अम्पुन आँधीः भारत र बंगलादेशका तटीय क्षेत्रबाट मानिसहरुलाई सुरक्षित स्थानमा सारिँदै

भारत र बंगलादेशले बंगालको खाडीसँग नजिक रहेका समुद्री तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न थालेका छन् ।

बंगलाको खाडीमा बनेको चक्रबाती आँधी अम्पुन तटीय क्षेत्र तर्फ तीव्र गतिमा बढिरहेको छ । अम्पुन आँधी बुधबार भारत र बंगलादेशको सीमाको तटीय क्षेत्रमा जमिनमा ठोक्किने अनुमान छ ।

भारतीय अधिकारीका अनुसार तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा लैजानका लागि २० भन्दा बढी उद्धार तथा राहत समूह खटिइ सकेका छन् । यस्तै अरु केही समूह पनि तयारी अवस्थामा रहेको जनाइएको छ ।

भारत र बंगलादेश दुवैमा अहिले कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा छ । सोही कारण जोखिमयुक्त क्षेत्रका बासिन्दाको उद्धारमा कठिनाइ भएको छ ।

अम्पुन आँधी एक दशक यताकै सबैभन्दा ठूलो मध्येमा रहेको मौसमविदले बताएका छन् । यो आँधी जमिनमा ठोक्किँदा वायुको गति १८५ किलोमिटर प्रतिघण्टा हुने अनुमान छ ।

बंगलादेशका अधिकारीले अम्पुन आँधी सन् २००७ मा झण्डै ३५ सय मानिसको ज्यान लिएको सिद्र आँधीपछिको सबैभन्दा शक्तिशाली आँधी हुने बताएका छन् ।

भारतका पश्चिम बंगला उडिसासहितका क्षेत्रमा प्रभाव पर्ने देखिएको छ । बंगलादेशमा ढाकासम्मै प्रभाव पर्न सक्ने भनिएको छ ।

जेष्ठ ७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू