सनसनीपूर्ण शीर्षक र समाचार छाप्ने हतार

१. परिचय

मानिस सर्वश्रेष्ठ सामाजिक प्राणी हो। सामाजिक र विवेकशील प्राणी मानिए पनि ऊ सर्वथा स्वार्थरहित भने हुन सक्दैन अर्थात् उसमा कुनै न कुनै रूपमा आत्मोन्नति र स्वार्थको भावना रहेको हुन्छ। यसैले मानव व्यवहारलाई नियन्त्रण, नियमन, निर्देशन र सञ्चालन गर्नका लागि राज्यले कानुन निर्माण गरेको हुन्छ। कानुनले सार्वभौम राष्ट्रका नागरिकलाई अधिकार र कर्तव्यसम्बन्धी स्पष्ट खाका दिएको हुन्छ। यसरी राज्यको कानुनले नगर्नु भनेको कार्य गर्नु र गर्नु भनेको कार्य नगर्नुलाई अपराध मानिन्छ। देवानी र फौजदारीमध्ये फौजदारी अपराधको असर पीडक र पीडितमा मात्र सीमित नभई समाज र राज्यसंयन्त्रका अन्य अङ्गमा समेत पर्ने भएकाले र सामाजिक स्थिति, सन्तुलन र एकतामा गम्भीर असर पार्ने भएकाले यस्ता अपराधको अनुसन्धान, अभियोजन र नियन्त्रण राज्यपक्षले नै गर्ने गरेको पाइन्छ। प्रत्यक्षरूपमा पीडक र पीडित संलग्न हुने भए पनि चोरी, लुटपाट, हत्या, आत्महत्या, बलात्कार, भ्रष्टाचार, अपहरणजस्ता घटनाले समाजको मनोविज्ञानलाई कमजोर बनाई समाजका सदस्यहरूलाई असुरक्षित भएको महसुस गराउँदछ, जसका कारण समाजमा अमनचयन, विधिको शासन, सुशासन, आत्मविश्वास र स्वतन्त्रताका अनुभव हुन पाउँदैन र समाज पलायन र अविकासको भुँवरीमा फस्न थाल्दछ। समाजलाई सुरक्षित, सुगठित एवम् सुशासित राख्ने सन्दर्भमा राज्यका तीन अङ्ग कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको प्रत्यक्ष एवम् अहम् भूमिका रहे पनि अप्रत्यक्ष रूपमा चौथो अङ्ग पत्रकारिता हरेक कोण, क्षेत्र र समयमा सशक्त र प्रभावकारी माध्यम बनेको हुन्छ। यसैले आपराधिक घटनाको न्यूनीकरणका सन्दर्भमा सञ्चार माध्यमको अहम् भूमिकालाई नकार्न सकिँदैन।

सामान्यतया सञ्चारका माध्यमहरूले समाचार वा घटनाको यथार्थ प्रसारणलाई जोड दिनुपर्दछ। यथार्थ सूचना प्रवाह गर्ने सञ्चारगृहप्रति नै जनआस्था रहने हुँदा हरेक राजनीतिक, आर्थिक एवम् सामाजिक परिवर्तनमा यस्ता माध्यमहरू सहयात्रीसमेत बन्ने गरेका छन्। स्वतन्त्रताका नाममा स्वेच्छाचारिता हावी नहोओस् भन्ने उद्देश्यले सञ्चार माध्यमलाई पनि सुशासित, पारदर्शी साथै राज्य र समाजप्रति उत्तरदायी बनाइएको हुन्छ। सत्य–तथ्य र सन्तुलित समाचार सम्प्रेषण गर्ने सन्दर्भमा व्यक्तिगत गोपनीयता, मानवाधिकारको संरक्षण, राष्ट्रिय एवम् सामाजिक अखण्डता कायम राख्दै पेसागत मर्यादा पालन गराउन आचार संहिता लागु गरी पत्रकारहरूलाई चरित्रवान् र सदाचारीसमेत बनाउने प्रयास हरेक शिष्ट र सार्वभौम राज्यमा गरिएको देखिन्छ। आपराधिक घटनाको प्रभाव निकै संवेदनशील विषय भएकाले अपराध घटनाको समाचार सम्प्रेषणपूर्व यस्ता घटनाको मनोसामाजिक प्रभाव कस्तो पर्दछ भन्ने विषयमा गम्भीर सावधानी अपनाउनुपर्दछ अन्यथा स्वच्छ पत्रकारिताका नाममा घटनाका सबै यथार्थ कुरा छताछुल्ल पारिदिँदा अपराध घटनाले भन्दा प्रसारित समाचारले समाजलाई आतङ्कित पार्ने तथा अशान्ति र पीडा दिने सम्भावना बढ्दछ। यसैले प्रसारित समाचारले जनमानसमा पार्ने प्रभावको समाचार प्रसारणपूर्व अध्ययन गरिनु आवश्यक हुन्छ।

२. आपराधिक घटनाको समाचार सम्प्रेषण

केही सञ्चार माध्यमहरू शीर्षक वा पुरै कथालाई सनसनीपूर्ण बनाउन र आफू पहिलो प्रसारक बन्ने ध्येयमा लाग्दा पीडितलाई क्षतिपूर्ति एवम् पीडकलाई अपराधी घोषणा गरी दण्ड जरिवाना गर्ने स्वतन्त्र न्यायिक निकाय छ भन्ने बिर्सेर राज्यका सबै अङ्गको भूमिका आफैले निर्वाह गर्ने भाव पार्ने गरी समाचार पस्किने हतारो गरेको देखिन्छ। फलानो स्कुलको यति कक्षामा पढ्ने नाम परिवर्तन गरिएकी फलानीलाई बलात्कार गर्ने उनकै बाबु फलानो पक्राउ पर्‍यो भनेर समाचार दिएपछि बालिकालाई सामाजिक र मानसिक रूपमा नङ्ग्याउन के नै बाँकी रहन्छ र? अनि पीडितको नाम गोप्य राख्नुको कुनै अर्थ रहन्छ र? हो, अपराधीलाई दण्ड दिलाउन सहयोग गर्नु हरेक सचेत नागरिक तथा राज्यको चौथो अङ्ग पत्रकारिताको कर्तव्य हो तर पीडितलाई बेवास्ता गरेर कानुनी, सामाजिक र नैतिक रूपमा न्याय नदिई पीडकका कथाहरू मात्र रट्नु कुनै पनि दृष्टिले न्यायपूर्ण हुन सक्दैन। अदालतले अपराधी भनी घोषणा गर्नुपूर्व व्यक्ति अभियुक्त मात्र हुन्छ, भलै उसले प्रहरीसामु साबिती बयान नै किन नदियोस् तर घटनामा संलग्न भएको भनी न्यायिक प्रक्रिया टुङ्गोमा पुग्नुभन्दा पहिले प्रहरीले अपराधीका रूपमा सार्वजनिक गर्ने अनि पत्रकारले जस्ताको तस्तै समाचार सम्प्रेषण गर्ने हो भने अभियुक्त न्यायिक निरूपणका सन्दर्भमा निर्दोष प्रमाणित भए उसको गुमेको प्रतिष्ठा, आत्मसम्मान र मानसिक चोटको क्षतिपूर्ति कसरी सम्भव होला ? बलात्कार, चोरी, हत्या र आत्महत्याका घटनाको समाचार प्रसारण गर्नुको उद्देश्य समाजमा यस्ता घटना दोहोरिन पनि सक्दछन् भन्ने कुरामा समाजलाई सजग बनाई यस्ता घटना रोक्न पूर्वसावधानी अपनाउन प्रेरित गर्नु हो। धेरै हदसम्म समाजलाई सजग र सचेत पनि पारेको अवस्था छ तर अपराधक्रियाको सम्पूर्ण नालीबेली रोचक पारामा प्रस्तुत गर्दा बालबालिका तथा समाजका अन्य सदस्यले पनि यस्ता घटनाबाट बच्नुपर्दछ भन्ने बोध गर्नुका विपरीत अपराध प्रक्रियाको नकारात्मक प्रभावस्वरूप आपराधिक क्रियाका लागि उत्प्रेरित हुने एवम् सोही अनुरूपको सिकाइसमेत हुने गरेको देखिन्छ। कसैले आत्महत्या गर्नासाथ आत्महत्याका बहुल कारणहरूप्रति आँखा चिम्लेर अंशतः सम्बद्ध वा असम्बद्ध विषयसँग जोडी ‘ऋणका कारण आत्महत्या वा प्रेममा धोका पाएपछि आत्महत्या’जस्ता शीर्षकमा समाचार प्रसारित गरिँदा यस्तै अस्थामा पुगेका समाजका अन्य व्यक्तिमा बाँच्नका लागि सङ्घर्ष गर्नेभन्दा काममा असफल भए अन्तिम उपाय आत्महत्या भन्ने भावनाले जरो गाड्ने सम्भावना रहन्छ। कमजोर मानसिकता भएको व्यक्तिलाई त झन अपराध र आत्महत्याका समाचारले आत्महत्या गर्न कुत्कुत्याउने समेत गरेको हुन्छ। समाजको प्रतिष्ठित व्यक्तिले आत्महत्या गरेका घटना प्रसारण गर्दा उसलाई आदर्श वा मोडल मानेका व्यक्तिमा प्रत्यक्षतः नकारात्मक असर पार्दछ। कन्भर्जन डिसअर्डरका कारण किशोरकिशोरीहरू मूच्र्छा पर्ने घटनामा मिडियाले ‘अज्ञात रोगका कारण’ भनिदिँदा महामारी वा अन्य विपत्तिको आशङ्काले ठूलो समूहलाई आतङ्कित पार्दछ। खास गरी दैवी विपत्तिका बेला सर्वसाधारणको मानसिकता कमजोर भएको हुन्छ, यतिखेर भविष्यवक्ता वा विशेषज्ञका नाममा जोसुकैको विचारलाई महत्त्व दिएर प्रसारण गरिदिँदा जनमानसमा अनावश्यक स्ट्रेस र फोबिया देखिन थाल्दछ। यस्ता विषयमा समाचार प्रसारण गर्नुपूर्व तत्तत् क्षेत्रका विज्ञसँग परामर्श गर्ने तथा समस्याको अभिव्यक्तिका साथसाथै समाधानका उपाय पनि सम्भव छन् भन्ने आशावादी सन्देशयुक्त समाचार प्रस्तुत हुनुपर्दछ। बलात्कारजन्य घटनाको समाचार प्रस्तुतिमा घटनाको सुरुवातदेखि अन्त्यसम्मका सबै विवरण प्रस्तुत नगरी मानवीय संवेदनाको ख्याल गरी अभियुक्तका कार्य खराब हुन् भन्ने विषयलाई प्राथमिकता दिनुपर्ने देखिन्छ।

समाचारको अतिशयोक्तिपूर्ण र प्रभावको विश्लेषणबिना जस्ताको तस्तै यथार्थ सम्प्रेषणले व्यक्तिमा त्रास वा एन्जाइटी, स्ट्रेस, निरीहता, उदासीनता वा डिप्रेसन, व्यक्तित्व विघटन, पोस्ट टर्म्याटिक स्ट्रेस डिसअर्डर, प्रतिशोधी मनोवृत्ति, हीनताबोध, सब्सटेन्स डिपेन्डेन्सी एवम् साइकोसिस र सुसाइडल टेन्डेन्सी समेत देखिने गरेको छ।

२.१ समाचारको सामाजिक प्रभाव

समाज व्यक्ति–व्यक्तिको सम्बन्धको जालो हो। यस जालोमा हरेक व्यक्ति र उसका क्रियाकलापले अन्य व्यक्तिमा प्रभाव पार्दछन्। अर्थात् व्यक्ति समाजबाट प्रभावित हुन्छ भने समाजले व्यक्तिलाई चिन्तनगत र आचरणगत र कार्यगत परिमार्जन र संस्कारका लागि उत्प्रेरित गरिरहेको हुन्छ। सामाजिक घटना र परिघटनाले समाचारका माध्यममा के कस्तो स्थान पाउँछन् र ती क्रियाकलापप्रतिको सामाजिक प्रतिक्रिया कस्तो रहन्छ भन्ने विषयले समाजका प्रत्येक घटकमा प्रत्यक्ष–अप्रत्यक्ष प्रभाव पारेको हुन्छ। वैदेशिक रोजगार, सम्बन्धविच्छेद, सामाजिक प्रथा र परम्पराप्रतिको मिडिया जगत्‌को दृष्टिकोणले समाजलाई दिशानिर्देश गर्ने कुरामा दुईमत हुन सकिँदैन। यसैले समाचारमा महत्त्व दिइने पक्ष र निरुत्साहन गर्न खोजिएको विषयले वास्तवमै अर्थ राखेका हुन्छन्। यस सन्दर्भमा समाचार पस्किने बेला समाचारको यथार्थ र केही हदसम्म फोहोर यथार्थ छताछुल्ल पार्दैमा समाज सच्चिएर सही कार्यमा जान्छ भन्ने विश्वास गर्न सकिन्न। यसैले आपराधिक प्रकृतिका घटनाको सविस्तार वर्णन गर्दैमा पत्रकारको अभिभारा पूरा भएको मान्न सकिँदैन। सबै व्यक्तिले सधैं असल पात्र र व्यवहारबाट मात्र नसिकेर खराब पक्षबाट समेत प्रभाव र प्रेरणा लिने भएकाले सामाजिक दायित्वलाई आत्मसात गरी अपराध निरूत्साहन गर्ने सन्देशयुक्त अंशमात्र प्रसारण गर्नु उपयुक्त हुन्छ। मूलधारका सञ्चार माध्यमहरू यस विषयमा धेरै हदसम्म सावधान देखिए पनि वर्तमान परिप्रेक्ष्यमा तातै र छिटै प्रभाव पार्ने अनलाइन मिडियामा मात्र लाइक बढाउने प्रलोभनमा शीर्षक एउटा, घटना अर्कै र फोटो वा भिडियो नितान्त बेग्लै राखी सङ्गतिविहीन समाचार समेत प्रसारित भइरहेका छन्। यस्ता मिडियाहरूको नियमन एवम् आचार संहिताको अक्षरशः पालनामा प्रेस काउन्सिल सशक्त बन्नुपर्ने देखिन्छ। समाजमा निरीहता, असुरक्षा, उत्तेजना र घृणा फैलाउने प्रकृतिका समाचारले मनोसामाजिक प्रदूषण बढाउने भएकाले राज्यको जिम्मेवार निकाय प्रेसजगत् मनोसामाजिक प्रदूषणमुक्त समाज निर्माणका लागि अग्रसर हुनुपर्ने अवस्था देखिन्छ।

२.२ समाचारको मानसिक प्रभाव

समाचारको अतिशयोक्तिपूर्ण र प्रभावको विश्लेषणबिना जस्ताको तस्तै यथार्थ सम्प्रेषणले व्यक्तिमा त्रास वा एन्जाइटी, स्ट्रेस, निरीहता, उदासीनता वा डिप्रेसन, व्यक्तित्व विघटन, पोस्ट टर्म्याटिक स्ट्रेस डिसअर्डर, प्रतिशोधी मनोवृत्ति, हीनताबोध, सब्सटेन्स डिपेन्डेन्सी एवम् साइकोसिस र सुसाइडल टेन्डेन्सी समेत देखिने गरेको छ। क्षतविक्षत चित्र, भिडियो, अशिष्ट र उत्तेजित अभिव्यक्ति, त्रासद र भय सिर्जना गर्ने किसिमको सूचनाको सम्प्रेषणले समाजमा मनोरोगीको सङ्ख्या बढ्दै जाने र अपराधजनित घटनाले प्रश्रयसमेत पाउने भएकाले घटनाको प्रस्तुतिमात्र पत्रकारको धर्म नमानेर समाज र राज्यप्रतिको दायित्वबोध सहित विशेषतः अपराध घटनाको सम्प्रेषणले पार्ने मानसिक प्रभावका विषयमा मिडियाजगत् निकै संवेदनशील बन्नुपर्दछ। पत्रकार आचारसंहिता २०७३को पहिलो संशोधन २०७६ले बीभत्स दृश्य र तस्बिर प्रकाशन र प्रसारणमा रोक लगाउनुका साथै हिंसा, आतङ्क, अश्लीलता र अपराधलाई प्रश्रय हुने काम पत्रकार तथा सञ्चार माध्यमले गर्नै नहुने भनी किटानी गरिदिएको छ। यस प्रावधानको मनसायलाई आत्मसात गरी समाचारले पीडित व्यक्ति वा पक्षलाई थप पीडा हुने गरी समाचार प्रसारण नगर्ने तथा महिला, बालबालिका र ज्येष्ठ नागरिकका विषयमा समाचार सामग्री सम्प्रेषण गर्दा तत्तत् वर्गको मानसिक संवेदनशीलतालाई केन्द्रमा राख्नुपर्दछ। सामाजिक सञ्जाल र अनलाइन पत्रिकामा फोटो तथा दृश्यको गलत प्रयोग बढ्दै जानु समग्र पत्रकारिता जगत्को प्रतिष्ठा विपरीतको कार्य भएकाले सम्पूर्ण सञ्चारगृह एवम् स्वतन्त्र पत्रकारसमेत प्रेसप्रतिको जनआस्था जोगाउन र यस क्षेत्रलाई कलङ्कित हुनबाट बचाउन त्यस्ता कामलाई निरूत्साहन गर्ने दिशामा अग्रसर हुनुपर्ने देखिन्छ।

३. निष्कर्ष

पत्रकार आचार संहितामा उल्लेख भएका विषयको भौतिक पक्षलाई मात्र आत्मसात नगरेर विभिन्न दफामा सङ्केत गरिएका मनोसामाजिक पक्षको मनसायलाई हृदयङ्गम गरी सामाजिक मर्यादा तथा मानसिक प्रभावको मूल्याङ्कन गरी सन्तुलित समाचार प्रवाह गरेमा मात्र सामाजिक सुव्यवस्था मजबुत बन्दछ। समाचारमा नाम आएका कारण वा घटनामा असंलग्न हुँदाहुँदै पनि सञ्चार माध्यममा संलग्नताका कुरा प्रसारित भई सोही घटनाको मानसिक प्रतिक्रियास्वरूप वैयक्तिक र पारिवारिक जीवन ध्वस्त हुनु वा व्यक्ति हत्या वा आत्महत्यासम्मको अवस्थामा पुग्नु कुनै पनि दृष्टिबाट सही मान्न सकिँदैन। यस अर्थमा समाचारको बाह्य, स्पश्र्य र दृश्य विषयलाई मात्र ध्यान नदिई हरेक समाचारको मानसिक तथा सामाजिक प्रभावका बारेमा हरेक सञ्चारगृह तथा सञ्चारकर्मी अति संवेदनशील बन्नुपर्दछ अनि मात्र पत्रकारिता सामाजिक सङ्गति र परिवर्तनको वाहक एवम् विसङ्गति र विकृतिको असरस्वरूप पीडामा परेका समुदायको चोटमा मलम तथा समाजको तेस्रो आँखाका रूपमा प्रतिष्ठित बन्नेछ।

(भुसाल मनोवैज्ञानिक परामर्शदाता हुन्।)

जेठ ७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्