वीरगञ्जमा रोकिएका दुई सयभन्दा बढी भारतीय स्वदेश फिर्ता, रक्साैलमा अलपत्र नेपालीलाई भोलि ल्याइने

वीरगञ्ज–कोरोना भाइरसको संक्रमण रोक्नको लागि नेपाल र भारत दुबैतर्फ गरिएको लकडाउनका कारण वीरगञ्जमा फसेका भारतीय नागरिकहरुलाई मंगलबार भारत पठाइएको छ।

लकडाउन र सीमानाका शिल गरिएको अवस्थामा घर जानबाट वञ्चित भएका २ सय १५ जनालाई पठाइएको हो।

वीरगञ्जको ठाकुरराम क्याम्पसमा राखिएका तथा आफन्तको घरमा बस्दै आएका उनीहरुलाई वीरगन्जको एकीकृत भन्सार चौकी आईसिपी नाका भएर भारततर्फ पठाइएको हो। लकडाउनकै समयमा आफनो घर जान हिँडेका उनीहरु घर जान नपाई वीरगञ्जमै रोकिएका थिए।

मंगलबार वीरगञ्जको आइसिपी नाकाबाट भारतीय नागरिकहरुलाई पठाइएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिए।

यस्तै लकडाउनका कारण सिमावर्ती रक्सौलको क्वारेन्टाइनमा बसेका नेपालीहरुलाई बुधबार स्वदेश ल्याउने पनि बस्नेतले जानकारी दिए।

‘यहाँबाट २ सय १५ जना भारतीयहरुलाई उनीहरुको घर पठाइएको छ’, बस्नेतले भने,‘बुधबार उता रक्सौलमा रहेका नेपालीहरुलाई पनि स्वदेश ल्याइनेछ।’

वीरगन्जमा रहेको भारतीय महावाणिज्य दूतावासका वाणिज्यदुत नितेश कुमारको उपस्थितिमा भारत बिहार पूर्वी चम्पारण जिल्लाका डिएम सर्वत अशोक कपीलमार्फत आइसीपी नाका भएर ती भारतीयहरुलाई स्वदेश फिर्ता पठाइएको हो।

जेष्ठ ६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्