अम्पुन आँधी कोलकातानजिक आइपुग्यो, उडिसामा भवन भत्किँदा एक बालिकाको ज्‍यान गयो

एजेन्सी- बंगालको खाडीबाट अगाडि बढ्दै आइरहेको अम्पुन आँधीको प्रभाव भारतको उडिसामा देखिएको छ।

अम्पुन आँधीका कारण उडिसामा एक भवन भत्किएर एकजना बालिकाको ज्‍यान गएको छ।

मौसमविदका अनुसार उक्त चक्रवात आँधी सुन्दरवन पुगिसकेको छ भने त्यहाँबाट उत्तर पश्‍चिमको दिशामा अगाडि बढिरहेको छ। पूर्वतर्फ आँधी कोलकातासम्म पुगेको   छ।

करीब २ किलोमिटर प्रतिघण्टाको रफ्तारमा उत्तरतर्फ अगाडि बढिरहेको अम्पुन आँधी बुधबार ११ बजे कोलकाताभन्दा ३ सय किलोमिटर दक्षिणपूर्वमा रहेको भारतीय सञ्‍चार माध्‍यमले जनाएका छन्।


यता, अम्पुनको प्रभाव नेपालको पूर्वी क्षेत्रमा बढी पर्ने देखिएको छ। यसका कारण सामान्यदेखि पूर्ण बदली हुने र हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

विशेष गरी बुधबार राति अम्पुनको प्रभावका कारण प्रदेश १ र २ तथा बागमती प्रदेशका काठमाडौँसहितका क्षेत्रमा मेघगर्जन र चट्याङ्ग तथा हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसमविदले कँडेलले जानकारी दिइन् ।

अम्पुनका कारण नेपालमा भीषण वर्षाको सम्भावना नरहे पनि चट्याङ्ग तथा हावाहुरीबाट जोगिनका लागि सावधानी अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

अम्पुनको प्रभाव गण्डकी प्रदेशमा केही परे पनि कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने नपर्ने मौसमविदले बताएका छन्।

जेष्ठ ७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू