प्रदेश १ मा कोरोना भाइरसः ८ जना डिस्चार्ज भए, ६ जना संक्रमित थपिए

विराटनगर – विराटनगरस्थित कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रबाट ८ जना संक्रमित सफल उपचारपछि डिस्चार्ज भएका छन्।

केन्द्रका जनस्वास्थ्य अधिकृत ज्ञानबहादुर बस्नेतका अनुसार बुधबार दिउँसो डिस्चार्ज हुनेमा पाँचजना भारतीय र तीनजना उदयपुर भुल्केका हुन्।

उनीहरुलाई गत वैशाख ५ गते उदयपुरको भुल्केबाट संक्रमणको पुष्टिसँगै केन्द्रमा भर्ना गरिएको थियो। डिस्चार्ज हुनेमा उदयपुरका ४६ वर्षीय मोहम्मद इद्रिस, ४० वर्षीय मोहम्मद सनौला र २८ वर्षीय मोहम्मद साविर रहेका छन्।

त्यसैगरी पाँचजनामा भुल्केको मस्जिदमा रहेका भारतीय जमाति ६६ वर्षीय मुस्ताकिन, मोहम्मद सईद, २५ वर्षीय मलिन खान, २२ वर्षीय सलमान खान, र १८ वर्षीय गुड्डु रहेको केन्द्रले जनाएको छ।

जनस्वास्थ्य अधिकृत बस्नेतका अनुसार डिस्चार्ज भएका पाँचजना भारतीयलाई विराटनगर महानगरपालिका १५ रानीस्थित मरकज क्वारेन्टाइनमा राखिनेछ।

त्यसैगरि उदयपुर भुल्केका तीनजनालाई भने घरनै पठाइएको बस्नेतले जानकारी दिए। कोभिड–१९ अस्पतालमा उपचारका लागि कोठा व्यवस्थापन र डिस्चार्ज गरेपछि पूर्णरुपमा कोठा सेनेटाइज गरी धनकुटाबाट आउने नयाँ संक्रमितलाई राख्ने केन्द्रले तयारी गरेको छ।

धनकुटाबाट थप ६ जना नयाँ संक्रमित राखिने तयारी भइसकेको चिकित्सक दीपक सिग्देलले जानकारी दिए।

बुधबार ८ जना डिस्चार्जसँगै अब केन्द्रमा २८ जना संक्रमित रहेकाछन्। उनीहरुको स्वास्थ्य अवस्था सामान्य नै रहेको डा. सिग्देलले बताएका छन्।

प्रदेश १ मा सफल उपचारपछि डिस्चार्ज हुने संक्रमितको संख्या २६ पुगेको छ। हालसम्म प्रदेशमा ५९ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

जेष्ठ ७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू