सुदूपश्चिममा ३५ दिनयता थपिएका छैनन् नयाँ कोरोना संक्रमित, भारतबाट फर्केकाहरुबाट उच्च जोखिम

धनगढी– नेपालमा पछिल्ला केही दिनयता कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढेपनि सुदूरपश्चिम प्रदेशमा भने पछिल्लो ३५ दिनयता कोरोना भाइरस संक्रमित फेला परेका छैनन्।

संक्रमित फेला नपरे पनि कैलाली, कञ्चनपुर, दार्चुला, बैतडीसहित सिंगो सुदूरपश्चिम प्रदेश कोरोनाको उच्च जोखिममा रहेको छ।

सुदूरपश्चिम प्रदेशमा पाँच जना कोरोना संक्रमित देखिएकोमा सबै निको भएर घर फर्किसकेका छन्। सुदूरपश्चिम प्रदेशमा गत चैत १४ गते कोरोना भाइरस संक्रमणको पहिलो केस फेला परेको थियो।

दुबईबाट फर्किएका धनगढीका एक ३४ वर्षीय युवकमा कोरोना भाइरस पोजेटिभ रहेको पुष्टी भएको थियो। सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको उपचारका लागि सेती प्रादेशिक अस्पताललाई कोरोना डेडिकेटेड अस्पतालका रुपमा सञ्चालन गरिएको छ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार कोरोना भाइरसको आशंकामा बिरामीहरु आउने क्रम जारी रहेको छ। उनका अनुसार हालसम्म सेती प्रादेशिक अस्पतालमा ५६ जना शंकास्पद बिरामी रहेका छन्।

उनले भने, ‘अहिले यो अस्पतालमा कोरोना भाइरस पोजेटिभ पुष्टि भएका बिरामी भने छैनन्।’ उनले अहिले अस्पतालको आइसोलेसन वार्डमा तीन जना उपचारमा रहेको जानकारी दिए।

सुदूरपश्चिम प्रदेशबाट अरु जिल्लामा गएका मध्ये केही व्यक्तिमा भने कोरोना संक्रमण देखिएको छ। पछिल्लो एक सातामा कैलाली र कञ्चनपुर हुँदै अरु जिल्ला गएका तीन जनामा कोरोना संक्रमणको पुष्टि भइसकेको छ। महेन्द्रनगर, अत्तरिया हुँदै दैलेख गएका आठबीस नगरपालिका वडा नम्बर १ सात्तलाका ३५ वर्षीय युवामा सोमबार कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै कैलाली र कञ्चनपुरबाट अरु जिल्ला गएका व्यक्तिमा कोरोना पुष्टि हुनेको संख्या तीन पुगेको छ।

दैलेखको आठबीस, सात्तलामा कोरोना भाइरस पुष्टि भएका युवक भारतको आगरामा कोल्ड स्टोरमा काम गर्दै आएको बताइन्छ। उनी आगराबाट कोल्ड स्टोरको गाडीमा कञ्चनपुरको पश्चिमी भारतीय सीमानाका बनबासा आएका थिए। पश्चिमी सिमानाका बनबासामा ती युवालाई ३५ दिन क्वारेन्टाइनमा राखिएको थियो। त्यहाँबाट उद्दार गरेपछि उनलाई एक रात महेन्द्रनगरमा राखिएको र त्यहाँ आरडीटी टेस्ट गरिएको थियो।

यसअघि कैलालीबाट बर्दिया फर्किएकी ११ वर्षीया बालिका र कञ्चनपुरबाट काठमाडौं गएकी ३३ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो। बर्दियाकी कोरोना संक्रमित ११ वर्षीय बालिका कैलालीको गोदावरी र भजनी नगरपालिकामा ४२ दिन बसेर फर्किएकी थिइन्। उनको सम्पर्कमा आएका व्यक्तिको परीक्षण भइसकेको र सबैमा कोरोना संक्रमण नभएको पुष्टि भइसकेको छ।

त्यस्तै, कञ्चनपुरबाट काठमाडौँ गएकी कोरोना संक्रमित महिला कञ्चनपुरको बेदकोट नगरपालिकाकी भएको खुलेको थियो। उनको सम्पर्कमा आएका व्यक्तिहरुको पनि परीक्षण भइसकेको छ भने कसैमा पनि कोरोना पुष्टि भएको छैन।

पछिल्लो पटक सेती प्रादेशिक अस्पतालमा कोरोना आशंकामा भर्ना भएका कैलालीका पाँचै जनाको रिपोर्ट ‘नेगेटिभ’ आएको छ। अस्पतालका सूचना अधिकारी श्रेष्ठले कोरोना आशंकामा भर्ना भएका पाँचै जनाको धनगढी प्रयोगशालामा परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको बताए।

आइतबार कोरोना भाइरस संक्रमणको आशंकामा कैलालीका पाँच जना सेती प्रादेशिक अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका थिए। उनीहरु मध्ये गौरीगंगा नगरपालिकाका २९ वर्षीय पुरुषमा र्‍यापिड टेस्ट गर्दा एन्टीबडी देखाएको थियो।

त्यस्तै कोरोना जस्तै लक्षण देखिएपछि आइतबार नै कैलालीको कैलारी गाउँपालिका वडा नम्बर १ हसुलियाकी २७ वर्षीया महिला, धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का ३० वर्षीय पुरुष र उनकी २९ वर्षीया श्रीमती तथा धनगढी उपमहानगरपालिका वडा नम्बर १३ का ३० वर्षीय पुरुषलाई आइसोलेसनमा भर्ना गरिएको थियो। यस्तै, धनगढीमा मंगलबार परीक्षण गरिएका ९० जनाको थ्रोट स्वाबको नमूनाको नतिजा नेगेटिभ आएको छ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठका अनुसार कैलालीका ५४, बझाङका १३, बाजुराका तीन, दार्चुलाका पाँच, बाँकेका एक, कञ्चनपुरका चार जनाको थ्रोट स्वाबको नमूना परीक्षण गरिएकोमा सबैको नतिजा नेगेटिभ आएको आएको हो।

भारतबाट फर्किने नेपालीमा बढी जोखिम


भारतका विभिन्न स्थानबाट घर फर्किने क्रममा भारतका विभिन्न स्थानमा अझैं धेरै सुदूरपश्चिम प्रदेशका बासिन्दा अलपत्र अवस्थामा छन्। सरकारले केही चरणमा सिमावर्ती क्षेत्रमा रहेका नेपालीहरुलाई भित्र्याए पनि अझै सिमावर्ती क्षेत्र तथा अन्य स्थानमा नेपालीहरु अलपत्र अवस्थामा छन्।

जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार भारतको पलियाका विभिन्न स्थानमा बनाइएको क्वारेन्टाइनमा अहिले सात सय ११ जना नेपालीलाई क्वारेन्टाइनमा राखिएको छ। मंगलबार मात्र दुई सय ६६ जना नेपालीलाई भारत, पलियाको क्वारेन्टाइनमा राखिएको बताइएको छ।

कैलालीको धनगढीसँग जोडिएको भारतीय नाका गौरीफण्टा हुँदै नेपाल आउन खोज्ने नेपालीहरुलाई भारतको पलियामा बनाइएको क्वारेन्टाइनमा राखिने गरेको छ। हालसम्म नौ सय ९६ जनालाई पलियाका विभिन्न स्थानमा बनाइएका क्वारेन्टाइनमा राखिएको जिल्ला प्रशासन कार्यालय, कैलालीले जानकारी दिएको छ।

भारतीय प्रशासनले नेपाल फर्किने नेपालीहरुलाई नजिकका क्वारेन्टाइनमा राख्ने गरेको छ। तर, खुला सिमानाका कारण भारतबाट लुकिछिपी नेपाल भित्रिन क्रम रोकिएको छैन। बिना स्वास्थ्य परीक्षण लुकिछिपी भारतबाट नेपाल पस्नेहरुका कारण प्रदेशमा कोरोनाको जोखिम उच्च रहेको विज्ञहरु बताउँछन्।

सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले पछिल्लो भारतका विभिन्न स्थानबाट नेपाल भित्रिएका व्यक्तिहरुबाट कोरोनाको जोखिम बढेको बताए। उनले भने, ‘परीक्षणको दायरा नबढाउन्जेल सुदूरपश्चिमको जोखिमको मापन गर्न सकिँदैन।’

सुदूरपश्चिमकाे सामाजिक विकास मन्त्रालयका अनुसार मंगलबारसम्म पीसीआर र आरडीटी विधीबाट २२ हजार सात सय ६३ जनाको परीक्षण गरिएको छ।

हालसम्म तीन हजार नौ सय ८३ जनाको थ्रोट स्वाब नमुना संकलन गरिएको छ भने तीन हजार सात सय ४५ जनाको स्वाब नमुना जाँच गरिएको छ। जसमध्ये तीन हजार सात सय ४९ जनाको नमुना नेगेटिभ देखिएको छ। दुई सय ३८ जनाको रिपोर्ट आउन बाँकी रहेको मन्त्रालयले जनाएको छ।

हालसम्म १९ हजार ५९ जनाको आरडीटी परीक्षण गरिएकोमा १९ हजार २३ जनाको नतिजा नेगेटिभ आएको छ। आरडिटिबाट पोजेटिभ आएको २४ जनाको पिसिआर जाचका लागि पठाइएको छ।

प्रदेशका विभिन्न जिल्लाहरुमा एक हजार ६ सय ७९ जना क्वारेन्टाइनमा रहेको र १३ जना आइसोलेशनमा रहेको जनाइएको छ। जसमध्ये सेती प्रादेशिक अस्पतालमा तीन जना, टिकापुरमा चार, बझाङमा एक, डोटीमा एक, बाजुरामा तीन र डडेल्धुरामा अस्पतालमा एक जना आइसोलेशनमा छन्।

जेष्ठ ७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू