बैंक प्रवेश गर्दा व्यक्तिगत विवरण अनिवार्य भर्नु पर्ने

काठमाडौँ– बैंक तथा वित्तिय संस्थामा जाने ग्राहकहरुले कार्यालय प्रवेश गर्नु अघि व्यक्तिगत विवरण भर्नु पर्ने भएको छ। नेपाल राष्ट्र बैंकले मंगलबार मार्गदर्शन पत्र २०७७ जारी गर्दै ग्राहहरुले कार्यालय प्रवेश गर्नुअघि व्यक्तिगत विवरण भर्नुपर्ने व्यवस्था लागु गरेको हो।

उक्त  निर्देशिकामा अब बैंक तथा वित्तिय संस्थाका कार्यालयमा प्रवेश गर्दा सेवाग्राहीले आफ्नो हालको ठेगाना, नाम, सम्पर्क नम्बर लगायतको विवरण रजिष्टरमा अनिवार्य रुपमा इन्ट्री गराउनुपर्ने उल्लेख छ।

यस्तै बैंकका कर्मचारी, सेवाग्राही लगायतका अन्य सरोकारवालाहरुको स्वास्थ्य सुरक्षा तथा कोरोना संक्रमणको सम्भावनालाई न्यूनिकरण गर्नका लागि कार्यालय प्रवेश गर्दा अनिवार्य रुपमा इन्फ्रारेड थर्मोमिटरबाट शरीरको तापक्रम मापन गर्न लगाउने र सो कार्यका लागि सुरक्षा समूह (सर्भिलेन्स ग्रुप)का कर्मचारीहरुलाई खटाउनु पर्ने बैंकले जनाएको छ।

उक्त मार्गदर्शन अनुसार इन्फ्रारेड थर्मोमिटरबाट शरीरको तापक्रम जाँच गर्दा सेवाग्राही, कर्मचारी या अन्य सरोकारवालाहरुको १०० डिग्रीभन्दा कम रहेको अवस्थामा मात्र कार्यालयमा प्रवेश गराउने अन्यथा प्रवेशमा रोक लगाउनुपर्छ।

तर कर्मचारीको हकमा भने उक्त विन्दुभन्दा बढी तापक्रम भएको अवस्थामा सम्बन्धित विभाग, कार्यालय तथा प्रमुखलाई जानकारी दिने र होम क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाउनु पर्ने राष्ट्र बैंकले जनाएको छ।

कार्यालय प्रवेश गर्ने सेवाग्राही एवं अन्य सरोकारवालाहरुले अनिवार्य रुपमा मास्क लगाएको हुनुपर्ने तथा कार्यालयभित्र रहुन्जेलसम्म मास्क लगाइ राख्नु पर्ने र सोको अनुगमन सुरक्षा समूहका कर्मचारीहरुबाट हुने मार्गदर्शनमा उल्लेख छ।

यस्तै बैंकहरुले अब ग्राहकबाट प्राप्त नगदलाई शुरुमा शिलबन्दी बाक्सामा राख्ने र केहिदिनपछि किटाणुरहित गरेरमात्र गणना गरी बुझ्ने व्यवस्था मिलाउन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ।

राष्ट्र बैंकले प्रत्येक बैंकलाई कोभिड–सेफ्टी म्यानेजमेन्ट टिम गठन गर्न तथा सो टिमले बैंकको सुरक्षा र संचालन गर्न निर्देशन दिएको छ।

यस्तो बन्दाबन्दी अवस्थामा बैंक अत्यावश्यक सेवा अन्तर्गत भएकाले राष्ट्र बैंकले कोरोना भाइरसको संक्रमणबाट बच्न र सो सम्बन्धी सजक रहन सेवाग्राही तथा कर्मचारीबीच कोरोना भाइरसको संक्रमण फैलिनसक्ने जोखिम कम गर्न उक्त मार्गदर्शन ल्याएके बैंकले जनाएको छ।

लकडाउनभर बैंकहरुले बैंकिङ कार्यालय, मुद्रा विभाग तथा प्रदेशस्थित कार्यालयबाट गरिने फण्ड ट्रान्सफर, सरकारी कारोबार, चेक भुक्तानी तथा नगद जम्मा गर्ने कार्यलाई निरन्तरता दिनुपर्ने राष्ट्र बैंकले जनाएको छ।

बैंक तथा वित्तिय संस्थाले लकडाउनमा बढीमा एक तिहाई कर्मचारीबाट न्यूनतम भौतिक दूरी कामय गरी सबै विभाग, कार्यायल महाशाखा, इकाईको कार्यलाई निरन्तरता दिन राष्ट्र बैंकले निर्देशन दिएको छ।

अन्य कर्मचारीलाई घरबाटै काम गर्ने ‘वोर्क फ्रम होम’लाई निरन्तरता दिने र घरबाट काम गर्ने कर्मचारीलाई सम्बन्धी महाशाखा र इकाईले निर्देशन तथा कामको अनुगमन गर्नुपर्ने मार्गदर्शनमा उल्लेख छ।

यसैगरी कर्मचारीलाई कार्यालयमा काम गर्न ६/६ दिनको रुटिङ मिलाउनु पर्ने तथा कार्यालयमा अनिवार्य रुपमा मास्क र पन्जाको प्रयोग गर्नु पर्नेछ।

जिल्ला बाहिरबाट आएका कर्मचारीलाई १००.४ डिग्रीभन्दा बढी ज्वरो आएकालाई अनिवार्य रुपमा बैंकले नै १४ दिन क्वारेन्टाइनमा बस्न निर्देशन दिनु पर्नेछ।

बैंक तथा वित्तीय संस्थाले अतिआवश्यक भएमात्र प्रत्यक्ष बैठक बस्ने अन्यथा भर्चुअल मिटिङ्गलाई प्राथमिकता दिनुपर्ने र बैठक गर्दा डब्लुएचओको मापदण्ड अनुसार एक मिटरको दूरी कायम गरी सम्पन्न गर्नुपर्ने मार्गदर्शनमा उल्लेख छ।

बैंकिङ कार्यालय, मुद्रा व्यवस्थापन विभाग तथा प्रदेशस्थित कार्यालयहरुबाट गरिने फण्ड ट्रान्सफर, सरकारी कारोबार, चेक भुक्तानी तथा नगद जम्मा गर्ने कार्यलाई निरन्तरता दिन राष्ट्र बैंकले जारी गरेको ४२ बुँदे मार्गदर्शनमा उल्लेख छ।

जेष्ठ ६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्