कोरोना: कम्प्युटर, इन्टरनेट र सामाजिक सञ्जाल

कोरोना २१ औँ शताब्दीको लागि ठूलो चुनौती भइसकेको अवस्था छ । आधा विश्व लकडाउनमा छ र यसको अन्त के हो कहिले हुने हो भन्ने कुरामा विश्व नै अलमलमा परेको छ । ठूला ठूला मेडिकल साइन्सको अनुसन्धानहरुलाई समेत चुनौतीको विषय भइसकेको छ । कोरोनाले उत्पादन, रोजगार, व्यापार र शिक्षा सबैलाई नै समस्या दिइरहेको छ ।

कम्प्युटर कुनै पनि कार्यलाई सहज बनाउने एउटा औजार हो हातले गर्ने कार्यलाई कम्प्युटरबाट गर्दा सहज र छिटो हुने गर्दछ । कम्प्युटर सबै कुरा होइन तर विशेष कुरा भने हो किनभने अहिलेको समयमा कम्प्युटरको सहयोगबाट ठूला ठूला कार्यसमेत गर्नको लागि सहजता प्रदान गर्दछ । अहिलेको लकडाउनको समयमा कम्प्युटर सबैको लागि साथी जस्तै भएको हुनुपर्दछ ।

अँग्रेजी अक्सफोर्ड डिस्टेनेरीको अनुसार सन् १६१३ मा कम्प्युटर भन्ने शब्द पहिलो पटक प्रयोग भएको थियो जसको अर्थ मानवीय हिसाव किताव हो र पछिसम्म पनि यसको प्रयोग यही अर्थमा हुँदै आइरहेको छ । चाल्र्स ब्याबेजले आधुनिक दुनियाको कम्प्युटरको विकास गरेको हुँदा उनलाई कम्प्युटर विज्ञानको पिता भनेर चिनिन्छ । उनले यसको विकास १९ औं शताब्दीमा नै गरेको हुँदा आधुनिक दुनियाको कम्प्युटर १९ औं शताब्दीमा नै विकास भएको हो भनेर मान्दा अतियुक्ति नहोला । कम्प्युटरको इतिहासको कुरा गर्दा यसको इतिहास धेरै नै छ तर हामीले के बुझ्नुपर्छ भने कम्प्युटर निर्माताहरुले कम्प्युटरलाई निम्न हिसावले विकास गर्दै आएको पाइन्छ ।

(१) छिटो कार्यका लागि

(२) थोरै ताप उत्पादन गर्ने उद्देश्यले

(३) लागत घटाउने उद्देश्यले

वास्तवमा हामीलाई किन कम्प्युटर चाहियो भन्दा छिटो भन्दा छिटो कार्यकालागि भनेर मान्न सकिन्छ यसलाई तलका उदाहरणबाट प्रष्ट पार्न सकिन्छ :

जुन समयमा संस्थाहरुमा कम्प्युटर थिएन र कुनै एउटा चिठी अर्को संस्थामा पठाउनुपर्‍यो भने एकजना कर्मचारीलाई चिठी लिएर पठायो त्यसपछि उसको त्यो दिनको कार्य नै सकिन्थ्यो हाल केही मिनेट भित्र हामी इमेलमार्फत चिठी आदान प्रदान गर्न सक्छौ । अहिले हामी यसो भन्न सक्छौ कि विना कम्प्युटर हामी सँस्था चलाउन नसकिने अवस्थामा आइपुगिसकेका छौँ।

इन्टरनेट

इन्टरनेटलाई हामी विश्वव्यापी सञ्जालको रुपमा व्याख्या गर्न सक्छौँ। यसले विश्वको कम्प्युटरलाई जोडेको हुन्छ वा यसलाई हामी यसरी बुझ्न सक्छौ तपाई हामीलाई सिधारुपमा इन्टरनेटले जोडेको हुन्छ । इन्टरनेटको माध्यमबाट हामी विभिन्नखालको डाटा पठाउन सक्छौ र अहिले इन्टरनेट धेरै नै आधुनिक भइसकेको अवस्था छ । इन्टरनेट चलाउनको लागि इन्टरनेट प्रदायक सँस्था हुनु जरुरी छ । इन्टरनेटको शुरुवात भएपछि मात्र कम्प्युटरमा व्यापकता आएको मान्न सकिन्छ किनभने इन्टरनेट सुरु हुनुभन्दा अगाडि मानिसहरुले यसलाई टाइपराइटरको सट्टामा आएको मेशिनको रुपमा बुझ्ने गरेको पाइन्छ ।

कम्प्युटर भनेको त्यो मेशिन हो जुन सामान्यतया व्यापार, शिक्षा, अनुसन्धानमा प्रयोग हुन्छ ।

कम्प्युटरलाई हामीले बुझ्दा डेस्कटप र ल्यापटपलाई मात्र बुझ्नु हुन्न किनभने कम्प्युटर सिस्टम भएका सम्पूर्ण मेशिनलाई नै कम्प्युटर बुझ्नुपर्ने हुन्छ यसको अर्थ एटीएम मेशिनदेखि हस्पिटलमा प्रयोग हुने ठूला ठूला उपकरणहरु समेत कम्प्युटरमा पर्दछ । यसको प्रयोगको हिसावले पनि अहिलेको विषम परिस्थितिमा कम्प्युटरको प्रयोग निम्नानुसार व्याख्या गर्न सकिन्छ ।

व्यापारमा कम्प्युटरको प्रयोग

कम्प्युटरको प्रयोग व्यापारमा अत्याधिक रुपमा हुने गर्दछ । विभिन्न खालको तथ्यहरु संकलन गर्नको लागि यसलाई पछाडि चाहिएको बेलामा हेर्न मिल्ने गरी सुरक्षित राख्नको लागि पनि हामीले कम्प्युटरको प्रयोग गर्दछौ । अहिलेको लकडाउनको स्थितिमा मिटिङहरु बस्न सम्भव छैन तर कम्प्युटरको सहयोगबाट अनलाईन मिटीङ बस्न सकिन्छ र घरमै बसेर अफिसको धेरै नै काम गर्ने र इमेलको माध्यमबाट आफ्नो काम अफिसमा पठाउन सकिन्छ । ई–कमर्श र ई–विजनेसको माध्यमबाट अनलाईन सामान विक्रि पनि गर्न सकिन्छ भने यसले उपभोक्तालाई पनि सहज बनाउछ । हामीले अनलाईन सेवाको प्रयोगबाट विलहरु भुक्तानी गर्न सक्छौ र विभिन्न सेवाहरु पनि लिन सक्छौ यसले गर्दा व्यापार व्यवसायमा कम्प्युटरको महत्व बढ्दै गइरहेको छ भने अहिलेको विषम परिस्थितिमा बरदान सावित भएको छ ।

अहिलेको विषम परिस्थितिमा विद्यार्थीहरु घरमा थुनिएर बस्नुपर्ने अवस्थामा विभिन्न खालको मानसिक तनाव पैदा हुने सम्भावना रहन्छ तर अनलाइन कक्षाले गर्दा विद्यार्थीवर्गलाई व्यस्त राख्न मद्दत पुर्याउनुका साथै नकारात्मक समस्याको अन्त हुन्छ । अनलाइन कक्षाबाट समयको पनि सदुपयोग हुने र नयाँ नयाँ कुरा सिक्ने अवसर पनि पैदा हुन गई विद्यार्थी तथा अभिभावक वर्ग लाभान्वित पनि हुन गएको देखिन्छ ।

शिक्षामा कम्प्युटरको प्रयोग

शिक्षामा कम्प्युटरको प्रयोग दिनानुदिन बढ्दै गइरहेको छ । स्कुल तथा क्याम्पसहरुले कक्षा कोठामा ल्यापटप, प्रोजेक्टरको सहयोगबाट कक्षाहरु संचालन गर्दै आइरहेका छन भने उत्कृष्ट शैक्षिक सामाग्रीहरु गुगल, युटुवको सहयोगबाट शिक्षक तथा विद्यार्थीहरुले तुरुन्त प्राप्त गर्न सक्छन् । हामीले खोजेको हरेक कुराहरु कम्प्युटरमा नै उपलब्ध हुने गर्दछ । अहिले अनलाईन शिक्षाले पनि धेरै नै प्रसिद्धि कमाउदै गइरहेको छ भने नेपालमा पनि एउटा अनलाईन युनिभर्सिटीले औपचारिक रुपमा नै अनलाईन शिक्षा प्रदान गर्दै आइरहेको छ ।

लकडाउन र अनलाइन शिक्षा

अहिलेको लकडाउनको समयमा भने विश्वभरी नै सम्भव भएका स्कुल तथा क्याम्पसहरुले अनलाईन कक्षा सञ्चालन गर्दै आइरहेका छन् जसले कम्प्युटर र इन्टरनेटको महत्वलाई व्यापकता प्रदान गरेको छ । यसको प्रत्यक्ष रुपमा  दुईवटा फाईदा रहेका छन्:

(१) यसबाट विद्यार्थी वर्गको समयको सदुपयोग

(२) यसको माध्यमबाट उपयोगी ज्ञानमा अभिबृद्धि

अहिलेको विषम परिस्थितिमा विद्यार्थीहरु घरमा थुनिएर बस्नुपर्ने अवस्थामा विभिन्न खालको मानसिक तनाव पैदा हुने सम्भावना रहन्छ तर अनलाइन कक्षाले गर्दा विद्यार्थीवर्गलाई व्यस्त राख्न मद्दत पुर्याउनुका साथै नकारात्मक समस्याको अन्त हुन्छ । अनलाईन कक्षाबाट समयको पनि सदुपयोग हुने र नयाँ नयाँ कुरा सिक्ने अवसर पनि पैदा हुन गई विद्यार्थी तथा अभिभावक वर्ग लाभान्वित पनि हुन गएको देखिन्छ ।

हामीले माथि नै थाहा पाइसकेका छौ कि अनलाइन कक्षा भन्ने वित्तिकै कम्प्युटर र इन्टरनेटको कुरा रहेछ जसको कारण धेरै विरोधको कुरा पनि सुन्नमा आउँछ । इन्टरनेटको अभाव, कम्प्युटरको अभाव जस्ता कुराहरुले गर्दा सबैको पहुँच पुग्न नसकेको तर हामीले के बुझ्नुपर्छ भने सुरुमा केही गाहे भने पक्कै हुन्छ तर यसले हामीलाई विस्तारै धेरै कुरा सिकाउँछ अनि अर्को कुरा समस्या छ भनेर हामी कम्प्युटरबाट भाग्न सक्ने स्थिति कदापी छैन । यदि ढिलो चाँडो प्रविधिमा आउनु नै छ भने अहिले नै आवश्यकता परेको बेलामा किन नआउने ? अनलाईन कक्षाको लागि धेरै सफ्टवेयरहरु बजारमा उपलब्ध छन्, केही सफ्टवेयरहरु निम्नानुसार छन् :

(१) जुम (२) गुगल मिट (३) सिस्को (४) माइक्रोसफ्ट टीम (५) एडोब कनेक्ट (६) जोहो मिटीड (७) हाइ फाइभ (८) मिट फक्स (९) स्टार लिफ (१०) इजी मिटीड (११) इभेन्ट सेन्टर लगायत धेरै नै सफ्टवेयर रहेका छन् ।

नेपालमा विशेषगरी जुम, माइक्रोसफ्ट टीम, गुगल क्लासरुम अत्याधिक मात्रामा प्रयोग भएको पाइएको छ । अनलाईन कक्षामा विभिन्न समस्या देखिएको भएता पनि हामीले समस्या पन्छाउँदै अगाडी बढ्नुपर्ने अहिलेको आवश्यकता हो ।

मनोरन्जनमा कम्प्युटरको प्रयोग

कम्प्युटरको प्रयोग मनोरन्जनमा पनि व्यापक रुपमा भएको देखिन्छ । कम्प्युटरमा विभिन्न खालको गेमहरु खेल्न मिल्ने, फिल्महरु हेर्न मिल्नेमात्र नभई विभिन्न खालको सफ्टवेयरहरुको प्रयोगबाट टि.भी नै पनि हेर्न सकिन्छ । अहिले त विभिन्न खालको सोसल मिडियाहरुबाट पनि सुचना आदान प्रदानका साथै मनोरञ्जन पनि प्राप्त गर्न सकिन्छ । विशेषत अहिले फेसबुक, भाइबर, युटुव, ट्वीटर, टिकटक अलि बढी नै प्रचलनमा देखिन्छ ।

अहिलेको कोरोनाको यस विषम परिस्थिति र लकडाउनमा कम्प्युटरबाट समय विताउन धेरै नै सजिलो भएको मान्न सकिन्छ । हामी सायद कम्प्युटर नभएको भए अलमलमा पर्ने र धेरै नै मानसिक समस्या निम्तने कुरालाई नकार्न सक्दैनौँ।

अनुसन्धानमा कम्प्युटरको प्रयोग

हामी अहिले कम्प्युटर, इन्टरनेट, अत्याधुनीक जहाजहरुको दुनियामा छौ, यी सबै कुरा अनुसन्धानले गर्दा नै सफल भएको हो । यदि अनुसन्धान हुँदैन थियो भने हामी राइट दाजु भाइको प्लेनको दुनियामा हुन्थ्यौ । मोबाइल र कम्प्युटरको विकास सम्भव नै हुदैनथ्यो तर यसलाई सहयोग पनि कसले पुर्यायो भन्नुपर्दा कम्प्युटरको नै देन देखिन्छ । अहिले कोरोना भाइरसको विभिन्न भ्याक्सिन बनाउने प्रकृया पनि जारी छ यो सबै कार्यमा प्रत्यक्ष रुपमा कम्प्युटरले नै सहयोग पुर्याइरहेको छ । तथ्याङ्क संकलन देखि त्यसलाई विश्लेषण गर्नको लागि समेत कम्प्युटरको प्रयोग हुँदै आइरहेको छ । तथ्याङ्क संकलन र विश्लेषण गर्नको लागि विभिन्न खालको सफ्टवेयर जस्तै एस.पि.एस.एस, इ भ्युज, स्टाटालगायतका सफ्टवेयरहरुको प्रयोग भइरहेको छ ।

अहिले पनि विश्व स्वास्थ्य संगठनले कोरोनाको सम्पूर्ण तथ्याङ्कहरु अनलाईन डाटाबेस सफ्टवेयरको माध्यमबाट उपलब्ध गराउँदै आएको छ ।

यसबाट हामी के बुझ्न सक्छौ भने कम्प्युटर आजको आवश्यकता हो यसबाट हामी टाढा भाग्न सक्ने स्थिति नै छैन । यसलाई कसरी सबैको पहुँचमा पुर्याउन सकिन्छ भन्ने कुरा नीति निर्माताहरुले ध्यान पुर्याउनु जरुरी भइसकेको छ । समाज भनेको एक शान्त तलाउ हो र कम्प्युटर भनेको त्यो तलाउमा हानेको ढुङ्गा जस्तै हो । यसबाट आउने सामाजिक, साँस्कृतिक र अन्य परिवर्तनलाइ समाजले एक रातमा नै अँगाल्न सक्दैन यसको लागि समय चाहिन्छ । विभिन्न देशमा कम्प्युटरले जि.डी.पीलाई नै ठूलो टेवा पुर्याएका छन् हामी कम्प्युटरको प्रयोग गर्न सकिन्न भनेर पन्छिन खोजिरहेका छौ । सरकारले यसमा विशेषत लगानी गर्नुपर्छ र देशलाई प्रविधिमैत्री बनाउनु पर्छ जसले हरेक क्षेत्रमा ठूलो भूमिका निर्वाह गर्दछ ।

कोरोनाको यस विषम परिस्थिति विश्वले कहिलेसम्म भोग्नुपर्ने कुरा अन्यौल नै रहेको छ यस हिसावले अब दुनिया धेरै हदसम्म कम्प्युटरमा निर्भर हुने देखिन्छ । जसले गर्दा नेपाल जस्तो देशको कुरा गर्दा समाज दुई भागमा वर्गीकरण भएको देखिन्छ । (१) हुने खाने बर्ग (२) हुँदा खाने वर्ग । सरकारले विभिन्न रातहका प्याकेजहरु ल्याएको देखिन्छ तर छोटो समयको लागि मानिसलाई खानु र बस्नु नै प्राथमिकतामा पर्दछ तर समस्या लामो समयसम्म रहने भयो भने अन्य क्रियाकलापमा पनि ध्यान दिनुपर्ने हुन्छ, शिक्षा त्यसपछि को प्राथमिकतामा पर्दछ । समाजमा विभिन्न प्राइभेट स्कुल, कलेजहरुले अनलाइन कक्षाहरु सञ्चालन गरिरहेका छन् र प्राइभेट स्कुल कलेजमा पढाउनेहरु एक हिसावले सम्पन्न नै हुन्छन र उनीहरुसँग स्रोत साधन जस्तै ल्यापटप, इन्टरनेट हुन्छ र कक्षा लिन पनि सजिलो हुन्छ तर सरकारी शिक्षामा त्यसको पहुँच छैन । एक त आर्थिक अवस्था कमजोर हुनेहरु सरकारी शिक्षामा जाने र उनीहरुसँग स्रोत साधन पनि नहुने जसले गर्दा अहिलेको समयमा दोहोरो मारमा परेको देखिन्छ त्यसैले सरकारले शिक्षामा सक्नेसम्मको प्याकेज ल्याउनुपर्ने देखिएको छ । गाउँ गाउँमा कुनै पनि हालतमा प्रविधिको पहुँच पुर्याउनु आजको आवश्यकता हो ।

(लेखक विभिन्न विश्वविद्यालय अन्तर्गतका बिबिए र एमबिएमा व्यवस्थापन सूचना प्रणाली पढाउँदै आएका  छन्।)

जेष्ठ ६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्