जनकपुरका कोरोना संक्रमित दुई जनाका परिवारका सदस्यमा कोरोना देखिएन

जनकपुरधाम– जनकपुरधामका कोरोना संक्रमित पत्रकार तथा पुस्तक व्यवसायीका परिवारका सदस्यको कोरोना रिपोर्ट नेगेटिभ आएको छ।

गत मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धनुषाका ४० वर्षीय र ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण रहेको पुष्टि गरेको थियो।

धनुषाका ४० वर्षीय पुरुष जनकपुरधाममा रही पत्रकारीता गर्दै आएका छन् भने महोत्तरी स्थायी ठेगाना भएका अर्का संक्रमित ३६ वर्षीय पुरुष जनकपुरधाममा पुस्तक पसल सञ्चालन गर्दै आएका छन्।

दुवै जनामा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुका परिवारका सदस्यलाई क्वारेन्टाइनमा राखेर कोरोना परिक्षणको लागि स्वाब संकलन गरिएको थियो।

४० वर्षीय पत्रकारका परिवारका ६ जना र पुस्तक व्यवसायीका परिवारका ३ जना गरी ९ जनाको रिपोर्ट नेगेटिभ आएको नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्रले जानकारी दिए।

त्यस्तै संक्रमितहरुको सम्पर्कमा आएका अन्यको सोमबार कोरोना परिक्षणको लागि स्वाब संकलन गरिएकोमा रिपोर्ट आउन बाँकी रहेको अध्यक्ष मिश्रले बताए।

जेष्ठ ६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्