विदेशमा अलपत्र परेका नेपालीलाई ल्याउन कार्ययोजना बनाउँदै उच्चस्तरीय समिति

काठमाडौँ – कोरोना भाइरसको महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीलाई फिर्ता ल्याउन सरकारले गृहकार्य सुरु गरेको छ ।

कोरोना भाइरस नियन्त्रण तथा रोकथाम समन्वय उच्च स्तरीय समितिले विदेशमा अलपत्र परेका र स्वदेश फर्किन चाहने नेपालीलाई फिर्ता ल्याउने सम्बन्धमा मोडालिटी तयार गर्न छलफल सुरु गरेको हो ।

विदेशमा अलपत्र परेका नेपालीहरु र क्वारेन्टाइनको मापदण्डका विषयमा छलफल गरी कार्ययोजना तयार गर्न मंगलबार समितिको बैठक सिंहदरबारमा बसेको छ ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै कोरोना भाइरस नियन्त्रण तथा रोकथाम समन्वय उच्च स्तरीय समितिका सचिव समेत रहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद विडारीले भारत तथा तेस्रो मुलुकमा रहेका नेपालीहरुलाई ल्याउने कार्ययोजना तयार गर्ने विषयमा छलफल भएको बताए ।

समितिको बैठकमा सातवटै प्रदेशसँग समन्वय गर्ने संघीय मन्त्रीहरु लगायतको विचार आइसकेकाले व्यवस्थित तरिकाले कसरी ल्याउन सकिन्छ भन्ने विषयमा कार्ययोजना तयार गर्न लागिएको उनले बताए ।

उनले विदेशबाट विदेशबाट ल्याउने कामलाई व्यवस्थित गर्दै संक्रमण फौलिन नदिने गरी क्रमशः ल्याउने योजना तयारीको चरणमा रहेको समेत जानकारी दिए ।

समितिको बैठकमा प्रदेश र स्थानीय तहमा बनेका क्वारेन्टाइनलाई तेकिएको मापदण्ड अनुसार व्यवस्थित गर्ने विषयमा समेत छलफल भएको सचिव विडारीले बताए ।

क्वारेनटाइनमा रहनेहरुको सुरक्षाको व्यवस्था, तथ्याङ्क राख्ने लगायतका काम नेपाली सेनाको उपस्थितिमा स्वास्थ्यकर्मीको अगुवाईमा हुने गरी कार्ययोजना तयार गर्न लागिएको उनले बताए ।

यस्तै क्वारेन्टाइनमा बस्नेहरुको बन्दोबस्तिको व्यवस्था, खानपिनको व्यवस्थामा संघीय सरकारको आर्थिक सहयोग हुने र सम्बन्धित स्थानीय तहले जिम्मा लिने गरी व्यवस्थापन गर्ने किसिमको कार्ययोजना आउने छ ।

जेष्ठ ६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू