मैतीदेवी कोरोना संक्रमितका जुम्ल्याहा भाइ भन्छन्-दाइमा कुनै लक्षण देखिएको थिएन

तस्बिर: बर्षा शाह

काठमाडौँ- रामेछाप घर भइ हाल राजधानीको मैतीदेवीमा कोरोना संक्रमण पुष्टि भएका व्यक्तिमा कुनै लक्षण नदेखिएको उनका भाइले बताएका छन्। मैतीदेवी चाेक नजिकै यी दुई जुम्ल्याहा दाजुभाइ डेरामा बस्दै आएका थिए।

डेरामै क्वारेन्टाइनमा रहेका संक्रमितका भाइ भन्छन्- दाजुलाई कोरोना संक्रमणको कुनै लक्षण देखिएको थिएन।

तर उनले रिपोर्ट ढिलो आएकोमा भने गुनासो गरे। ‘हामीले जेठ २ गते परीक्षणका लागि थ्रोट स्वाब दिएका थियौँ। हामीलाई अस्पतालले नै तपाईँहरुलाई खबर गर्छौँ भनेको थियो। तर झन्डै चार दिनपछि हिजो (जेठ ६ गते) मात्र कोरोना संक्रमण भएको भनेर जानकारी गरायो। लामो समयसम्म खबर नआउँदा हामी ढुक्क भएका थियौँ’, उनी भन्छन्।

बुधबार बिहान ११ बजेमात्र संक्रमित युवकलाई लिन एम्बुलेन्स पुगेको थियो।

यी जुम्ल्याहा दाजुभाइ वैशाख ३० गते रामेछापस्थित घरबाट काठमाडौं आएका थिए। घरबेटीले बाहिरबाट आएकाले परीक्षण गर्नुपर्छ भनेपछि दाजुभाइले जेठ २ गते टेकुस्थित अस्पतालमा थ्रोट स्वाब दिएका थिए, पीसीआर परीक्षणका लागि।

‘लकडाउन अब खुकुलो होला भन्ने आशले दाजुभाइ घरबाट फर्किएका हौँ’, उनले भने।

देशव्यापी लकडाउन सुरु हुनुभन्दा अघिल्लो दिन चैत १० गते यी दुई दाजुभाइ रामेछाप पुगेका थिए। प्रहरीकाे सहयाेगमा वडा कार्यालयकाे अगुवाइमा मैतीदेवीस्थित संक्रमित युवक बस्ने घर र आसपासको क्षेत्रलाई सिल गरेको छ।

जेठ ७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्