्बना आज महिनौँदेखि घरभित्र गुप्तबास छु । निरिह र काँतर भएर बाँचेकाे छु । आफ्ना नित्य कार्यहरु सबै ठाउँमा राखेर निरीह भएर बाँचेको अवस्थामा श्रीमती जीको चाहना घर धन्दा चुलोमा केही मद्दत मिलोस् । छोरीको चाहना सँगै आफू जस्तै बनिदेओस्, खेलिदेओस्, चलिदेओस् ।

आफूमा भने के लहड चल्यो एक्लै कतै कुनामा घोत्लिएर मनमा तुफान, हावाहरुझैँ हुडरिएका कुण्ठा कागजको पानाको सहारामा शब्दमा उतारौँ । मेरो मनले मेरो इच्छालाई महत्व ठाने । त्यो पनि एउटा उदाहरण हो म भित्रको नेगेटिभिटी जान्दा जान्दै म अडिग रहे मन परिवर्तन भएन र आफ्नो कामलाई नै निरन्तरता दिए जसोतसो समय व्यवस्थापन गरे श्रीमती जी र छोरीसँग यति लेखिसक्दासम्म ।

गहन अध्ययन तथ्य र गुणन हिसाब खातापाता त छैन म सँग, तर पनि अघिल्ला वर्षमा यतिखेर

‘विकासको लहर पुर्‍याउनु छ,

शहरमा अनि गाउँमा ,

गाउँ गाउँमा गाउँमा ‍‍।।।

गीतकार राजेन्द्र रिजालको यो पंक्तिमा भनेझैँ अघिल्ला वर्षहरुमा भने यो महिना समय भनेको मध्य वषौँदेखि रोकिएका थन्किएका विकासका नाममा करौडौँ रकम सरकारी बजेट फ्रिज हुने डरले रातारात हिसाब किताब मिलान गर्ने, रातारातमै पुल पुलेसा, नहर बाटाेघाटो सम्पन्न भएको भन्दै जनताको आँखामा छारो हाल्ने समय हो गाउँ गाउँमा, शहरका गल्ली गल्लीमा ।

तराईका उर्वर फाँट, गाउँ पहाडका बारी, डाँडाकाँडा, खेतका गरा कान्लामा विकास निमार्णको बहानामा डोजरको दोहन गर्ने, स्थानीय कार्यकर्ता र नेताले राज गर्ने समय हुन्थ्यो । जसको सत्य तथ्य पत्ता लगाई आम जनमानसमा सही समाचार सम्प्रेशण राष्ट्रिय दैनिकका गृहपृष्ठमा फोटोसहितका मुख्य समाचार प्रकाशित हुने समय अहिले कोरोनाले पाएको छ ।

चोक चोक गल्ली गल्लीमा चिया पसलमा तर्क वितर्क, टिका टिप्पणी हुन्थ्यो फलानोले यति पैसा खायो, कमायो, यो कस्तो पिच ढलान, यो कस्तो, के कस्तो आदि इत्यादी सबैको जनजिब्रोमा उठ्ने विषय हुन्थ्यो तर अहिले कोरोनाको छ सबैको चासो ।

सोच्छु ति सबै तह हाकिम तप्काका सरोकारवाला विकासप्रेमी खेलाडीहरु कोरोनालाई तथानामले गाली गलोच गर्दै सपनामा जपनामा सराप्दै मन मनमै जोड घटाउ नै देख्दा हुन् ।

सरकार हामी नेपालीको अभिभावक हो, तीन करोड नेपालीको प्रतिनिधि हो, उसका हरेक व्यवहार शैली निर्णय देश र जनताको हितका लागि हुनुपर्छ, जसरी एउटा घरमा घरमुली (बाबु)को दायीत्व र जिम्मेबारी हुन्छ त्यस्तै सरकार (हामी) नेपालीप्रति उत्तरदायी हुनु पर्ने, तर विडम्बना सरकार एउटै शैली, आफ्नै मिचाहा र हेपाहा प्रवृत्ति जबरजस्ती लाद्ने गर्छ ।

जस्तो आज कोरोनाको महामारी लकडाउनको ५७ औँ दिनमा पार गरिसक्यो । दुई महिना बित्न लाग्यो कोरोनाको संक्रमणको संख्या दिनप्रतिदिन बढ्दो छ । संक्रमितको संख्या चार सय पुग्न लाग्दा दुईजनाको मृत्यु भइसकेको छ । जटिल र भवावह परिस्थिति छ । तर सरकार सुरुवातीका दिनमा चलाएको नारा अभियान मोटो रकम खर्चेर विभिन्न माध्यमबाट सचेतना सम्बन्धी सूचनाको विगुल फुकिरहेको छ । सतही एउटै नारा, एउटै माध्यम, एउटै स्वर

१) कोरोना भाइरसबाट जोगिन समय समयमा साबुन पानीले मिचि मिचि हात धोऔँ ।
२) भिडभाड नगरौँ
३) मास्कको उचित प्रयोग गरौँ ।

के यही मात्र हो त अबको विकल्प ? सरकारले गर्ने प्रयास यही मात्र हो ? यो नारा सूचना सबै वर्ग, क्षेत्र पेशामा यथेष्ठ छ ? यसको उचित पालना र निम्न श्रोत साधन पर्याप्त मात्रामा उपलब्ध छन् त ? यो त सामान्य कुरा न भयो । सरकारले सही तरिकाले यी सामान्य आवश्यक सामग्रीको प्रयोग विधि र साधन उचित तरिकाले पुर्‍याउन सक्दैन भने ठूलो चमत्कार आशा गर्ने आधार खै?

निम्न, मध्यम र अशिक्षित भूगोलका मान्छेहरु गोरुको मुखमा कोक्रो झुण्ड्याएझैँ महिनौँदेखि एउटै मास्क सुरक्षाका दृष्टिले भन्दा पनि (फर्मालिटी) देखासिकीका लागि प्रयोग गरिरहेका छन् । कति दुर्गम क्षेत्रमा त मास्क र साबुनको पहुँच नभएका धेरै नेपाली छन् भन्ने हेक्का सम्म छैन सरकारलाई । सरकार प्रकोपको बेलामा अध्यादेश ल्याउँछ, फेरि दुई दिनमै चर्काे विरोधपछि फिर्ता गर्छ ।

नेपालमा अहिले कोरोनाका कराण दुईजनाको मृत्यु भइसकेको छ । मृतकको संख्या बढ्न सक्ने चेतावनी विज्ञहरुले दिइरहेका छन् । तर सरकारले आफ्ना नागरिकको जीवन बचाउनु त कता हो कता मृत्यु भइसकेपछि शव व्यवस्थापनका लागि समेत तयारी गरेको छैन । त्यसैले कोरोना रोकथामका लागि सरकारले चमत्कार गने आशा कसरी गर्नु ?

लकडाउनको पूर्ण पालना गरौँ भनेर पैसा खर्चेर विज्ञापन ल्याउँछ, बजाउँछ । रातारात पहुँचबालालाई सरकारी सुविधाका गाडी र अति आवश्यक मानिने सवारी साधन एम्बुलेन्समा हजारौँ मान्छेलाई जिल्ला जिल्लाबाट काठमाडौँ भित्र्याउँछ । उस्तै पर्दा कोटेश्वरमा गाडी/बस रिजर्भ गरी कार्यकर्ताहरु भिडभाड गरेर लकडाउनको उल्लंघन गरी जिल्ला जिल्लामा पठाउँछ ।

यति मात्र नभएर माननीय ज्यू पूर्व आइजीपी सापसँग मिलेर रातारात सांसद ‘अपहरण’ जस्तो तल्लो तहको घृणित चक्करमा लाग्नुहुन्छ, तर आम नागरिक सरह जीवन यापन गर्ने पूर्वराजालाई झापाबाट काठमाडौँ आउन लाग्दा ठूलो नाटक गर्छ, शक्तिको आडमा बखेडा झिक्छन् हाम्रा गृह प्रशासन ।

कोरोनाले मृत्यु संख्या बढाउन सक्ने विज्ञहरुको आँकलन छ, तर बिग्रेकोसहित देशमा जम्मा जम्मी ४ सय भेण्टिलेटर मात्र छ, सरकारले सिकिस्त कोरोनाका बिरामीलाई चार सय भन्दा एकजनालाई पनि थप भेण्टिलेटर सुविधा दिन सक्ने अवस्था छैन, खै त्यसकाे तयारी?

भूमिमन्त्री पद्मा अर्याल ज्यू एक थरी बोल्नुहुन्छ, लिम्पियाधुरा, लिपुलेक क्षेत्र नेपालको भूमिको बारेमा पार्टीभित्रैबाट उहाँको बोलीको विरोध हुन्छ, गृहमन्त्री ज्यू आफ्ना सुरक्षा सल्लाहकार प्रहरी बलका एआइजी र १० जना सुरक्षाकर्मीको भरमा बन्दोबस्तीका सामान रासन पानीसहित पुगेको छ भनि गर्वका साथ भन्नुहुन्छ, नगरपालिकाका साइकल ठेला र सडकलाई कर्मथलो बनाई गरिखाने गरिबगुरुवालाई दपेट्ने लखेट्ने उस्तै परे पिट्ने गरेर पुरुषार्थ देखाउँछ तर सडकमा महिनौँदेखि दर्दनाक दृष्य, अंग भंग मृत, क्षतविक्षत भएको पशु चौपायाको सिनो भने कहिल्यै देख्दैन।

यस्ता धेरै उदाहरण छन् । सरकारी कार्य गर्ने तौर तरिका र शैली हामीलाई दैनिक जीवनमा भोगेका र सुनेका समस्या तर सही र यथार्त कुरा बाहिर ल्यायो भने सरकार उल्टै जाइ लाग्छ र भाषणमा प्रधानमन्त्री ज्यू भन्नुहुन्छ यति धेरै काम गरेको छ यो सरकारले सधैँ (नेगेटिभिटी) मात्रै देख्ने ? सायद हाम्रो (नेगेटिभिटी) कै प्रभावले होला सरकार । छोरी कुटेर बुहारी तर्साउने सरकारको शैली व्यवहारले गर्दा आम नेपालीमा सरकारको कार्यप्रति (नेगेटिभिटी) बढेको हुन सक्छ ।

 

जेष्ठ ६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्