कोहलपुरमा कोरोना संक्रमित राख्ने निर्णयको स्थानीयद्वारा विरोध

फाइल तस्बिर

नेपालगञ्ज– बाँकेको नरैनापुरका कोरोना संक्रमितमध्ये केहीलाई कोहलपुरमा राख्ने निर्णय भएपछि कोहलपुरका स्थानीयले त्यसको विरोध गरेका छन्।

५९ जना संक्रमितमध्ये ३४ जनालाई कृषि विकास बैंक तालिम केन्द्र पिपिरी कोहलपुर र २५ जनालाई लायन्स डेन्टल अस्पताल, नेपालगञ्ज राख्ने निर्णय भएको छ।

जिल्लाको कोभिड–१९ क्राइसीस म्यानेज सेन्टरको बैठकले दुवै ठाउँमा कोरोना संक्रमित राखी स्वास्थ्य र सुरक्षाको प्रबन्ध मिलाउने निर्णय गरेको हो। कोहलपुरमा संक्रमित राख्ने निर्णय हुने बित्तिकै स्थानीयवासी विरोधमा उत्रिएका छन्।

स्थानीयवासीको ठूलो समूह पिपिरी पुगेका छन्। विरोध शुरु भएकाले स्थानीय प्रशासनले सुरक्षाको प्रवन्ध मिलाउने जनाएको छ।

बैठकले खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको पुरै बिल्डिङलाई कोरोना संक्रमितको उपचारमा प्रयोग गर्ने तयारी गरेको छ। अहिले त्यहाँ २६ जना कोरोना संक्रमितलाई राखिएको छ। ४० बेडको आइसोलेसन कक्ष बनाइएको छ। पुरै बिल्डिङलाई लिँदा बेड संख्या थपिनेछ।

खजुराको कृषि व्यवसाय सहयोग प्रवर्द्धन तथा तालिम केन्द्र र नेपालगञ्ज मेडिकल कलेज, कोहलपुरमा बिरामी राख्ने निर्णय गरिएको छ। कृषि तालिम केन्द्र खजुरामा लक्षण नदेखिएका र मेडिकल कलेजमा लक्षण देखिएका बिरामीलाई राखेर उपचार गर्ने प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए।

बैठकले परीक्षण, उपचार, मृतकको व्यवस्थापन लगायत कार्यका लागि आवश्यक स्वास्थ्य सुरक्षा सामाग्री, किटहरुको थप व्यवस्थापनका लागि केन्द्रीय सीसीएमसीमा अनुरोध गर्ने निर्णय गरेको छ।

जेष्ठ ६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू