अब दयाको भिख होइन, अधिकारको लडाइँ

हुर्कँदै गर्दा बा–आमाबाट सिकेको थिएँ, आफूभन्दा सानालाई माया र ठूलालाई सम्मान। यो मेरो मात्र कुरा होइन। नेपाली घरघरमा पढाइने संस्कार हो र हामी नेपाली यही संस्कारमा हुर्कँदै आएका छौँ।

समय बित्दै जाँदा दया, माया, करुणा जस्ता शब्दहरु सुनियो र पढियो। कतिपय ठाउँमा यी शब्दलाई समानार्थी शब्दका रुपमा दुरुपयोग भएको भेटेँ। दुरुपयोग यो अर्थमा कि यी शब्दमा धेरै भिन्नता रहेको जानकारी मिल्दै गयो।

अंग्रेजी साहित्यमा एम.ए. गर्दैगर्दा एउटा दार्शनिक फ्रेडेरिक नित्सेसँग भेट भयो उनको पुस्तक मार्फत। भेट भयो किनकि पाठकको चेतनाको रुपमा मैले उनको चेतनामा प्रवेश गरेँ। त्यतिबेला थोरै पढियो, थोरै जानियो। तर बेलाबेला उनका दयासम्बन्धी तर्कले मलाई तानिरह्यो। पेटको दासताले खोतलेर पढ्ने समयलाई चुनौती दियो। मनको कुनै कुनामा उनका कुरा केही समय निष्क्रिय बसे।

जीवनको अट्ठाइसौँ वसन्तमा हिँड्दै गर्दा अहंकारको ज्वाला बिस्तारै निभ्दो थियो। अध्यात्मको रहररुपी छाल मस्तिष्कमा उर्लिरहेका थिए। त्यसैबखत एकजना साथीसँग अध्यात्मको जानकारी लिन एउटा आश्रम पुगेँ। भित्र छिर्न लाग्दा एउटा भक्त बोले, ‘दयाको सागरमा स्वागत छ।’ भित्र पसेपछि आँखा एउटा भित्तामा बज्रियो जहाँ लेखिएको थियो, ‘दयाका सागर प्रभु।‘ मुस्किलले ३–४ घण्टा बिताएर फर्कियौँ।

त्यहाँबाट फर्किएको रात राम्रोसँग निदाउन सकिन। मनमा कुरा मडारिन थाले, प्रभुहरु दयाका सागर हुन् वा करुणाका? अध्यात्मका दर्शन पनि हामीले भारतीय गुरुसँग लिनुपर्ने? नेपालमा अध्यात्मका गुरुहरु छैनन्? भकुण्डो उफ्रिएझैँ विचार उफ्रिरहे। बिचारका यी उफ्राइले मलाई दया र करुणाको दर्शन खोज्न प्रेरित गर्‍यो। मेरो मनले भन्यो, ‘दया कहिल्यै सागर हुन सक्दैन। यो त आहाल हो जहाँ पशुहरु पौडी खेल्छन्।’

यो घटनाले दया र करुणा सम्बधि दर्शनको यात्रा शुरु भयो। यस आलेखको मुख्य उद्देश्य दयाका केही पक्षको उत्खनन गर्नु भएकाले करुणाको कुरामा जोड दिएको छैन। दयाका दर्शनलाई विश्वराजनीति र नेपाल, भारत समबन्धमा केलाउने प्रयास गरेकोछु । दयाको उत्खनन क्रममा भागवत गीता, फ्रेडेरिक नित्सेको ‘डेब्रेक’ भन्ने पुस्तकमा व्यक्त दयाको धारणा र स्टेफनवेगको उपन्यास ‘बिअवर अफ पिटी’ मा रहेको दयाको दार्शनिक पाटोलाई सन्दर्भको रुपमा ल्याएको छु।

भागवत गीताको दोस्रो अध्यायमा संजयले बोलेको प्रथम श्लोकबाट हामीले थाहा पाउँछौ, युद्ध भूमिमा अर्जुन दयाले अभिभूत भएका छन्। उनी दया, आँसु र पिडाले भरिएका छन्। यसरी दयाले अभिभूत हुनुको कारण हामीले पहिलो अध्यायमा भेट्छौँ। आफ्ना नातागोता, दाजुभाइ, साथिसंगी, गुरुहरु, हजुरवा, काका आदिलाई मार्नुभन्दा जंगल पस्नु उत्तम लाग्छ अर्जुनलाई। उनी आफ्ना भन्ने सारालाई मारेर राज्य गर्न चाहदैँनन्।

अर्जुनको युद्ध नगर्ने कारण झट्ट हेर्दा, पढ्दा र सुन्दा उनी करुणाका प्रतिमूर्ति हुन कि जस्तो लाग्छ तर गहिराइमा जाँदा उनी दयाको शिकार भएको भेटिन्छ। उनी भन्छन्, ‘हे मधुसुदन! यिनीहरु हामीलाई मार्न भनी लडाईँको मैदानमा खडा छन् तापनि यो पृथ्वी लोकको राज्य पाइन्छ भन्ने मात्रको के कुरा, तीनै लोकको राज्य पाइने भएपनि म यी बान्धवहरुलाई मार्न चाहन्न।’

दया देखाउनु भनेको अपहेलनाको प्रस्ताव गर्नु जत्तिकै हो। हामीलाई भारतले मित्रवत व्यवहार कहिल्यै गरेको छैन। उसले केवल हामीलाई दया देखाउँछ र हामी त्यसैलाई माया भनफ बसेका छौँ। यही माया हाम्रो भ्रम बनिबसेको छ।

अर्जुन कहिले कौरवलाई दयाको भावमा हेर्छन्, कौरवलाई दयाको पात्र देख्छन् त कहिले आफू दयाको पात्र बन्न खोज्छन्। यही दया भाव र दयाको पात्रको दोसाँधमा अर्जुनको बिषाद उत्पन्न भएको छ। भनिन्छ- गीता अर्जुनलाई दयाको यही बिषाद र आसक्तिबाट निकालेर कर्मको बाटो देखाउने एक मनोविज्ञान हो।

नेपालका शासक अहिले बिषादमा बेरिएका अर्जुन जस्ता भएका छन्। उनीहरुलाई लाग्छ नेपाल–भारत सम्बन्ध रोटी–बेटीको सम्बन्ध हो। यो सम्बन्ध हजारौँ वर्षदेखिको सांस्कृतिक सम्बन्ध हो र यसलाई बिथोल्नु हुँदैन। यदि यो मानसिकता तोड्न नसक्ने हो भने भारतले नेपाललाई दयाको पात्र बनाइ नै राख्छ। शासकको दयाको पात्र बन्ने निरीहता नेपाली नागरिकलाई कदापि स्वीकार्य छैन। नेपाल भारतको दया होइन, यो वीरताले आर्जेको र जोगाएर राखेको पुर्खाको पौरख हो। यो पौरखमा आहाल खेल्ने अधिकार कसैलाई पनि छैन।

हामीले हेक्का राख्नुपर्छ, महाभारत युद्ध एउटै खलकको लडाइँ थियो। यो लडाइँ अधर्मको बिरुद्धको लडाइँ थियो। जब अधर्मको कुरा आउँछ, रोटी–बेटी र साँस्कृतिक सम्बन्धको रटानले के अर्थ राख्छ? भारत नेपाल र अन्य छिमेकी मुलुकको लागि कौरब हो। नरेन्द्रनाथ मोदी र यिनको सरकार धृतराष्ट्र र दुर्योधनको आधुनिक संस्करण हुन्। भारतले प्रस्टरुपमा बुझ्नपर्छ, कुनै दिन पश्चिमा शक्ति शकुनीको रुपमा हामी बिच छिर्‍यो भने यसको डरलाग्दो असर कौरवलाई नै गर्छ।

नित्से भन्छन्, ‘अरूको अनुभवलाई आफ्नो जस्तै गरी हेर्नु र ग्रहण गर्नुले दयाको दर्शन आकर्षित हुन्छ , यसले हामीलाई नष्ट गर्दछ।’ नेपालको सन्दर्भमा यो महत्वपूर्ण कुरा हो। हामीले भारतको दयालाई मायाको रुपमा हेर्‍यौँ किनकि हामी माया, प्रेम, विश्वास र भाइचारामा विश्वास गर्छौँ। यसरी उसको कुरालाई आफ्नो जस्तो गरी हेर्दा हामी दयाको पात्रमा परिणत हुन पुग्यौँ। यसले हामीलाई दिन प्रतिदिन नष्ट गर्दैछ। यसको विरुद्ध जाग्नु आजको प्रमुख आवश्यकता हो।

रोटी–बेटी सम्बन्धको नाममा नेपाल–भारत सीमाजस्तो अनियन्त्रित सीमाको बारेमा मैले पढेको र देखेको छैन। करिव ८८९१ किलो मिटर लामो क्यानडा–अमेरिका सिमाक्षेत्र पनि नियन्त्रित नै छ। मैले देखेको छु- क्यानाडाको विन्जर र अमेरिकाको डेट्रोइटमा प्रत्येक दिन दुवै देशका हजारौ कामदार सिमा वारपार गर्छन् तथापी उनीहरुले अन्तर्राष्ट्रिय सीमा आवत–जावतका सम्पूर्ण नियमहरु हरेकदिन पालना गर्छन्। अमेरिका–क्यानाडा सम्बन्ध पनि रोटि–बेटीको सम्बन्ध नै हो तर यहाँ मनलाग्दी छैन। अमेरिकी दादागिरीको असर क्यानाडामा परेको कुरा यहाको पत्रपत्रिकामा पढ्न पाइन्छ तर क्यानाडाका शासकहरु दह्रोसंँग उपस्थिति जनाउँछन र आफ्नो सीमाको खातिर सधै जागा रहन्छन्।

तर दुःखको कुरा हाम्रा देशका शासक मलाई बाटो बनाएको कुरा थाहा नै छैन भनेर कानमा तेल हालेर सुत्छन्। यो भन्दा डरलाग्दो देशप्रतिको बेइमानी र गद्दारी अर्को के हुन सक्ला? अब समय यस्तो आएको छ कि हामी बिषादबाट उक्लिएर अर्जुनले लडेको युद्ध लड्नु छ। युद्ध हतियारको मात्र हुदैन। हतियारको युद्ध हामी सक्दैनौ र चाहदैँनौ पनि। अब हामीले कुटनीतिक युद्ध लड्नुपर्छ। नक्शा बनाउने होइन- सिधै जमिन फिर्ता ल्याउने हो भन्ने जस्ता हावादारी र हलुका कुरा गर्ने शासकलाई अब हामीले बिदा दिनैपर्छ। लिम्पियाधुरा, लिपुलेक र कालापानी हाम्रो नक्शामा कहिल्यै पनि थिएन भन्नेहरुलाई चार– भन्ज्याङ कटाउन ढिला भइसकेको छ। लकडाउन या अनेकौँ नामका कारण यिनीहरुलाई जोगाउने यन्त्रणा बन्नु हुँदैन अन्यथा देशको अवशेषमाथि पनि बृहत प्रश्नचिन्ह खडा आउन बेर लाग्दैन।

दया देखाउनु भनेको अपहेलनाको प्रस्ताव गर्नु जत्तिकै हो। हामीलाई भारतले मित्रवत व्यवहार कहिल्यै गरेको छैन। उसले केवल हामीलाई दया देखाउँछ र हामी त्यसैलाई माया भनफ बसेका छौँ। यही माया हाम्रो भ्रम बनिबसेको छ। हामी धेरै पटक दयाको शिकार भएका छौँ, भूकम्पको महामारीमा गरिएको नाकाबन्दीबाट, सयौंपल्टको सीमाको मिचाइबाट, अहिले कोरोनाकालमा पनि भारतले अर्को निहुँ पारेर नाकाबन्दी लाउन बेर छैन वा आउने दिनमा नेपालको नत्थी मेरै हातमा छ भन्ने हिनग्रन्थीबाट हामी परिचित हुनुपर्छ।

अब अन्तर्राष्ट्रिय अदालतको ढोका ढकढकाउन डराउनु हुँदैन। कसैको हेग जानुपर्ने बाध्यतालाई अर्जुनरुपी दयाले ढाकेर अहिले अन्तरार्ष्टियकरण गर्ने बेला भएको छैन भन्ने लहडमा हिँड्ने हो भने सिंगो देशको अस्मिता खतरामा पर्छ। हामी दयाको पात्रबाट बाहिर निस्कनु पर्छ र हाम्रो सीमालाई घेर्नुपर्छ, अत्यावश्यक ठाउँमा पर्खाल लगाउनुपर्छ र सीमा हर बखत नियन्त्रणमा राख्नुपर्छ।

नित्से भन्छन, ‘दयालाई सद्गुणको रूपमा प्रशंसा गरिन्छ। तर अरुको लागी देखाउने दया आफ्नै व्यक्तिगत प्रेम, आत्म–प्रेम र आत्म–आश्वासनको गरिबीबाट उम्कने उपाय मात्र हो।’ नित्सेको दया सम्बन्धि यो दर्शनले अहिलेको अमेरिकी राजनीतिलाई उदांगो पारिदिएको छ। हतियारको बलमा अरुलाई दयाको पात्र बनाउने अमेरिकालाई कोरोना महामारीले गिज्जाइरहेको छ। यसले भनिरहेको छ, ‘तिम्रो बिकसित र समृद्ध सहर न्युयोर्कमा भेण्टिलेटर छैन। तिम्रो दयारुपी सद्गुण बन्द गर। तिमी पहिले आफ्नो गरिबीबाट बाहिर निस्क। गरिब अमेरिकन नागारिकको स्वास्थ्य पहुचलाई सुदृढ गर।’ यो कोरोना एउटा कारण हो तर अब आउने दिनमा अमेरिकाले धेरै शिक्षाहरु अनेक कृत्यका नाममा भोगिरहनुपर्नेछ। त्यो आतंकवाद होला, धार्मिक अतिवाद होला, रंगभेदी आन्दोलन र नश्लका आधारमा होला वा अज्ञात भावी भाइरसहरु तयार भइ बसेका होलान्।

नित्से थप्छन्, ‘दया हाम्रो आफ्नै कमजोरीलाई सद्गुण बनाउन गरिएको प्रयास हो। यसलाई यदि सार्वजनिक अहंकारलाई प्रदर्शन गर्ने माध्यम बनाइयो भने यो झन् अपमानजनक हुन्छ।’ यो अपमानजनक स्थितिको सामना अमेरिकन नागरिकले गरेका छन्। दया वास्तवमै अहंकारलाई तुष्टि दिने एक माध्यम मात्र हो। यसले एकातिर दयालु भनिएकालाई नष्ट गर्दै लैजान्छ भने अर्कोतिर दयाको पात्रलाई झन्झन् परजीवी बनाउँदै लैजान्छ। दुवै पक्षलाई यो अपमानजनक हुन्छ। यो दयारुपी महामारी कोरोना भन्दा डरलाग्दो छ र यसले विश्वलाई बिनासको बाटोमा डोर्‍याएको छ। मलाई लाग्छ- कोरोनापछिको विश्वमा दयाको राजनीतिले काम गर्ने छैन र यदि यही पथमा हिँडे मानव जातिकै लागि यो आत्माघाती सावित हुनेछ।

नित्से अगाडी लेख्छन, ‘दयाको माध्यमबाट मान्छेले आफुलाई अरुभन्दा पवित्र, महान र निःस्वार्थ देखाउन प्रयत्न गर्छ । त्यसैले यो अझ निन्दनीय छ ।’ हाम्रा शासक, विद्वान र शिक्षितवर्गले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नामक दयालाई आ–आफ्नो ढंगले ब्याख्या गरे । कसैले यसलाई अत्यन्त पबित्र ठाने, कसैले यसमा अमेरिकन महानता देखे र कसैले यसलाई निःस्वार्थ विकास सहयोग । मलाई लाग्छ यो अमेरिकन दया हो र अमेरिकाको डरलाग्दो स्वार्थ । आफ्नै देशका जनतालाई आधारभूत स्वास्थ्य सेवा दिन नसकेको अमेरिकाले यो दया किन बाँड्यो? उत्तर सहज छ, यदी केहि गरि चीन आफूभन्दा शक्तिशाली भयो भने आफ्नो अहंकार प्रदर्शन गर्न यसले उसलाई रोक्नेछ । त्यसैले चीनलाई रोक्नको लागि गरिब मुलुक नेपाललाई दयाको पात्र बनाएर अमेरिकाले एमसीसी नामक दयाको रकमीबोरो फ्याँकेको हो । दुर्भाग्य हामीहरुको जो दयाको पात्र बन्न शासकको रुपमा होडबाजी जारी छ, चाहे त्यो सरकारमा रहेका शर्मनाक मन्त्रीहरु हुन् वा प्रतिपक्षमा रहेका राजनीतिक भाइरसहरु जसरी भएपनि एमसीसी पारीत गराउनैपर्छ भनी हात धोएर मास्क खोलेर लागेका छन् ।

‘दयाले व्यक्ति स्वयंमको पिडालाई उत्प्रेरित गर्छ र अरुलाई गराउँछ । यो त्यस्तो कमजोरी हो जसको हानिकारक प्रभावबाट व्यक्तिले स्वयंमलाई गुमाउँछ ।’ नित्से मान्छेलाई जागृत गराउँछन्। मान्छे जाग्दैन किनकि उसले जसरी पनि आफ्नो स्वार्थ पूरा गर्नु छ। कोरोनाले देखाई दियो कि अमेरिका आफ्नो यावत पिडालाई दयालु राष्ट्रको मुकुण्डोमा छोपेको छ। मलाई लाग्छ, आफू शक्ति राष्ट्र बन्न पाउँदिन कि भन्ने पिडालाई नेपाल मार्फत उत्प्रेरित गर्न ल्याएको दयाको राजनीति हो एमसीसी। यो निश्चित छ दयाको राजनीतिबाट अमेरिकाले एकदिन आफु स्वंमलाई गुमाउँनेछ ।

स्टेफन वेगले आफ्नो चर्चित उपन्यास ‘बिअवर अफ पिटी’ मा दया र करुणालाई मिहिन पाराले केलाएका छन । उनि लेख्छन दया कमजोर र भावनात्मक प्रकारको हुन्छ । यसले अर्काको दुःखलाई देखेर उत्पन्न हुने पीडादायी भावनाबाट आफ्नो हृदयको अधीरतालाई छुटकारा दिन चाहन्छ । यो करुणा होइन, तर दया मात्र हो । हामीले भारतीय र अमेरिकी सहयोग करुणा होइन, केवल दया हो भन्ने कुरा कहिले बुझ्ने हो? उनीहरुको यो दया उनीहरुको हृदयको अधीरतालाई छुट्कारा दिने प्रपन्च हो भनि कहिले बुझ्ने हो ? बुझ्ने बेला भएन र अब?

दयाले हामीलाई आफ्नै मार्गबाट तान्छ, हाम्रो जीवनयात्रा बाट । नेपाल राष्ट्रको आफ्नै जीवन छ अनि आफ्नै यात्रा । भारतीय शासकको दया र नेपाली शासकको दयाको पात्रताले नेपाललाई यसको मार्गबाट खुम्चाएकोछ । हाम्रो शासकले आफ्नै भूमिमा भारतले मार्ग बनाएको देख्दैन ।

हामीलाई भारतीय दयाको सागरमा डुबेर मर्नु छैन बरु आफ्नो मायाको भूमिको लागि मर्न तयार छौ । शासकलाई चेतना भया । दया भनेको भावनाको बर्वादी हो । यो नैतिक परजीवी र यो राष्ट्रिय स्वास्थ्यको लागी हानिकारक छ । नित्से सहि लाग्छन जब उनि भन्छन, ‘दया भनेको संक्रमण हो ।’ हो, जरुर हो । दया कोरोनाभन्दा पनि डरलाग्दो संक्रमण हो । हामी भारतीय दयाको महामारीबाट पटक–पटक संक्रमित भएका छौ र अब यो संक्रमण बिरुद्धको भ्याक्सिन लिएर लड्ने बेला आएकोछ ।

स्टेफन वेगले अगाडी लेख्छन, ‘मोर्फिन जस्तै दया शुरुमा एक आराम हो, एक उपचार हो, एक औषधि हो । तर समयक्रममा यसको प्रयोग विष बन्न पुग्छ ।’ बिकासका नाममा भारतीय राजदुताबासबाट लिइने एम्बुलेन्स, बस, बैशाखी आदी नामक सेवा, दयाकोरुपमा हामीले पाएको एक किसिमको विष हो भनेर बुझ्ने बेला भएको होइन र? आफ्ना सन्ततिलाई स्कलरसिपमा पढाउनको लागि भारतीय दुतावास धाउने नेता भनिने विषलाई थुक्न नसके विष हामी भित्र नै छिर्छ होइन र? नेताको व्यक्तिगत दयाको पात्रताले सिंगो मुलुकले पिडा भोगेको छैन र? दिल्लीमा सत्ताको दया मागेर फर्केको नेताको बिमान अब काठमाडौँको बिमानस्थलमा अवतरण गर्न दिनुहुदैन, अब जाग्ने बेला भएको होइन र?

वेगले थप्छन, ‘दयाका केहि ईन्जेक्सनले शुरुमा राम्रो गर्छ । यसले दुखाई मार्छ । तर यसले बिस्तारै शरीरमा आफ्नो प्रभाव बढाउँदै लैजान्छ । हाम्रो स्नायु प्रणाली अधिकभन्दा अधिक मोर्फिनको लागि कराउँदछ र भावनाहरू बढी र अधिक दयाको लागि कराउँदछन्न् ।’ त्यसैले उनि भन्छन, ‘दया देखि होसियार!

मोर्फिनको प्रयोगले प्रयोगकर्तालाई अम्मली बनाउँछ । भारतीय सहयोग मोर्फिन हो, यस्तै एमसीसी, वा अन्य देशले दिने कृपा पनि त्यही गुणदोष बोकेका बिषाक्त हुन् । यसबाट छुटकारा पाउँनु नै हाम्रो भबिष्य हो । मोर्फिनको डरलाग्दो साइड इफेक्ट स्वासप्रस्वासमा आउने गम्भीर समस्या हो । शासकले प्रयोग गरेको दयारुपी भारतीय मोर्फिनको साइड इफेक्ट देशले सहन सक्दैन । ज्ञात रहोस मोर्फिनको ओभरडोजले बिरामीलाई सिकिस्त बनाउँछ । यस्तो अवस्थामा बिरामीलाई बचाउँनको लागि एम्बुलेन्स बोलाएर हस्पिटल लैजान पर्छ । यसको अर्थ भारतीय ओभरडोजबाट पार पाउन अब हामीले अन्तरास्ट्रिय अदालत जानै पर्छ । पुर्खाले आज्र्याको माटोको रक्षाका लागि भएका प्रमाण र दसीका साथ स्वाभिमानको लागि हरेक नेपालीले जाग्ने बेला भएको छ, ती देशवासी हुन् वा देशबाहिर रहेका प्रवासी नेपाली हुन् वा बेलायती, भारतीय, सिंगापुर, हंगकंग, मकाउँमा कार्यरत गोर्खालीहरु हुन् वा संसारभरीका नेपाली भाषी हुन् वा नेपाललाई माया गर्ने शुभचिन्तकहरु सबै मिलेर भारतको भारलाई पूर्णरुपमै निषेध गर्नुपर्ने बेला आएकोछ ।

अति सुन्दर ढंगमा दया र मोर्फिनको तुलनाको अन्त्य वेगले यसरी गर्छन, ‘अनिवार्यरूपमा एक त्यस्तो क्षण आउँदछ जब कसैले ‘होईन’ ‘नो’ भन्नुपर्दछ ।’ अब भारतीय शासकले बुझ्दा हुन्छ ‘हुदैन’, ‘होईन’ र ‘चाहिदैन’ भन्ने युगमा नेपाल प्रवेष गरिसकेकोछ ।

कोरोनापछिको बिश्वमा दया दोहोरिने संकेत म देख्दिन । प्रत्येक नागरिक आ–आफ्ना शासक सँग दया होइन, आफ्नो अधिकारको लागि लड्नेछन् । अमेरिकी नागरिकले आफ्नो जिउधनको स्वास्थ्य अधिकारको लडाइँ लड्नेछन् । अकुपाईवाल स्ट्रीट जस्ता सामाजिक आन्दोलन फेरी सतहमा आउँनेछन र अबको लडाईमा पूर्णता पाउँनेछन । नरेन्द्र दामोदरदास मोदीको कौरबरुपी पाखण्डलाई पाण्डवरुपी भारतीय नागरिकले परास्त गर्नेछन । हिन्दु दर्शनले बोकेको ‘ॐसर्वेभवन्तुसुखिनः सर्वेसन्तुनिरामयाः सर्वेभाद्राणिपश्यन्तुमाकश्चिद्दुःखभाग्भवेतः ॐशान्तिःशान्तिःशान्तिः ले मुर्तरुप लिनेछ । नेपालका दयाका भिखारी पाखा लाग्ने छन ।

जय होस् नेपालको, जयहोस् विश्वको। 

पराजय होस् दयाको, पराजय होस् दयाको पात्रको।

ॐ शान्तिः शान्तिः शान्तिः ।

जेष्ठ ७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्