वातावरणमा लकडाउनको सकारात्मक प्रभाव

कारकाे प्रयाेग शून्य प्राय: हुँदा कार्बन उत्सर्जन दैनिक १७ प्रतिशतले कम

कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि विश्वका विभिन्न देशले प्रभावकारी रुपमा लकडाउन लागु गरेका बेला विश्वव्यापी रुपमा कार्बनडाइअक्साइडको उत्सर्जन १७ प्रतिशतले घटेको वैज्ञानिकहरुले बताएका छन् ।

लकडाउन र वातावरणमा परेको त्यसको प्रभावका सम्बन्धमा भएको अहिलेसम्मको विस्तृत अध्ययन प्रतिवेदन नेचर जर्नलमा प्रकाशित भएको छ ।

अध्ययन प्रतिवेदनका अनुसार लकडाउनका बेला कारको प्रयोग लगभग शून्य प्रायः रहेकाले कार्बन उत्सर्जन अत्याधिक मात्रामा कम भएको देखिएको छ ।

कार्बन उत्सर्जनमा आएको १७ प्रतिशतको कमी मध्ये झण्डै आधा कारको प्रयोग कम भएका कारण भएको देखिएको अनुसन्धानमा संलग्न वैज्ञानिकले बताएका छन् ।

तर युरोपका विभिन्न देशसहितमा लकडाउन खुकुलो पार्न थालिएसँगै कारको प्रयोग हुने भएकाले कार्बन उत्सर्जन फेरि वृद्धि हुने भन्दै वैज्ञानिकहरुले चिन्ता व्यक्त गरेका छन् ।

वैज्ञानिकहरुले कार्बन उत्सर्जन निकट भविष्यमा यसअघिको भन्दा निकै उच्च हुने भन्दै चिन्ता व्यक्त गरेका हुन् । उनीहरुले विश्वभरका राजनीतिज्ञहरुलाई कार्बन उत्सर्जन कम गर्नका लागि वास्तविक र दीर्घकालीन उपाय अपनाउनका लागि आग्रह गरेका छन् ।

उनीहरुले यातायातका साधन तथा व्यक्तिहरुको यात्राका लागि प्रयोग हुने साधनलाई वातावरण मैत्री बनाउनका आग्रह गरेका छन् ।

विश्वव्यापी कार्बन उत्सर्जनमा ९७ प्रतिशत हिस्सा ओगट्ने ६९ देशमा लागु भएको लकडाउनमा कार्बन उत्सर्जनको तथ्यांक विश्लेषण गर्दा लकडाउनको प्रभावकारी कार्यान्वयन भएका बेला उत्सर्जनमा १७ प्रतिशतले कमी आएको देखिएको हो ।

कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि कडा रुपमा लकडाउन लागु भएको अप्रिलको सुरु तिर दैनिक रुपमा कार्बन उत्सर्जन अघिल्लो वर्षको तुलनामा १७ प्रतिशतले कम भएको देखिएको हो । यसको अर्थत दैनिक रुपमा एक करोड ७० लाख टन कार्बन उत्सर्जन कम भएको हो।

यातायातका सावधनबाट हुने उत्सर्जनमा ४३ प्रतिशतले कमी आएको देखिएको वैज्ञानिकले बताएका छन् । यस्तै सोही अनुपातमा उद्योग र इन्धन उत्पादनबाट हुने उत्सर्जनमा कमी आएको देखिएको छ ।

जेष्ठ ७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू