कुरा सत्ते पार्‍याे हत्ते

हामीले जति बयान गरे पनि हाम्रो अति सहयोगी मति भएको दक्षिणी मित्रले गएको १२ वर्ष अगाडि देखि हाम्रो पश्चिमी सिमानाको केही भागमा राजमार्ग बनाइदिने र आफूलाई हामीले सोचेभन्दा पनि बढी सहयोगी जनाइदिने प्रयास गरिरहेको रहेछ ।

आफ्नाे असल छिमेकीले वर्षाैँको मेहनत लगाएर र उच्चस्तरको मित्रभाव जगाएर राजमार्ग खनेको कुरा यतिका वर्षसम्म भइसकेका र हाल भइरहेका कुनैपनि सरकारका प्रधानहरुलाई कसैले पनि जानकारी गराएका रहेनछन् ।

यो विषयमा वर्तमान सरकारका प्रधानले खुद आफै भनेपछि मात्रै उहाँलाई यसबारेमा अहिलेसम्म कुनै पत्तो नभएको थाहा भयो । उहिले उहिले तान्त्रिक शक्ति भएका व्यक्तिहरुका खेतवारीमा तान्त्रिक शक्तिको प्रभावले भुत प्रेत राक्षसहरुले राति राति आएर खन्ने जोत्ने मल बिउ हाल्ने छर्ने गोडमेल गर्ने बाली काट्ने झार्ने चुट्ने सुकाउने बोक्ने भित्र्याउने जस्ता सबै कामहरु गरिदिन्थे र आफूले केही नगरी उनीहरुले नै सबै भकारी भरिदिन्थे भनेर बुढापाकाहरुले भनेको सुनिन्थ्यो ।

यस्ता तिलस्मी कथाहरु दन्त्यकथामा पनि सुन्न पाइन्थ्यो र यस्ता कुरा सुनेर चारचित खाइन्थ्यो । अहिले ठ्याक्कै त्यस्तै कथा र किम्बदन्तीहरुसँग मेल खाने गरि छिमेकीले राजमार्ग खनेर देखाएको सुन्दा कथाहरुमा सत्यता हुने रहेछ भन्ने कुरामा सबैलाइ विश्वास लाग्न थालेको र आफ्नो जमिनमा आफूले नसकेपनि छिमेकीले विकासको कदम चालेको बारेमा ढिलै भएपनि थाहा पाउँदा सरकार प्रधानलाइ खुशी लाग्नु कुनै नौलो कुरा भएन ।

यत्रो वर्षसम्म राजमार्ग खन्नको लागि कति मान्छेहरुको ओहोर दोहोर भयो होला, कति भीर पहरा खनिए होलान्, कति बिष्फोटक पदार्थहरु पड्काइए होलान्, कति हेभि इक्यूपमेन्टहरु ( डोजर/एक्साभेटरहरु ) प्रयोग भए होलान्, कति हेलिकप्टरहरु प्रयोग भए होलान् र अरु कति चहल पहल भए होलान् ।

त्यति गर्दा र १२ वर्षसम्म लागि पर्दा पनि हाम्रा सरकार प्रधानले केही थाहा नपाएको अनि उहाँको जानकारीमा नआएको देखेर छिमेकीले त्यत्रो माल दिँदा पनि चाल नपाउनु हाम्रा सरकार प्रधानको महानता नै हो । सरकार प्रधानले थाहा नपाएपछि राजधानीबाट ज्यादै टाढा भएपनि त्यहाँ भएका वडा कार्यालय, गाउँ पञ्चायत, गाउँ विकास समिति, गाउँपालिका, इलाका प्रशासन कार्यालय, सुरक्षा निकायका चेक पोष्टहरु, समय समयमा हुने गस्ति र अन्य क्रियाकलापहरु, सरकारी स्तरबाट गोप्य नियुक्ति भएका सुराकीहरु, सिमाना देखि जिल्ला, अञ्चल, क्षेत्र, प्रदेश हुँदै केन्द्रीय तहसम्मका प्रशासनिक र सुरक्षा अंगहरु, जासुसी र अनुसन्धानको लागि सिमाना देखि केन्द्रीय तहसम्म क्रियाशिल अनुसन्धान संयन्त्र, वडा देखि केन्द्रीय तहसम्म त्यो इलाकाको प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरु आदि कसैले पनि थाहा पाउने कुरै आएन त्यही भएर यत्रो अवधिसम्म कसैले पनि अत्तोपत्तो पाएन ।

उहाँले थाहै नपाएपछि उहाँभन्दा मुनिका कसैले पनि थाहा नपाएको र उहाँलाई कतैबाट पनि जानकारी नआएको सबैले बुझिदिन पर्छ । उहाँले मलाइ अहिलेसम्म यसबारेमा धरोधर्म जानकारी छैन भनेपछि कुरा मानिदिन पर्छ । देश र जनताको नाममा शपथ ग्रहण गरेको अनि देश र जनताकै लागि भनेर त्यत्रो वर्ष जेल परेको मान्छेलाई अहिलेसम्म थाहा नभएर मात्रै छिमेकीको राजमार्ग निर्माणको समस्या टरेको हो । उहाँले बेलैमा थाहा पाएको भए एउटा खतरा उखान सुनाएर उहाँले ठहरै पार्ने चाहीँ उहाँको रहरै रह्यो ।

त्यसो त महाकाली अञ्चलका पनि अति दुर्गममा पर्ने कालापानी, लिपुलेक, लिम्पियाधुरा आदि जस्ता नाम भएका ठाउँहरुको बारेमा सुगौली सन्धिपछि सरकार प्रधान हुने सौभाग्य पाएका र त्यो पदको सुख सुविधा सहुलियत आदि भरपुर खाएका कसैले पनि थाहै नपाएका हुनाले उहाँलाई मात्रै दोष दिएर रोष प्रकट गर्ने मुर्खहरुलाइ असल जनता भन्न र नागरिकमा गन्न मिल्दैन ।

सुगौली सन्धि भएको निकै वर्षसम्म यसलाई सरकारका प्रधानहरुले हेरेको र उनीहरुलाई छिमेकीले टेरेको देखिन्न । हेरेकै भएपनि अंग्रेजीमा लेखिएको हुनाले त्यसबेलाका सरकार प्रधानहरुले आफैले पढ्ने बुझ्ने कुरै आएन । दरबार भित्रको खिचातानी र नाफाहानीले आफ्नै खान्की र ज्यान जोगाउने अनि आफ्ना सन्तानहरुलाइ सुख भोगाउने काममै व्यस्त रहँदा त्यति टाढाको सम्झना पनि कसैको मनमा पलाएको कल्पना पनि गर्न सकिन्न ।

जंगबहादुरको उदय पछि शासनमा उतैको छत्रछाँया नभइ नटिकिने परिस्थिति भएकोले उताकालाइ खुशी राख्न सके यताका सरकार प्रधान कसैबाट पनि नझिकिने र उताकालाइ रिझाउँन नसके यहाँ कसै गरेपनि नटिकिने पक्कापक्की भएपछि लिम्पियाधुरातिर ध्यान पुग्ने सम्भावना नै भएन ।

जंगबहादुर पछिका श्री तीनहरुले उनकै नीति अनुसार एकसय चार वर्षसम्म उताकालाइ रिझाउँने र यताकालाइ बिझाउँने गरेर बिताए । यस अवधिमा आफ्नै पगरी र धन सम्पत्तिको सुरक्षा बाहेक अन्यत्र ध्यान नभएका राणाहरुले मुलुकको सिमाना त्यो प्नि त्यति दुर्गम र अनकन्टार क्षेत्रतिर कहिल्यै सोचे होलान् भन्ने कल्पना गर्न सकिने विषय नै होइन ।

त्यसमाथि आफ्नै माइबापहरुको निगाहमा प्रश्न गर्ने हिम्मत जुटाउने र त्यसबापत आफ्नाे खान्की लुटाउने मुर्खता कसले गर्ला र ? त्यही भएर उनीहरुलाई त्यस बारे केही थाहा नहुनु स्वाभाविक हो । सातसालको क्रान्तिपछि गद्दिमा फर्केका र सरकारमा पुगेकाहरु त्यो स्थानमा पुगेका पनि उतैका अन्नदाताहरुको निगाहले नै हो ।

सबै उनीहरुकै नीति निर्देशन अहन खटनबाट चल्ने शर्तमा सहयोग पाएका र त्यसैको आडमा विभिन्न पद खाएका नव शासकहरुले आफ्नै व्यवस्था मिलाउने अनि उनीहरुकै नाम भजाएर आफन्तहरुलाई राम्रो राम्रो पद दिलाउने कुराहरुमा ध्यान दिन छोडेर आफ्ना संरक्षकहरुको विरोधमा जान मिल्दै मिलेन ।

त्यसमाथि धेरैजसो त वनारसमा जन्मेर उतै पढेका उतै बढेका र क्रान्ति सफल हुने अवस्थामा पुगेपछि मात्रै विस्तार यताको उकालो चढेका महानुभावहरु थिए । कोही यता जन्मेका भएपनि केही कुरो बुझ्ने उमेरभन्दा अघि नै वनारस पुगेकाहरु भएकाले यताको बारेमा उताकाले जे जे पढाएर पठाए त्यतिमात्रै बुझेकाहरुले आफ्नै मालिकहरु विरुद्ध केही गर्न सक्ने सवालै पैदा हुने भएन ।

लिपुलेक कालापानी भन्दा आफ्नो दानापानीमा ध्यान पुर्‍याउनु त्यतिबेलाको बाध्यता पनि हो भन्न सकिन्छ । त्यसपछिको अस्थिरतामा कसैको पनि त्यता ध्यान जान नसक्नुमा कसैको विराम देख्न मिल्ने ठाउँ छैन । आपसी खिचातानी र दलगत स्वार्थभन्दा माथि उठ्न नसकेर कुर्सीमा टिक्न र राम्रो भाउमा बिक्न रातोदिन संघर्ष गर्न पर्दा वल्लो गाउँबाट पल्लो गाउँको बारेमा सोच्दा पनि आफैमा डल्लो पर्न सक्ने अवस्थामा उति टाढाको स्थान कसैको प्राथमिकतामा परेन अनि त्यसबेला कसैले पनि केही गरेन भन्न मिल्दैन ।

क्रान्तिमा आफैलाई बोक्ने र सबैको औकात अनुसारको मूल्य तोक्ने दक्षिणी मालिकहरुको विरुद्धमा चुइक्क गर्न सक्ने क्षमता नभएकाहरु बाट देशको सिमानाको खोजी भएन भन्न पनि मिल्दैन । पञ्चायती व्यवस्था लागु गर्दा र त्यसलाइ टिकाउन अघि सर्दा छिमेकी र अन्तरर्राष्ट्र्यि शक्तिहरुको यथोचित भक्ति नगरी सम्भव हुने कुरै भएन । त्यसको लागि केही लेनादेना भएन होला भन्न मिलेन ।

आफू टिक्ने, व्यवस्था टिकाउने र देशको हावापानी र माटो सुहाउँदो निर्दलीय व्यस्थाको नारा सबैतिर बिकाउने सिलसिलामा दक्षिणको छिमेकीले अनकन्टार र अहिलेसम्म कुनैपनि शासकहरुले नदेखेको, चासो नदिएको र महत्व भएजस्तो नसम्झेको दुर्गमको बेवारिसे जमिनमा के गर्यो कसो गर्यो भनेर कसैले मतलब राखेन होला । अहिले जस्तो सञ्चारको सुविधा र विरोधमा आवाज उठाउन पाउने स्वतन्त्रताको वातावरण नभएकोले पनि त्यसबेला  राष्टियताकाे भावना नदेखिएको पनि हुन सक्छ ।

दक्षिणको विरोधमा जानाजान विरोध गरेर आपसमा हानाहान गर्नुभन्दा व्यवस्था टिकाउनको लागि दुर्गमको काम नलाग्ने जमिनको विषयमा आशिर्वाद दिइरहेको छिमेकीसँग तानातान नगर्नुलाइ नै बुद्धिमानी मानियो जस्तो देखिन्छ । पञ्चायतमा देश भित्र कुरा ठूला गरेपनि छिमेकीसँग चाहीँ खुट्टा लुला भएकैले त्यसबेलाका सरकार प्रधानहरुले त्यो क्षेत्रमा छिमेकीको क्रियाकलापहरु बारे केही पनि थाहा पाएनन् । छिमेकीद्वारा श्रीखण्ड मानिएको इलाकालाई यताका सरकार प्रधानहरुले खुर्पाको बिँडसम्म पनि जानिएको भए केही काम गरेको देखिन्थ्यो पनि होला ।

तर कतैबाट जानकारी नै नआएपछि सरकार प्रधानलाइ थाहा हुने कुरो पनि आएन र जानकारी नभएपछि अरु केही गर्ने मौका नै पाएन । त्यो बेला पनि त्यस्तै भयो । हाम्रा उत्तरी नाकाहरुमा भएका छिमेकीका चेकपोष्टहरु कुटनैतिक क्षमता देखाएर हटाएको र छिमेकी फिर्ता लगेर आफ्नै सीमा भित्र खटाएको भनेर ढ्वाङ्ग ठटाएको भएपनि छिमेकीले राख्न आवश्यक नदेखेको हो कि खास कुरो कतै नलेखेको हो कसैलाई थाहा नभएपनि हाम्रै पश्चिमी सीमा क्षेत्रमा सानो टोली राख्न सुरु गरेर क्रमिक रुपमा संख्या बढाउँदै नक्सामा आफ्नाे क्षेत्रफल चढाउँदै आएको चाहीँ त्यो बेलाका सरकार प्रधानहरुलाई पनि कसैले जानकारी नगराएरै उनीहरुले थाहा नपाएका रहेछन् ।

पञ्चायत ढलेर प्रजातन्त्रको पुनर्स्थापना भएपनि छिमेकीसँग गलेर सहयोग पाएपछि मात्रै उनीहरुको निर्देशन अनुसारको चाल चलेर काम गर्दा भाग्य फलेर सत्तामा पुगेका नव शासकहरुले सिंहदरबार र बालुवाटार भन्दा अन्त आँखा पुर्‍याउन नसकेको अवस्थामा त्यति टाढा दुर्गममा कसले के गरिरहेको छ र आफ्नो सीमा भित्र कसले बिना रोकतोक चरिरहेको छ भनेर थाहा पाउने कुरै आएन ।

उतैको छिमेकीको आशिर्वादले सत्तामा पुग्न सकिने र सत्तामा पुग्नको लागि भित्र भित्र त्वम् शरणम गरेर लम्पसार परेपनि जनताका अगाडि चाहीँ ठूला ठूला कुरा बकिने भएकोले राजनैतिक रुपमा आफ्नै जन्मदाता, जसलाई चाह्यो उसैलाइ सत्तामा पुर्‍याइदिने हुनाले अन्नदाता र उसकै इशारा र निर्देशन अनुसार कर्म गर्न बाध्य हुनपर्ने हुनाले कर्मदाता समेत रहेका छिमेकीको इच्छा विपरित सिन्कोसम्म पनि सार्न नसक्ने अवस्थाका वरिष्ठहरुले माखो मार्न नसकेपनि उसैको आड भरोसाले आर्थिक रुपमा सात पुस्ता तार्न सक्ने हैसियत बनाएको हुनाले त्यस्ता पिछडिएका ठाउँहरुको बारेमा चिन्ता गरेर किन आफ्नाे सत्तालाई चितातिर लैजाने भन्ने सोचाइलाई कसैले पनि गलत ठहर्‍याउन मिल्दैन ।

पञ्चायतको विरोध गर्दागर्दै माटो मुनि पुग्न लागिसकेको हैसियतलाई उसैले उठाइदियो, भोको परेर सेप्रिएको भुँडी टन्न भरिने गरि खुवाएर उसैले चुठाइदियो, सत्तामा पुग्नको लागि आइपर्ने सबै बाधाहरु उसैले फुटाइदियो र चुनावमा चाहिने नगद देखि सबै सहयोग उसैले जुटाइदियो भनेपछि उसका कुनै पनि कदमका विरुद्ध चुइँक्क बोल्ने हैसियत बाँकी रहने कुरै आएन ।

उतैको छत्रछाँया र दयामायामा हुर्केर अनि सत्तामा पुगेपछि निकै ठूलो बलवान नेता भएजस्तो गरि फुर्केर काम गर्न खोजेपनि उताकाले औँला ठड्याउनासाथ लल्याक लुलुक पर्ने र कसैले केही थाहा पाएन जस्तो गर्ने सरकारका प्रधानहरुले पनि छिमेकीले हाम्रो भूभाग भित्र स्थापना गरेर क्रमशः थप्दै लगेको सुरक्षा पोष्टहरु देख्ने कुरै भएन ।

त्यसपछि त सरकार ढाल्ने, आफू र आफ्नाे दललाई सरकारमा पुर्‍याउन उतैको आशिर्वादको लागि अनेक खाले कदम चाल्ने, आफूले खान नपाए अर्कोलाइ पनि फाल्ने, बेला बेलामा औषधी उपचार वा अन्य बहानामा उता पुगेर उताका सानादेखि ठूलासम्मका नेता र कर्मचारीहरुलाई भेटेसम्म बिन्तिपत्र हाल्ने अनि उताको आशिर्वाद पाइयो भने यताका आफूजस्तै आकांक्षीहरुलाई पद र पैसा बाँडेर मुख टाल्ने गर्दै कुर्सी फुत्काउने र त्यसलाई सकभर बढी समयसम्म जोगाउने भन्दा अरु कुनैपनि विषयमा ध्यान दिनसक्ने अवस्था नभएकोले उति टाढाको गतिविधि देख्नसक्ने अवस्था आउने कुरै आएन ।

सरकारमा पुग्न पनि उतैको दयामाया चाहिने, त्यसमा टिक्न पनि उतैको दयामाया चाहिने र त्यसबाट फुस्के पनि राजनैतिक बजारमा बिक्नको लागि उतैको दयामाया चाहिने अवस्थाको सिर्जना यतैका मुख्य मुख्य नेताहरुले गरेका र गर्दै आएका अनि त्यसैलाई परम्परा जस्तै मानेर आफ्नो गक्ष अनुसार चर्दै आएका हुनाले सबै दलका सबै ठूला भनिएका नेताहरु यसैको लागि तछाड मछाड गरेर अघि सर्दै आएका हुन् ।

यस्तो अवस्थामा उसले सिमानामा गरेका थिचोमिचोहरुमा आँखा पुर्‍याएर आफ्नाे वर्षौँदेखिको राजनीतिमा बाधा पुर्‍याउनु भन्दा आधा बुझिने आधा नबुझिने किसिमका कुरा गरेर दुनो सोझ्याउनुलाई नै बुद्धिमानी मानिन्छ । जसले छिमेकीको यस्ता गतिविधिहरुलाई नदेखेर थाहा नपाएर र जानकारी भएन भनेर सन्तुलित राख्न सक्यो उसले त्यसबेलादेखि अहिलेसम्म बेला मौकामा सत्ताको सुखभोग गर्दै आएको सबैले दखेकै छन् ।

यस्तै अवस्था रहिरहेमा आफूमा सँधै भूमिगत अवस्थामै जीवन गुजार्न बाध्य हुने ठानेर र उतैको शरण परेमा केही उपलब्धी हासिल गर्न सकिने जानेर एकथरीले उतैको समर्थन, सहयोग र आशिर्वादमा सुरुमा जनयुद्ध भनेर सुरु गरेपनि पछि धनयुद्धमा परिणत भएको जनविरोधी कामको थालनी गरे ।

उक्साहट उतैको, आडभरोसा उतैको, नैतिक भौतिक र आर्थिक सहयोग उतैको, हतियार र बिष्टोटक पदार्थहरुको सहयोग उतैको, नेतृत्व वर्गको लागि सेल्टर र सुरक्षा उतैको भएपछि उनीहरुले पनि छिमेकीलाइ देवत्वकरण गरेर उसकै शरणमा आफूलाइ प्रस्तुत गर्नुलाईअन्यथा सोच्न हुँदैन । त्यस्तो कठिन अवस्थामा आफूलाई आश्रय दिएर देशभित्रका आफन्तलाइ एकअर्का विरुद्ध लडाएर १७ हजार जनताको बली चढाएर, लाखौँ जनतालाई घरबार बिहिन आन्तरिक शरणार्थी बनाएर, लाखौँलाई टुहुरा विधवा र शहीद बनाएर आफू र आफ्नाे सिँगो परिवार छिमेकीकै सहयोगमा सुरक्षित रहेर जनयुद्ध नामक नाटकको अन्त्य गरेर फेरि उसैको आशिर्वाद राजनीतिको मुलधारमा आएर र त्यसमा अरुले भन्दा बढी कसैले नसोचेको फाइदा पाएर छिमेकीकै आशिर्वादकाे प्रतापले खुँखार आत‌ककारीबाट रातारात औकात भन्दा उच्च हैसियतको राजनीतिज्ञमा परिणत भएको महान दलका महान नेताले उनको लागि यत्रो हित गर्ने छिमेकीको थिचोमिचो र अर्घेलो देख्ने कुरै आएन ।

यसमा परिस्थितिवश अपुतालीमा फेला पारेको राजगद्दीको आडमा नेताहरुलाइ हेला गरेर आफै सर्बेसर्बा बन्ने र आफू जतिको सक्षम कोही छैन भन्ने राजाको पनि निकै ठूलो भूमिका देखियो । उनले त झन आफ्ना भजन मण्डली बाहेक केही र कसैलाई पनि देखेनन् भने उति टाढाको आफ्नो जमिन देखेनन् भनेर भन्नु नै बेकार छ । उहिले बाबा गोरखनाथको भविष्यवाणी मिलेको हो कि यिनलाई आफ्नै बुद्धिले निलेको हो हेर्दाहेर्दै यि त पूर्वराजा हुन पुगे । त्यसपछि यिनको सान्दर्भिकता र भूमिका समाप्त भयो ।

१२ बुँदेदेखि तेश्रो जनआन्दोलनको लागि विशिष्ट भूमिका निर्वाह गरेको र यताका सबै दल र मुख्य मुख्य नेताहरुको अन्नदाता, आश्रयदाता, आशिर्वाददाता, भूमिकादाता, शक्तिदाता, सत्तादाता, आर्थिक सहयोगदाता आदि सर्वदाताकाे नाताले गर्दा यहाँका कुनैपनि मैँ हुँ भन्ने राजनैतिक पितामाताले छिमेकीको कुनैपनि हेलो अर्घेलो र थिचोमिचोलाई देख्नसक्ने अनि त्यसको विरुद्धमा चुइँक्क बोल्न र लेख्नसक्ने नैतिक शाहसलाई दिल्ली दरबारमा बुझाएर मात्रै यहाँ रजगज गर्न सकेकोमा जनताले पनि यिनिहरुबाट यस्को अपेक्षा नगरेका हुनाले विषम परिस्थिति आइलाग्दा र छिमेकीका विरुद्ध जनता जुलुस निकालेर जाइलाग्दा बाध्यताबश कहिलेकाहीँ मनले नमान्दा नमान्दै पनि छिमेकीविरुद्ध केही बोल्नै पर्ने अवस्था आउँदा बोल्ने र बेलुका लैनचौर गएर वास्तविकता खोल्ने गरेको कुरा जनतालाई पनि राम्ररी थाहा छ ।

कहिलेकाहीँ त लैनचौरमा स्पष्टिकरण दिन जाँदा अति क्रान्तिकारी देखि लिएर सबैखाले नेताहरुको लैनचौरमै जम्काभेट भएर तैँ चुप मैँ चुप हुँदै सर्पको खुट्टा सर्पले मात्रै देख्छ भनेर हँसिमजाक पनि हून्छ रे । एकजना स्वघोषित महान नेताले त केही वर्ष अगाडि दिनदिनैजसो लैनचौर आउँदा, आशिर्वाद र निर्देशनको लागि सँधैजसो बेलुका बेलुका लुसुक्क धाउँदा र एकदिन पत्रकारहरुको एम्बुसमा आफूलाई पाउँदा आफै अचम्ममा परेको अभिव्यक्ति दिएर काम चलाउँदै आफ्नो क्रान्तिकारी छवि सबैका सामु प्रष्ट्याएका थिए ।

एक जमानामा तिनैले छिमेकी विरुद्ध सुरुङ यूद्धको हल्ला फिँजाएर पनि नगद कमाना गरेका थिए क्यारे । अहिले त्यो योजना कुन अवस्थामा छ होला ? त्यसताका मानिसहरुले यिनलाइ ठूलो गफाडी भन्न समेत भ्याएका थिए । अहिले बुझ्दा त सबैको हालत उही रहेछ । इष्टदेवताको प्रतिमूर्तिलाइ लैनचौरमै दर्शन गरेर आफूलाइ महान ठान्ने र सबैथोक जान्नेलाई दिल्ली त चारधाम मात्रै नभएर सबै धामहरु मिसिएको महान तिर्थ नै भइहाल्यो । अनि कसरी देखिन्छ कालापानीमा एक दशक भन्दा अगाडि देखि खन्न र उद्घाटन गर्ने अवस्थासम्म बन्न सकेको राजमार्गबारे केही थाहा भएन भन्न पर्ने बाध्यतालाइ सबैले बुझिदिन पर्छ ।

तेश्रो जनआन्दोलन सफल पारेर गणतन्त्र ल्याउन र गणतन्त्रको नाममा सबैतिर आफ्ना मान्छे राख्ने र उनीहरु मार्फत सबैतिरको मोटो कमिसनको मजा चाख्ने अवसर पनि उतैको कृपाबाटै प्राप्त भएको हुँदा उताको थिचोमिचोमा चुँ समेत गर्न कसैको बुताले भ्याउने सम्भावना नै भएन ।

गणतन्त्र दिलाएको र उतैकाले सबैथोकको चाँजो मिलाएको हुनाले यताकाहरु त उही सोझासिधा जनताको घोडा चढेर त्यो हैसियतमा पुगेका आफूलाई त्यहाँसम्म पुर्‍याउन भोट दिने जनता भन्दा आशिर्वाद र आर्थिक सहयोग गर्ने पारीपट्टिका दाताहरुप्रति भारी बफादार भएपछि यता ठूलो मान्छे हुन पाइने हुनाले वास्तिवक मालिकको पाउ छुन केही अप्ठ्यारो मान्न पर्दैन । उसैपनि जसले दिन्छ उसैलाइ देवता मान्न पर्छ भन्ने कुरा सबैले जान्न पर्छ भने यति ठूला नेताहरुले जानेका छैनन् भनेर कसैले सोच्छ भने त्यो महामुर्ख नै हो ।

गणतन्त्र घोषणा देखि भूकम्पसम्मको उथलपुथल अवस्थामा यस्तै खिचातानी हुँदाहुँदै आफ्नो बुद्धि र क्षमता भन्दा पनि पश्चिमा शक्ति प्रति भक्ति देखाउन पर्ने बाध्यताले हतार हतार पश्चिमाहरुको चाहना अनुसारको संविधान घोषणा गरेर तत्काल लागु गर्दा महिनौँ बेहोर्न परेको नाकाबन्दीलाई कसैले पनि नाकाबन्दी हो भनेर मुख खोल्न नसकेको अवस्थामा एउटा नेताले मात्रै नाकाबन्दी भन्दै विरोध गरेकोमा जनताले त्यसैको दललाई झण्डै दुईतिहाई मतसहित विजयी गराएर सरकारमा पुर्‍याए ।

आफ्ना पुराना कर्तुतको सरापले गर्दा आफ्नो राजनैतिक भविष्य धरापमा पर्ने देखेर दुई ठुला वामपन्थी दलहरुको एकीकरणलाई पनि केही हदसम्म यसको कारक मान्न सकिन्छ । तेल र पानीको मिश्रण जस्तो पुरै स्वार्थको मात्रै एकीकरण भएकोले यसमा प्रशस्त झेल रहेको दिनदिनै देख्न पाइएको छ ।

यसरी अहिलेसम्मका सरकार प्रधानहरुले नदेखेको कालापानी लिपुलेक र लिम्पियाधुराको समस्या साविक अनुसार वर्तमान सरकारका प्रधानले पनि देख्ने कुरै आएन । उनले पनि आफ्नो राजनीति गर्नु छ, उतैको आशिर्वादले आफ्नाे र आफन्तहरुको ढुकुटी भर्नु छ,आफूलाई भोट दिएर त्यहाँ पुर्‍याउने जनतालाई सपनाको खेती छर्नु छ र आफ्नै दलमा आयातित र रैथाने प्रतिस्पर्धीहरुबाट कुर्सी जोगाएर जँघार तर्नु छ ।

त्यो काम यहाँको उखान टुक्का र सपनाको खेतीको प्रचार प्रसारले मात्रै सम्भव नहुने हुनाले उताका देवी देवताहरुको पूजा आराधना बेगर पूरा हुँदैन भन्ने कुरा सबैले बुझिसकेका हुनाले यसमा लाज मानिराख्न आवश्यक छैन । सरकार प्रधानमा नियुक्त हुनासाथ सबैभन्दा पहिले उतैको भ्रमण गरी ओहदाको प्रमाण पत्र पेश गरेर बफादारीको बेश प्रतिवद्धता जाहेर गरिसकेपछि उताको अर्घेल्याइँको जस्तोसुकै केश परेपनि उतैको दृष्टिकोणबाट फेश गरेर उताको स्वार्थमा कुनै प्रकारको ठेस पुग्न नदिने प्रण गरेर फर्केपछि यताको राजनैतिक रेशमा अर्कोले उछिन्न नसक्ने विश्वासकासाथ कुर्सीमा डटेपछि कसैले चलाउन हल्लाउन र सानोतिनो प्रयासले ढलाउन नसक्ने एकिन हुने रहेछ ।

एउटा सानो बफादारी देखाए बापत यता जे सुकै गरेपनि कुनै आपत आइ नलाग्ने ग्यारेन्टी पाइन्छ भने देश जनता सिमाना आदिको अनावश्यक लफडामा लागेर किन टाउको दुखाउने भनेको ठिकै हो ।

अहिले सरकारमा नभएका र कहिले दक्षिणी छिमेकीको विरोधमा चुँ सम्म गर्ने हुति नभएका अन्य दलहरुलाइ पनि भविष्यमा उतैको आशिर्वादले सरकारमा जाउँला र मिठो मसिनो खाउँला भन्ने आशा भएकोले विगत १२ वर्ष अघिदेखि खनेको राजमार्ग देख्ने कुरै आएन ।

आफूलाई मधेशवादी भन्न रुचाउने दलहरुका नेताहरु त उतैको आड भरोसा, इशारा, निर्देशन र उक्साहटमा बुर्लुक बुर्लुक उफ्रेर छिमेकीको आँगनमा उभिएर आफ्नै घरमा ढुँगा हान्न अनि उताकाले जस्तो संगीतको धुन दिन्छन् त्यसैको तालमा नाचेर रोटी र दालको व्यवस्था गरिरहेका र उतैको जुठोपुरोमा चरिरहेका हुनाले उहाँहरुले सुदुर पश्चिमको अनकन्टार पहाडको कुनामा खनेको राजमार्गको बारेमा कहिल्यै एक शब्द खर्च गर्ने कष्ट गरेको सुनिन्न । हुन पनि हो जे गरेको देखेपनि चाल नपाए जस्तो गरेर बसिदिएपछि उतैको हितमा काम गरे बापत बसि बसि थालमा आउने माल कतै जाँदैन भनेपछि तित्राको मुख बैरी भनेजस्तो गरेर साबिकमा खाइपाइ आएको खान्की गुमाउने त कुरै आउँदैन ।

कोहीकाेहीले सरकार बाहिर रहँदा देखिने सबैजसो विषयहरु सरकार प्रधान भएपछि नदेखिँदो रहेछ भनेको सहि नै हो जस्तो देखिन्छ । सामान्य बहुमत पुर्‍याएर सरकारमा गएका वा मिलीजुली सरकारमा सरकार प्रधान भएका र जुनसुकै बेला पनि फु गर्दा ढल्ने अनि जो देखेर पनि गल्ने सरकारका प्रधानहरुले कहिल्यै नदेखेको र त्यहाँ छिमेकीले के गरिरहेको छ भन्ने थाहा नपाएको परम्परालाइ निरन्तरता दिँदै दुई तिहाइ सहितको बहुमतको सरकार प्रधानले पनि थाहा पाउने कुरै आएन ।

उनले त सरकार प्रधान भएदेखि बालुवाटारको दुईतिन वटा कोठा, बैठक कक्ष, त्यहाँ बनाइएको उपचार कक्ष, विदेशका केही महँगा अस्पताल, डाइलासिस गर्ने अस्पताल, जेसुकै नाता पर्ने भएपनि मिर्गौला दिने दाता, मिर्गौला फेर्ने अस्पताल, त्यसमा संलग्न चिकित्सकहरु,आफू सरहका अर्का अध्यक्षको षडयन्त्र, यती होल्डिङलाई फाइदा दिलाउने तरिकाहरु,ओम्नि टेकको व्यापार र नाफा विस्तार,आफ्ना भित्रिया मन्त्रीहरु मार्फत आउने कमिशन, संसद अपहरण गरेर पार्टी फुटाउने तरिका, देश र जनताको अवस्था जति गएगुज्रेपनि आफ्नो कुर्सी जोगाउने तरिका आदि आदिको बारेमा चाहीँ राम्रोसित जानकारी राख्ने गरेको पाइयो ।

कालापानी, लिम्पीयाधुरा, लिपुलेक भन्ने ठाउँले सरकार प्रधानलाई कस्तो हत्ते पारेको होला । यताको भावनालाई खुला समर्थन गरौँ उताकाले तत्कालै बदला लेलान् र कुर्सीबाट खँगारी देलान भन्ने डर । पहिले पहिलेकाले जस्तो कुनै प्रतिक्रिया नजनाइ केही थाहा नपाए जस्तो र कतैबाट केही जानकारी नआए जस्तो गरेर मौन समर्थन जनाइ पचाउँ भने भविष्यमा आउने चुनावमा कुर्सी र पार्टीलाई कसरी बचाउँ भन्ने दोधारमा पारेको छ । कुरा सत्ते पार्‍याे हत्ते भनेको यहि होला ।

 

जेष्ठ ६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्