टेकू अस्पतालको भद्रगोलमा एक दिन

आइतबार बिहान (जेठ ४ गते) साढे ८ बज्दै थियो । बिहानैदेखि चर्केको घामले गर्मी औधी भइसकेको थियो । मानिसहरु भन्दै थिए–यो वर्ष बल्ल गर्मी सुरु भयो, आज त बिहानैदेखि सारै भयो।

मानिसहरुको भिडमा स्पष्ट देखिएकी थिइन् आफूसँगै अर्को ज्यानलाई हुकाई रहेकी गर्भवती महिला। प्रसुतिको समय आएको जस्तो अनुमान लगाउन सकिन्थ्यो उनको पेट हेर्दा ।

एक हातले पेटमा आड दिएकी उनले अर्को हात श्रीमानको काँधमा राखेर टेकू अस्पतालको गेटबाट छिरिन् । टेकूस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको मुख्य गेटबाट भित्र पस्ने बित्तिकै बाँया तर्फ विबामी बस्नका लागि बनाइएको बेन्चमा श्रीमानको आड लागेर थ्याच्च बसिन्। श्रीमानको काँधमा टाउको ढल्काइन्।

उनी भन्दा अगाडि अस्पताल पुगेका बिरामीहरु आफ्नो पालो कुर्दै बेन्चमा बसिरहेका थिए। बेन्च अगाडिको खाली ठाउँमा अस्पतालका कर्मचारीहरु टेबुल–कुर्सी भित्रबाट बाहिर निकाल्दै मिलाइरहेका थिए।

अस्पतालभरि मानिसहरु थिए । कोही लाइन बसेका, कोही शीतल खोज्दै बसेका, कोही यताउती हिँडिरहेका । अस्पतालको खाली ठाउँ अस्तव्यस्त मानिसहरुको भिडले भरिएको थियो ।

हर्न बजाउँदै एम्बुलेन्स गेटबाट पस्न खोज्यो । गाडले असरल्ल मानिसहरुलाई साइड लाग्न भने । एकअर्काको धक्का लाग्दै मानिसहरु छेउछाउ लागे, एम्बुलेन्स आकश्मिक कक्ष अगाडि रोकियो । बिरामी शतर्कता पूर्वक झारियो । भिडमा गाईँगुईँ चल्यो–कोरोना भाइरस संक्रमितलाई ल्याएको होला है ।

करिब ९ बजेतिर अस्पतालका दुईजना कर्मचारी सानो भाडो बोकेर आए।

बेन्चमा बसेका सबैलाई उठाए। मानिस बसेका बेन्च, खाली ठाउँ, बिरामी जाँच्नका लागि राखिएका टेबुल कुर्सी सबै ठाउँमा ‘डिस्इन्फेक्ट’ गर्दै अगाडि बढिरहेका उनी कराए, ‘तपाईँहरु उठ्नुस् भनेको सुन्न हुन्न। एकछिन उठेर पर जानुस्।’

कर्मचारी कराएपछि बेन्चमा बसिरहेकी गर्भवती पनि पेटमा हातको टेको लगाएर श्रीमानको आड लाग्दै उठिन्। उभिन गाह्रो भएकी उनी बेन्चमा पुनः बसिन्, स्प्रे सुकेकै थिएन।

मानिस बसेका बेन्च, खाली ठाउँ, बिरामी जाँच्नका लागि राखिएका टेबुल कुर्सी सबै ठाउँमा ‘डिस्इन्फेक्ट’ गर्दै अगाडि बढिरहेका उनी कराए, ‘तपाईँहरु उठ्नुस् भनेको सुन्न हुन्न। एकछिन उठेर पर जानुस्।’ कर्मचारी कराएपछि बेन्चमा बसिरहेकी गर्भवती पनि पेटमा हातको टेको लगाएर श्रीमानको आड लाग्दै उठिन्। उभिन गाह्रो भएकी उनी बेन्चमा पुनः बसिन्, स्प्रे सुकेकै थिएन।

शनिबार धुलिखेल अस्पतालमा सुत्केरीको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको थाहा पाएपछि डेलिभरीका लागि समय पुगेकी उनी पीसीआर परीक्षणका टेकु पुगेकी थिइन्।

अस्पतालले ‘स्प्रे’ गरेको केहीबेरमा स्वास्थ्यकर्मी दुईवटा टोकरीमा हरिया र राता स–साना कार्ड, ज्वरो नाप्नका लागि ‘थर्मल गन’ बोकेर आए। अनि भने, ‘लाइन लागेर यता आउनुस्।’

मानिसहरु ज्वरो नाप्न लाइनमा बसे।

टाउकोदेखि खुट्टासम्म निलो रंगको पीपीई लगाएका स्वास्थ्यकर्मीले एक–एक गरेर ज्वरो नापे। नापिएको तापक्रम रातो कार्डमा लेख्दै सबैलाई काउन्टर तर्फ पठाए।

स्वास्थ्यकर्मीले लाइनमा उभिएका चारजनाको ज्वारो नापेपछि अर्को व्यक्तिको ज्वरो नाप्दै गर्दा उनले भने, ‘एकछिन यहिँ उभिरहनु है, थर्मल गन नै बिग्रियो।’

उनी भित्र पसे। अर्को नयाँ गन लिएर आए । अनि ज्वरो नापे। उनलाई रातो रंगको कार्डमा लेखिदिए, ‘३९.२ डिग्री सेल्सीयस ।’

हातमा रातो र हरियो कार्ड हातमा समातेका मानिसहरुले काउन्टर आगाडि अर्को लाइन सुरु गरे। लाइन लागेका उनीहरु टिकट लिनका लागि एक अर्कासँग ठेलठेल गरिरहेका थिए। बेस्सरी ठेलिएका मध्ये कसैले जोडले भने, ‘दूरी कायम गर्ने भनेको खोई? यसरी त संक्रमित नभए पनि झनै यतैबाट संक्रमित भइएला जस्तो छ।’

लाइनमा उभिएका उनले यति भनेपछि केही दूरी कायम गरेर अन्य व्यक्तिहरु उभिए।

टिकट लिएका व्यक्तिहरुले ‘इमरजेन्सी’ लेखिएको भवन तिर गएर पुनः लाइनमा बसे । त्यहाँ व्यक्तिगत विवरण अर्थत ‘ट्राभल हिस्ट्री’ संकलन गरिन्थ्यो । सबै कुराको विवरण संकलन गरेर स्वास्थ्कर्मीले पीसीआर परीक्षणका लागि अनुमति दिइरहेका थिए।

त्यही अनुमति लिनलाई सबै पालैपलो अगाडि बढिरहेका थिए।

अब पालो फेरि अर्को लाइनको। यो लाइन भने ‘इमरजेन्सी’ लेखिएको भवन आगाडि नै थियो। भवनको छेउमै आल्मोनियम र सिसाबाट बनाइएको सानो बट्टा जस्तो बनाइएको छ, त्यहाँ स्वास्थ्यकर्मीहरु बसिरहेका थिए।

उनीहरु पीसीआर परीक्षणका लागि अनुमति पाएका व्यक्तिहरुलाई नाम, ठेगाना र ट्राभल हिस्ट्री सोध्दै एउटा सेतो रंगको फारम भरेर दिइरहेका थिए। फारम प्रत्येक व्यक्तिको हातमा दिँदै गर्दा उनीहरुले भनिरहेका थिए, ‘रिपोर्टका लागि बाहिर टाँसेको नम्बरमा फोन गरेर सोध्नु होला।’

हातमा सेतो फारम समाएर पीसीआर परीक्षणका लागि पालो कुरेर बसेकाहरुले भनिएको थियो प्राङ्गढ । कोही भुईँमा बसरिहेका थिए। कोही ज्वरो नाप्ने लाइनमा, कोही टिकट काट्ने, कोही विवरण संकलन गरिने ठाउँमा, कोही फारम भर्ने ठाउँमा लाइनमा लागिरहेका थिए।

चरक्क घाम चर्किसकेको थियो। सबैले छाया खोजिरहेका थिए। स्वाब संकलन ११ बजेबाट सुरु हुने भनिएको थियो ।

अस्पताल आउनेहरुको संख्या झनझन बाक्लिँदै थियो। तर स्वाब संकलनको सुरसार थिएन । लामो समयको प्रतिक्षा पछि स्वाब संकलनसुरु भयो। नाम बोलाउँदै एक–एक गरेर स्वाब संकलनका लागि बोलाउन थालियो। लाइन भद्रगोल भइसकेको थियो।

स्वाब संकलन गर्न बट्टाको अगाडि उभिएकी एक स्वास्थ्यकर्मीले भनिन्, ‘अलि पर–पर बस्नुस्, हामी नाम बोलाउछौँ। यता नमुना संकलन गर्दा कसैले हाछ्यूँ गर्न सक्छन्।’ वरपर झुम्मिएका सबैले केही पाइला चाले। र आफू उभिरहेको ठाउँ भन्दा केही पछाडि हटे।

आ–आफ्नो पालो कुरिरहेका उनीहरु बिहानैदेखि लाइन बसेको र अरुले पालो मिचिएको भन्दै एक–अर्कासँग झगडा गर्न थाले।

अस्पतालको दृश्य कुनै अस्तव्यस्त मेलाको भन्दा कम भने थिएन।

अस्पतालका निर्देशक डा. सागरराज राजभण्डारी फुत्त भिडमा मिस्सिन पुगे। उनी लाइन बस्दा दूरी कायम गरेका छन्–छैनन् भनेर निरीक्षण गर्न भिडमा पुगेका थिए। भित्र पस्दै उनले भने,‘दुरी कायम गरेर लाइन लागौँ।’

यति भन्दै उनी भिडबाट बाहिरिन खोजे। तर सकेनन्। ‘खोई…खोई बाहिर निस्किन अलिकति बाटो छोडाँै।’ दूरी कायम गरौँ भन्न आएका निर्देशकलाई भिडबाट बाहिरिन हम्य–हम्य भयो।

कसैगरी भिडबाट निस्कँदै गरेका निर्देशक दूरी कायम गर्नु है भन्दै बिलिन भए।

चर्को घाममा उभिरहेका कोहीले आफ्नो टाउकोमाथि अस्पतालले थमाएको ‘रेकर्ड बुक’ को ओत लगाएका थिए । आफू भन्दा पछाडि आएको व्यक्ति स्वाब संकलनका लागि अगाडि पुग्ने बित्तिकै पालो कुरिरहेका उनीहरु कराउन थाल्थे, ‘यसरी पालो मिच्न पाईँदैन। हामी बिहानैदेखि बसिरहेका छौँ।’

यसै बेला पालो कुरेर बसिरहेका अर्का एक कराए, ‘म बिहान ४ बजे अस्पताल आएको अहिलेसम्म पनि पालो आएको छैन। म भन्दा पछाडि आएका फर्किसके, यस्तो पनि हुन्छ।’

कराइरहेको भिडलाई स्वास्वकर्मीले सानो बच्चा रुँदा थमथमाए झैँ गरे। उनीहरु केहीबेरमा चुप लागे।

तर यो प्रकृया दिनभर नै यसरी चलिरह्यो…।

 

जेष्ठ ६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू