हाम्रो आवाज पनि सुन्नुहोस्- १

ती मसिना आवाजहरू

मेरो नाम डा. लोकेन्द्र न्यौपाने हो। पेशाले म भेटेरिनरी डाक्टर हुँ। शारीरिक अवस्थामा हेर्नुपर्दा मेरो दुईटै कान एक्कासी बन्द हुन पुग्यो र म अहिले कान नसुन्न थालेको पनि ७ महिनाभन्दा बढी हुन थालिसक्यो।

सोही कारणले सुन्नलाई कक्लियारइम्पाल्ट नामको शल्यक्रिया गरेर अलिअली सुन्न सक्ने भएको छु तर अझै म आवाजहरु चिन्न सक्दिँन। यो कारणले मेरो पेसामा धेरै असर गरेको छ। पहिलाको जस्तो काममा त्यती आत्मबल आउने रहेनछ। त्यसका साथै अहिलेको जल्दोबल्दो अवस्थामा पनि म पीडित हुन पुगेको छु।

अहिले कोरोना संक्रमणको बेला मलाइ मेरो अपांगताले धेरै असर गरेको छ। वरिष्ठ डाक्टर, जनस्वास्थ्यकर्मी र यो सँग सरोकारवालाहरुले दिनुभएको सन्देश म सजिलै पाउन सक्दिँन। उहाँहरुको टेलिभिजनमा हुने अन्तर्वार्तामा के बोलिराख्नु भएको छ भन्ने म चाल पाउन सक्दिँन।

नेतागढहरुले माइकमा बोलेको आवाज पनि हामीलाई बुझ्न गाह्रो पर्छ। यदि सरकारले अहिलेको समयमा त्यस्तो समाचार र कुनै ठूलो महानुभावहरुको सन्देशहरुमा क्याप्सन राखेर प्रसारण गरेको भए हामी जस्ता सुस्तश्रवण मानिसहरुलाई राहत हुने थियो होला।

अहिलेको समयमा स्थानीय निकायले पनि कोरोनासँग सम्बन्धित समाचारहरु लिखित रुपमा कतै राखेको भए, लिखित रुपमा प्रचार गरिदिएको भएपनि हामीलाई सजिलो हुन्थ्यो होला।

म आफैँ डाक्टर भएको कारण अहिलेको समस्या अलिअलि भए पनि बुझ्न सक्छु। यो पेशामा आवद्ध सुस्तश्रवण मानिसहरुलाई यो स्थितिले हालको समयमा कति असर गरेको होला म सोच्न पनि सक्दिँन।

हामीले अहिले समाचार पाउने भनेकै अनलाइन न्यूजको लिखित रुपबाट हो। त्यसमा पनि कति सत्य नहुने रहेछन्। म आफै पनि कतिपटक त्यस्ता असत्य समाचारहरुको शिकार हुन पुगेको छु। कृपया अनलाइन्यूजहरुमा झुटको खेती नगरि दिनुहोला।

अहिलेको अवस्थामा तपाईँले लेखेका प्रत्येक कुरा हामी साचो मानिरहेका हुन्छौँ। हामीलाई शिकार नबनाइ दिनुहोला। सरकारले पनि छिट्टै हामी सुस्तश्रवणहरुको सूचनाको हकको लागि आवश्यक कदम चाल्न जरुरी छ।

सुस्तश्रवण कसैको पनि रहर हुँदैन, अनि कसलाइ कति बेला यो समस्या आइपर्छ थाहा पनि हुदैन, मात्र दुई सेकेन्डको काम हो। त्यसैले सरकार, मानवअधिकारवादी र अन्य संघसंस्थाहरुले सुस्तश्रवण भएका मानिसहरुको लागि आवश्यक नीति निर्माण गरी कार्यान्वयन गर्न जरुरी छ।

(लेखक श्रुति संस्थामा सदस्यको रुपमा आवद्ध हुनुहुन्छ र उहाँ श्रुतिको कार्यक्षेत्र चितवनमा पनि सुस्तश्रवणहरुको अधिकारको लागि पनि काम गर्दै आइरहनुभएको छ।)

जेष्ठ ७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्