धनुषाका दुई जना कोरोना संक्रमित भारतबाट आएर पहिले घर पुगे, त्यसपछि मात्रै क्वारेन्टाइन

जनकपुरधाम– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार राति कोरोना भाइरसको संक्रमण पुष्टि गरेका धनुषाका दुबै संक्रमित भारतबाट आएको खुलेको छ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २१ का कोरोना संक्रमित २८ वर्षीय पुरुष वैशाख ३० गते र वडा नम्बर ६ का ४६ वर्षीय पुरुष वैशाख ३१ गते भारतबाट नेपाल आएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए।

भारतबाट भागेर नेपाल आएका दुवै जना आ–आफ्नो घरमा पुगेर त्यसपछि मात्रै क्वारेन्टाइनमा बसेको प्रजिअ निरौलाले बताए। उनका अनुसार भारतबाट लुकीछिपी धनुषा आएका उनीहरु आआफ्ना घर पुगेका थिए तर स्थानीयहरु र घर परिवारले समेत घरमा बस्न नदिएपछि जेठ १ गते उनीहरु धनुषाको गंगुलीस्थित क्वारेन्टाइनमा पुगेका थिए।

क्वारेन्टाइनमा पुगेका दुवै जनाको जेठ २ गते स्वाब संकलन गरिएको थियो। संक्रमितका सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको प्रजिअ निरौलाले बताए।

जेष्ठ ६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्