सुनकोशी बगरमा ठेकेदारको जथाभावी उत्खनन्‌, जोखिममा धुस्कुन बस्ती

सिन्धुपाल्चोक- क्रसर व्‍यावसायीले जथाभावी रुपमा आफ्नो क्रसर उद्योग सञ्‍चालन गरी तीव्ररुपमा गिट्टी वालुवा र उत्खनन् गरेपछि सुनकोशी नदी छेउमा रहेको धुस्कुन बस्ती जोखिममा परेको छ।

लकडाउनको मौका छोपी उनीहरुले दिनप्रतिदिन चर्को आवाजमा क्रसर चलाएर ढुवानी सेवालाई प्राथमिकतामा राखेपछि यहाँको बस्ती नै जोखिममा परेको स्थानीय त्रिपुरासुन्दरी ३ धुस्कुनका लालबहादुर पहरी पीडा सुनाउँछन्। उनी भन्छन्, ‘दु:खीलाई सधैँ दु:ख भने झैं म ५९ वर्षको त्रासमाथि त्रास भएको छ। बगरमा खन्‍न आएको डोजरले अत्याएको छ। पारिको क्रसरको आवजले कान खाएको छ, धुलोले स्वास फेर्न नै गाह्रो भएको छ।

‘२०७१ साउन १७ गते जुरे पहिरो जाँदा बल्लतल्ल भाग्यले बांच्यौं तर यसपालि घरमुनिको बगरमा बस्तिनै जोखिममा पर्नेगरी ढुंगा र बालुवा निकालिदिंदा यो वर्षामा बाढीले पो बगाउँछ की पहिरोले पो लान्छ की भनेर रातभरी निद्रा लाग्दैन,दिनभर बेचैनी हुन्छ।’  उनी भन्छन्, ‘गाउँपालिकाले खोलाको बगर ठेक्का दिएपछि हाम्रो केही लाग्दो रहेनछ ,हाम्रो विरोधले केहि नहुंदो रैछ ,पालिकाले हाम्रो मर्म बुझेन स्थानिय अगुवा रामकाजी श्रेष्ठ भन्छन्, ‘हामीले हाम्रो बस्ती जोगाउन विरोध गर्दै आइरहेका छौं।’

राजनितीक कारणले पनि चलखेल हुँदा हाम्रो माग सुनुवाइ हुन नसकेको उनको गुनासो छ। उनी भन्छन्, ‘यदि बस्तिको सुरक्षाको ग्यारेन्टि हुन्छ भने सरकारको मापदण्ड अनुसार काम हुन्छ भने ,स्थानियको माग पुरा हुन्छ भने उद्योग खुल्नु नराम्रो होइन। तर हाम्रो ठाउँ त्यस्तो छैन जुरे पहिरोले थिलथिलो बनाएको हाम्रो बस्ति मात्रै होइन सिंगो धुस्कुन जोखिममा छ।’

उनले बगरमा ढुंगा बालुवा जथाभावी खन्दा सिंगो बस्ती नै भासिने त्रास पैदा भएको बताए। उनी धुस्कुनको पीडा सुनाउँदै भन्छन्, ‘ यसरी जथाभावी रुपमा ठेक्केदारले बनाएको क्रसर बन्द गर्न लगाइउनु पर्छ, क्रसकै कारण हाम्रो ध्वनि प्रदुषण भइ बस्ति नै कोलाहालपुर्ण भएको छ, फोनमा बोल्न समेत गाह्रो भएको छ, यसले मानसिक तनाव समेत बढेको छ।”

यस्तै स्थानीय तथा कार्यपालिका सदस्य राजु पहरीले जथाभावी बगर उत्खनन गर्नुभन्दा पनि स्थानियको सुरक्षालाई ध्यानमा राखेर उत्खनन गर्नुपर्ने बताउँछन्। उनी भन्छन्, ‘क्रसर उद्योग बन्द गर्नुपर्छ भन्‍ने छैन तर स्थानीयलाई असर गर्नुभएन। जुरेबाट दाबी बस्ती जोडने झोलुंगे पुल बन्दैछ, त्यो सुरक्षित होस्,विद्यालय, सामुदायिक भवन ,दावी बस्तिका साथै अरनिको वैकल्पिक रुपमा रहेको सेनाद्वारा निर्मित सडक सुरक्षित होस त्यस्तै क्रसरबाट निस्कने आवाज र धुलो नियन्त्रण होस् तर मुख्यकुरा जब बस्ती जोगिनु पर्‍यो।’

वैदेशिक रोजगारीको शिलशिलामा पदम पहरी कुवेतमा छन्। उनी भन्छन, ‘कोरोनाका कारण आफु अडकिएको छु। घरपरिवार गांउमा छन घरमुनि बगरमा जथाभावि बालुवा ,ढुंगा निकालेको कुरा घरबाट थाहा पाउंछु र सामाजिक सञ्जालबाट समेत क्रसरको दादागिरीको दृश्यले मन पोल्छ यसपालिको वर्षामा नै डरमर्नु हुन सक्छ कि भनेर पिरलागिरहन्छ कोरोनाले त बांचियला यदि क्रसरको लापरवाहिकै कारण पहिरो गयो भने गाउँमा बच्न मुस्किल छ।’

यस्तै स्थानीय लालिगुराँस आधारभुत विद्यालयका शिक्षक शिरोमणि पौडेल भन्छन्, “विद्यालय समयमा क्रसरको ठुलो आवाज निरन्तर आइरहंदा हामिले पढाएको समेत विद्यार्थीले बुझ्न सक्दैनन भन्छन सर केही बुझेनौ यसरी बाल मनोवैज्ञानिकमा समेत ठूलो असर परेको छ।

स्थानिय समाजसेवी माधव भण्डारी भन्छन्, ‘क्रसर उद्योगले स्थानियलाई असर गर्छ भने गाउँसमेत जोखिममा पर्छ भने स्थानिय सरकारले जिम्मेवारीपूर्वक रोक्न लगाउनु पर्दछ।” त्यस्तै त्‍यहाँका स्थानीय नेता बलदेव तिमल्सिना भन्छन्, ‘समग्र शुनकोसी , भोटेकोसी ,ईन्द्रावती कोरीडोरमा सुरक्षाको उपाय अपनाएर मात्रै क्रसर उद्योगहरु खोल्नुपर्दछ यस्ता करिडोरमा राज्यको स्पष्ट नीति नै छैन जसकने उदाहरणको रुपमा ईन्द्रावति नदिको पुल यही जथाभावि बालुवा निकाल्दा पुल समेत भास्सिने खतरामा छ।’

यता, त्रिपुरासुन्दरी गाउंपालिका वडा नं ३ धुस्कुनका वडाध्यक्ष शुकदेव रिसाल भन्छन् “बस्तिलाई असर गर्नेगरी क्रसर स्थापना हुंदा ध्वनि प्रदुषण,वायुप्रदुषणको प्रकोप छ ,विद्यालयमा पढाउंदा विद्यार्थीले टिचरले बोलेको नसुन्ने ,फोनमा कुरा गर्दा नसुन्ने गाउंलेहरुको गुनासो छ।उत्खनन गर्न ठेक्का दिंदा टेण्डर प्रक्रिया नै हुने कारण समेत यस्तो समस्या आएको हो। ठेक्का गर्दा सेटिङ मिलाएर पहुंचवालालाई दिंदा यस्तो भएको हो। ठेक्का सम्झौता अनुसार काम गरिने हुँदा आफले चाहेर पनि धुस्कुन पट्टीको बगरको भाग उत्खनन रोक्न सकिएको छैन।’

आफूले धुस्कुन जोगाउन आवाज उठाउँदा पालिका अध्यक्ष नै रिसाएको उनको भनाइ छ। उनी भन्छन्, ‘हामीले हाम्रो क्षेत्रमा उत्खनन रोक्न खोज्दा बाह्रविसेका मेयर सहित प्रशासन आएर बगरमा बसिदिंदा काम रोक्न सकेका छैनौं। भर्खरै वडाले स्थानीयले साबेल लगाएत स्थानिय औजारले बालुवा ,गिटी निकाल्न दिने र त्यसको कर वडाले लिने निर्णय गरेको छ। यसो हुँदा स्थानियले रोजगार समेत पाउनेछन।कुनै पनि टेण्डरको बाहानामा बगर बेचेर बस्ति जोखिम पार्न पाइदैन।’

तर क्रसर मालिक मध्यका एक विदुर पराजुलीले भने आफूहरु सरकारको नियम अनुसार टेण्डर लिएको दावी गरे। उनले भने, ‘सरकारको आई.ई.ई.प्रतिवेदनको मापदण्ड अनुसार कार्य गर्दै आईरहेका छौं ,यदि हामिले गलत गरेको भए त जिल्ला समन्वय समितिका अध्यक्ष ,सि.डि.ओ.सहितको अनुगमन समितिले कारवाही गथ्र्यो होला ,यदी स्थानियलाई बगरमा उत्खनन गर्दा समस्या पर्छ भने त स्थानिय निकायमा गयर भन्नुपर्छ टेण्डरनै खुलाउनु हुँदैन भनेर दवाव दिनुपर्छ। नत्र बन्द गरे हुन्छ।’

जेष्ठ ६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू