गाविस सचिव अर्यालविरुद्ध १८ करोड भ्रष्टाचार गरेको अभियोगमा मुद्दा

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाविस सचिव पदबाट सेवा प्रवेश गरी शाखा अधिकृतबाट अवकाश पाएका ऋषिराम अर्यालविरुद्ध १७ करोड ८३ लाख ४१ हजार अवैध आम्दानी गरेको दाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अर्याल २०३९ साउन १ गते जिल्ला विकास समितिको कार्यालय स्याङ्जाबाट नासु पदमा गाविस सचिवका सरकारी सेवामा प्रवेश गरी आर्थिक वर्ष २०७५/७६ मा टोखा नगरपालिकाको प्रशासकीय अधिकृतबाट अवकाश पाएका थिए।

३६ वर्षे जागिर अवधिमा उनले २६ करोड ६० लाख ६९ हजार ६३ खर्च तथा लगानी गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

सो अवधिमा उनको र परिवारका सदस्यहरुको वैध आम्दानी भने जम्मा आठ करोड ७७ लाख २७ हजार चार सय ८३ रुपैयाँ मात्र आर्जन गरेको देखिएको छ। उनले पदमा रहँदा १७ करोड ८३ लाख ४१ हजार पाँच सय ७९ रुपैयाँ भने अवैध तरिका आर्जन गरेको अनुसन्धानबाट पाइएको प्रवक्ता कोइरालाले जानकारी दिए।

उनी लामो समय काठमाडौँका धापासी, टोखा सरस्वती, भिमढुंगा गाविसमा सचिवका रुपमा कार्यरत रहेका थिए। अर्यालले अवैध आम्दानीबाट खरिद गरेका अधिकांश जग्गाहरु पनि तीनै गाविस आसपासमा रहेको अनुसन्धानबाट खुलेको आयोगका प्रवक्ता कोइरालाले जानकारी दिए। आयोगले श्रीमती लक्ष्मीदेवी र छोराहरु सुशिल, सुनिल अर्यालसमेतलाई सम्पत्तिहरु जफत प्रयोजनार्थ प्रतिवादी बनाएको छ।

कहाँ–कहाँ छ अर्याल र उनको परिवारको लगानी?


ऋषिराम अर्याल तथा निजकी श्रीमती लक्ष्मीदेवी उपाध्याय अर्यालको नाममा दर्ता कायम रहने गरी घर तथा जग्गा खरिदमा पाँच करोड ४४ लाख ५ हजार, घर निर्माणमा ४१ लाख १० हजार चार सय, पुँजीगत लाभ तथा आयकर चार लाख ९६ हजार, विभिन्न बैंक तथा वित्तीय संस्था एवं कम्पनीहरुका साधारण तथा संस्थापक शेयर खरिदमा लगानी नौ करोड १३ लाख ७ हजार एक सय रहेको छ।

त्यस्तै विभिन्न बचत तथा सहकारी संस्थाहरुमा भए गरेको लगानी दुई लाख ५० हजार, छोराछोरीहरुको अध्ययनमा २० लाख ३२ हजार तीन सय, छोराछोरीहरुको विवाहमा २८ लाख, जीवन बीमा वापतको प्रिमियम शुल्कमा चार लाख १० हजार, विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट लिएका कर्जा चुक्तामा एक करोड ७६ लाख ४६ हजार, न्यू लिङ्क कापी उद्योग र एलडिइन्टरप्राइजेज फर्मसमेतमा लगानी चार करोड ४२ लाख ५० हजार, सवारी साधनमा १२ लाख, सुनमा चार लाख, दान र सरसापटी व्यवहारमा चार करोड ५० लाख ३३ हजार र बैंक खाताहरुमा मौज्दात १५ लाख ७६ हजार सात रहेको छ।

परिवारसहितको आम्दानी कति?


आयोगका अनुसार अर्यालले पदमा रहँदा र छोरा सुशिल अर्यालसमेतको तलब पारिश्रमिक बचत आयबाट ५८ लाख ७५ हजार पाँच सय, अवकाश पश्चात प्राप्त सुविधा बापत १९ लाख ३० हजार सात सय, विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा तथा सापटी आय तीन करोड ९० लाख ६३ हजार, शुरु खरिद तथा प्रारम्भिक लगानीको स्रोत खुलेको जग्गा बिक्रीबाट ६८ लाख ५३ हजार चार सय, निवृत्तिभरण आय ६ करोड ७९ लाख तीन सय, विप्रेषण आय १७ लाख ९१ हजार रहेको छ।

त्यस्तै अर्यालकी पत्नी लक्ष्मीदेवीको एकल स्वामित्वमा लगानी गरी संचालित एल.डि.इन्टरप्राइजेज फर्मबाट २५ लाख ६२ हजार आठ सय, एक लाख सात हजार, विभिन्न बैंक तथा वित्तीय संस्था एवं कम्पनीहरुका खरिद साधारण तथा संस्थापक शेयरहरु ४१ लाख ४५ हजार पाँच सय र सरसापटी व्यवहार आएको दुई करोड ४७ लाख १७ हजार रहेको आयोगले जनाएको छ।

अर्यालले १७ करोड ८३ लाख ४१ हजार ५ सय ७९ रुपैयाँ बराबरको सम्पत्ति गैरकानूनी रुपमा आर्जन गरेको पुष्टि भएको भन्दै आयोग बुधबार त्यति नै रकम बिगो कायम गरी विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो।

अभियोग पत्रमा आयोगसँग भएको अवैध सम्पत्ति जफल गर्नुपर्ने र जेल सजाय माग गरिएको छ।

जेष्ठ ७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्