कोरोनाका कारण ६ करोड मानिसहरु चरम गरिबीको सिकार हुने विश्‍व बैंकको चेतावनी

काठमाडौं-विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसका कारणले संसारभरका ६ करोड मानिसहरु चरम गरिबीको सिकार हुने विश्व बैंकले जनाएको छ।

विश्व अर्थव्यवस्थामा ५ प्रतिशतले ओरालो लाग्दा संसारभर थप ६ करोड मानिसहरु गरिबीको सिकार हुने विश्व बैंकले चेतावनी दिएको हो।

कोरोना कहरका कारण पछिल्ला वर्षमा हासिल गरेका उपलब्धिहरु पनि लकडाउनका कारणले सबै गुमाउन लागेको विश्व बैंकका अध्यक्ष डेभिड मालपासले बताए।

उनले कोभिड–१९ बाट प्रभावित एक सय देशहरुका ७० प्रतिशत मानिसहरु लाभान्वित हुने गरी १६० अर्ब डलर उपलब्ध गराइरहेको जानकारी दिए।

यस्तै उनले आकस्मिक सहायता कार्यक्रममा उक्र देशहरुमा कम बयाजदरमा थप अनुदान तथा ऋण सहयोग गर्ने पनि बताए।

विश्व बैंकको आकस्मिक सहायता कार्यक्रमले मात्र पर्याप्त नहुने भन्दै मालपासले यसमा अन्य दाताहरुलाई जोडिन पनि आग्रह गरेका छन्।
विश्व बैंकले ‘आइडिए’ देशका रूपमा सूचित गरेका देशहरुले तत्काल यसको फाइदा उठाउन सक्ने मालपासले बताए।

कोभिड–१९ बाट हाल भइरहेको रेमिट्यान्स, पर्यटन तथा वित्त ब्यापारको क्षेत्रमा अधिक घाटालाई केही हदसम्म कम गर्न सकिने मालपासको भनाइ छ।

कोरोना भाइरसको जोखिमबाट बच्न विश्वका कयौँ देशहरुमा लकडाउन गरिएको छ।जसका कारणले विश्वभर नै अर्बौले रोजगारी गुमाएका छन् भने अझै बेरोजगारीको जोखम बढ्ने विश्व बैंकले जनाएको छ।

जेष्ठ ७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्