कोरोना मानिसलाई अभिषाप, प्रकृतिलाई बरदान

काठमान्डू घुम्नुभएको छ अहिलेका दिनमा? लामो समयदेखि ‘लकडाउन’का कारण घरमा थुनिनुभएका काठमान्डूवासीहरुसँग यो प्रश्न गर्नुको कारण छ। तपाईँको शहर अहिले पुरै सफा सुग्घर छ। कतै पनि फोहोरको थुप्रो देखिँदैन, हावा स्वच्छ छ।

हावामा भएका प्रदूषण छैनन्। तपाईले बाहिर निस्किँदा नाक थुन्नु पर्दैन। तपाईहरु घरमै भएको हुनाले चोक-बाटो-दोबाटोमा कतै पनि प्लास्टिक, चाउचाउका खोल, बिस्किटका र्‍यापर, फलफूलका बोक्रा, चुरोटका ठूटालगायत फालिएका अन्य वस्तुको कुरुप दृश्य हेर्नु पर्दैन। काठमान्डूको समग्र वातावरण स्वच्छ, पवित्र र स्वस्थ बनेको छ, तपाईँहामी घरमै बसेकाले।

हामीहरु शहरको सरसफाइका लागि स्थानीय सरकार र सरकारलाइ दोषी भन्ने गर्छौँ, सराप्ने गर्छौँ। तर यस ‘लकडाउन’ ले स्पष्ट गरेको छ- शहर फोहोर हुनुमा प्रमुख भूमिका हाम्रै हुने रहेछ। निश्चय पनि विभिन्न स्तरका सरकारको काम मात्रै होइन, गहन उत्तरदायित्व नै हो- तिनले शहर सफा राख्ने हर सम्भव प्रयास गर्नुपर्छ। यस कार्यमा कुनै किसिमको बहानाबाज़ी, ढीलासुस्ती अथवा राजनीति गर्नु क्षम्य हुन सक्दैन। तर हामीले पनि एउटा कुरा बिर्सनु हुन्न, जबसम्म नागरिकले आफ्नो कर्तव्य पूरा गर्दैनन्, तबसम्म कुनै पनि सरकारले गरेका प्रयास सार्थक हुन सक्दैन।

कुरा काठमान्डूको मात्रै होइन, अहिले विश्वकै वातावरण स्वच्छ, निर्मल एवं निर्दोष बनेको छ। विलुप्त हुन लागेका चराहरुको चिरबिर सुनिन थालेको छ। कोइला बालेर, डिजल/पेट्रोल लगायतका ‘फोसिल फ्यूल’ को प्रयोगले हुने प्रदूषण, कारखानाका चिम्नीबाट निस्कने विषाक्त धुवाँ, तिनका ‘ड्रेन’बाट बग्ने खतरनाक रसायनयुक्त फोहोरले पृथ्वीको सतहदेखि जल हुँदै आकाशसम्मको वातावरणमा जुन विष घोलेको थियो, एक डेढ महिनाकै ‘लकडाउन’ले प्रकृतिरुपी शिव त्यो विष उदरस्थ एवं निर्मलीकरण गरी आफ्नो नैसर्गिक स्वरूपमा पुनर्स्थापित भएको छ।

हाम्रा घर- कार्यालय- कारखानाबाट निस्कने हानिकारक ग्यास जस्तै विभिन्न ‘हाइड्रोफ्लोरोकार्बन’- ‘मिथेन’ आदिले पृथ्वीको सुरक्षा कवच ओज़ोन तहमा जुन हानि पुर्‍याएको थियो, त्यो भ्वाङ टालिएको छ। नदी सफ़ा भएका छन्, समुद्र सफा भएका छन्। रिपोर्ट आइरहेका छन् पृथ्वीभित्र हुने गतिविधि (कम्पन) मा पनि कमी आएको छ। विभिन्न कृतिम उपग्रह (स्याटेलाइट) बाट प्राप्त पृथ्वीका तस्बिर हेर्दा यहाँको वातावरणमा जुन किसिमको हरियाली र स्वच्छता छाएको छ, जानकारहरुका अनुसार यो विगत ७५ वर्षकै सर्वोत्तम स्थिति हो। दोस्रो विश्वयुद्धको विभीषिकापछि आएको आर्थिक मन्दीका कारण त्यसबेला पृथ्वीको वातावरण स्वच्छ भएको थियो। त्यसयता पृथ्वीको वातावरण प्रदूषित, झन झन प्रदूषित हुँदै आइरहेको थियो।

प्रकृतिले आफ्नो यौवनलाई ७५ वर्ष ‘रिभाइभ’ गरेर आफूलाई ‘स्तनभरनमिता रूपसी’मा रूपांतरित गरेको छ। विज्ञान साक्षी छ, प्रकृतिले बारम्बार आफूलाई अक्षत यौवना भएको प्रमाणित गर्दै आएको छ। बारम्बार क्षतविक्षत भएको आफ्नो कौमार्यलाई आफैँ ‘अप्रेसन’ गरेर कुमारीत्व अर्जित गरेको छ।

विज्ञान भन्छ, पृथ्वीले बृहद रूपमा ५ पटक कुमारीत्वको ( Mass Extinction ) चक्र सम्पन्न गरिसकेको छ। साना-साना यस्ता ‘अप्रेसन’ त कति भए कति? विज्ञानसँग यी सबैबारे जान्ने ‘मेथोडोलोजी’ छैन, सबैको गणना गर्नसक्ने क्षमता विज्ञानसँग छैन। हो, विज्ञानसँग यस कुराको भने स्पष्ट जानकारी छ, पृथ्वीले पुनः कुमारीत्व हासिल गर्ने सारा शल्यक्रिया (Extinction) आफैँ सञ्चालित गर्छ। एउटा शल्यक्रियामात्रै पृथ्वी बाहिरका कारणले घटित भएको थियो। साढ़े ६ करोड़ वर्षपहिले ‘Cretaceous Paleogene Extinction Event’ नामक कौमार्यअर्जन अभियानमा मात्रै पृथ्वीदेखि बाहिरबाट आएको उल्कापिन्ड सहायक रहेको थियो। यस उल्का पिन्डको वज्रपातले नै सृष्टिका ज्ञात सबैभन्दा ठूला प्राणी डायनासोर युगको अन्त गरी पृथ्वीलाई ‘अहिल्या, द्रौपदी, तारा, कुन्ती, च मन्दोदरी’ का माफिक कन्याकेटी अर्थात अक्षत कुमारीत्वमा पुनर्स्थापित गरेको थियो। यस एउटा घटना बाहेकका सबै प्रलयरूपी कुमारीत्व अभियानको संयोजन र क्रियान्वयन पृथ्वी आफैले सञ्चालित गरेको हो।

२५ करोड़ वर्षपहिला ‘द ग्रेट डाइङ’ भनिने कुमारीत्व अभियानमा पृथ्वीले आफुलाई ३० करोड़ वर्ष पूर्वको कालखन्डमा पुर्‍याएको थियो, अहिले कोरोनारूपी हतियारबाट आफूलाई ७५ वर्ष पहिलाको स्थितिमा पुर्‍याएझैँ।

चौतर्फी भएको विकासको परिणाम यसरी पनि हेर्नु आवश्यक छ- पृथ्वीको बाहिरी सुरक्षा चक्र (ओज़ोन लेयर) प्रदूषित भयो। आन्तरिक सुरक्षा एवं जीवन चक्रका लागि अति नै महत्वपुर्ण प्राकृतिक घटक समुद्र,  हावा, नदी आदि प्रदूषित भए। ‘ग्रिन हाउस ग्यास’लाई प्रयोग गरी अक्सिजन दिने वनजंगल मानवीय वासनाको फलस्वरूप दिनप्रतिदिन मासिँदै गइरहेका छन्। अन्धाधुन्ध विकासको परिणाम हाम्रो वरपरको वातावरण नै प्रदूषित भएर सास फेर्न लायकसम्म रहेको थिएन। कोरोना संक्रमणका कारण संसारभरी जतिले मृत्युवरण गरेका छन्, प्रत्येक वर्ष त्योभन्दा अति नै धेरै मानिस प्रदूषणका कारण विभिन्न रोगले ढल्छन्। समग्र पृथ्वी नै कोढ़माथि आस्थ्माग्रस्त बनेको थियो, यसको उत्तरदायित्व कसले लिने? पृथ्वीको यस्तो हालत हुनुमा मानिसबाहेक पृथ्वीका अन्य कुनै सन्ततिको ० दशमलब १ प्रतिशत पनि भूमिका छ र? पर्खिनुस्, पर्खिनुस्- चौपाया, धान, उखु आदिका कारण हुने ‘मिथेन’ वृद्धिको निमित्त नायक पनि हामी नै हौँ। स्वाद र भोजनका लागि खोलिएका ‘गाई फर्म’ मानवीय वितण्डा हो। कुनै पनि मांसाहारीले ‘ग्लोबल वार्मिङ’ को कुरा गर्नु अक्षम्य अपराध हो उसकै स्वाद र उदरभरणले ‘ग्रिन हाउस ग्यास’ वृद्धि भइरहेको छ। यिनै ग्यासको वृद्धि हुनु ‘ग्लोबल वार्मिङ’को प्रमुख कारण हो।

म प्रकृति उपासक हुँ, आध्यात्मिक हुनुका साथै विज्ञानसम्मत दृष्टिकोण राख्ने मानिस हुँ। प्रकृति पुनः आफ्नो लयमा फर्किएको देख्दा प्रफुल्लित छु। विरोध मूलको, आलोचक नक्षत्रमा, शंकाको युति मध्ये निंदक गोचरको छिद्रान्वेषण स्वभावमा जन्मे/हुर्केका जातकहरुलाई मेरो प्रफुल्लताप्रति आपत्ति हुनसक्छ, यतिका धेरै मानिसको मृत्युमा प्रफुल्लित हुने कस्तो शठ!

पृथ्वीको ‘इको सिस्टम’ले आफ्ना सबै सन्ततिको संख्या सन्तुलन कायम राख्छ। पृथ्वी अथवा प्रकृतिको सन्तुलन बिगार्ने काम सर्वोत्कृष्ट भनिने कृति मानवकै कुत्सित नियतको परिणाम हो। कुनै पनि जंगलमा न बाघको संख्या बढी भएर हरिणको संख्यामा ह्रास आउँछ र न त हरिणकै संतानोत्पत्तिमा ‘फेमिली प्लानिङ’ लागू भएर बाघलाई भोकभोकै मर्ने अवस्था सिर्जना हुन्छ। मानिसको कुदृष्टि नपरेका ठाउँमा जताततै प्राकृतिक सन्तुलन कायम छ पृथ्वीभरि। कमिलादेखि लिएर हाथी, व्हेलसम्म सबैलाई आहारा जुटेकै छ। मानिसभित्र ‘निड’ भन्दा ‘ग्रिड’को मात्रा बढी भएकाले उसले पृथ्वीभरि उपद्रो र कोहराम मचाएको छ।

म प्रकृति उपासक हुँ, आध्यात्मिक हुनुका साथै विज्ञानसम्मत दृष्टिकोण राख्ने मानिस हुँ। प्रकृति पुनः आफ्नो लयमा फर्किएको देख्दा प्रफुल्लित छु। विरोध मूलको, आलोचक नक्षत्रमा, शंकाको युति मध्ये निंदक गोचरको छिद्रान्वेषण स्वभावमा जन्मे/हुर्केका जातकहरुलाई मेरो प्रफुल्लताप्रति आपत्ति हुनसक्छ, यतिका धेरै मानिसको मृत्युमा प्रफुल्लित हुने कस्तो शठ!

यस्ता बन्धूहरुलाई मेरो विनीत जबाब यति नै हो- अनुकम्पा हेर्नुस् मेरो आराध्या प्रकृतिको! मर्नेभन्दा कैयन गुणा बढी मानिसको ‘इम्युन’ शक्तिबाट उसले कोरोना भाइरसलाइ पनि सखाप बनाइरहेको छ। प्रकृतिको मूल मन्त्र ‘वीर भोग्या वसुन्धरा’ हो उसको शब्दावलीमा आरक्षण र अधिकार जस्ता शब्द हुन्नन्। प्रकृतिले शक्तिवानको संरक्षण एवं निर्बलको बनौटमा खेर गइरहेको ऊर्जा अन्य रूपमा प्रयोग/उपयोग गर्ने कार्यपद्धति अपनाएको हुन्छ। प्रकृतिले समानता एवं समानुपातिक ढंगले कार्य गरेको भए पृथ्वीका अन्य जीवधारीहरु पनि स्मरण शक्ति र बुद्धिमा मानवका समकक्षी हुने थिए। बल र सिपको कुरा नगरौँ, यस मामलामा अन्य जीव मानिसभन्दा उच्चतर छन्। प्राकृतिक रूपमा शस्त्ररहित हुँदा मानिस बिरालोसँग पनि जित्न सक्दैन, चराले गुँड़ बनाउने जतिको शीप मानिससँग छैन।

ऋषिकेश, हरिद्वार, प्रयागराज, वाराणसी, पटनाका मित्रहरुले जीवनदायिनी- मोक्षदायिनी गंगाका नयाँ तस्वीर पठाएका छन। ती तस्वीर हेर्दा हर्षातिरेकले नयन सजल भएका छन्। मेरो स्मृतिमा सन १९८५ देखि तत्कालीन प्रधानमन्त्री राजिव गांधीले गंगा शुद्धिकरण अभियान थालेको र वर्तमानको प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले यसै अभियानमा हज़ारौँ अर्ब रुपैयाँ खर्चेको दृश्य प्रतिबिम्बित भइरहेको छ। यिनै दृश्यकामाझ गंगा प्रकट भएर भन्छिन्- वत्स म पनि प्रकृति हो, आफ्नो पापमोचन गर्न आफैँ सक्षम छु। गंगाको यो पापरहित- निर्मल- स्वच्छ- मोक्षदायक स्वरुपको दर्शन गर्न व्यग्रतासाथ प्रतीक्षा गरिरहेको छु।

दुई महिनाकै ‘लकडाउन’ले सम्पूर्ण पृथ्वी स्वच्छ भएको छ। विश्वभरिका तमाम सरकारले वर्षेनी अर्बौ डलर खर्च गरेर जुन काम गर्न सफलता पाएका थिएनन्, त्यो काम बिना कुनै लगानी सम्पन्न भएको छ। कोरोना मानिसका लागि अभिशाप भयो, मनुष्यताका लागि महामारी भयो, तर प्रकृतिका लागि भने वरदान साबित भएको छ, उपहार साबित भएको छ।

जेठ ६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्