काठमाडौँबाट फर्केको एक महिना भयो, अहिलेसम्म लक्षण देखिएको छैन: संक्रमित युवक

‘काठमाडौंमा लकडाउन भएको १ महिना बितिसकेको थियो, अब के गर्ने भन्ने चिन्ता मनमा थियो। यसैबीच खोटाङस्थित हलेसी तुवाचुंग नगरपालिकाबाट घर जानेलाई गाडीको ब्यवस्था गरिएको खबर पाएँ। र आएँ।’ कुराकानीका क्रममा कोरोनाभाइरस कोभिड १९ संक्रमित २० वर्षीय युवकले भने।

जेठ ५ गते सोमबार कोभिड १९ को संक्रमण पुष्टि भएपनि उनी मंगलबार दिउँसो करिब साढे २ बजे विराटनगरस्थित कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा भर्ना भए। हाल उनको अवस्था सामान्य रहेको बताँउछन्।

बिहान हल्का खानेकुरामा अण्डा र ब्रेड र मध्यान्ह १२ बजेतिर खाना खाएको बताएका युवकले आज हर्लिक्स र आर्युवेदिक औषधी समेत पाएको बताए। मंगलबार बेलुकाबाट नियमित रुपमा दुईजना नर्सहरुले स्वास्थ्य चेकजाँच गरिरहेको बताएका युवक आफूमा कोरोनाको लक्षण नदेखिएको बताँउछन्। उनी भन्छन्, ‘न ज्वरो छ न त अन्य कुनै लक्षण। चाँडै अर्को परीक्षण गरेर नेगेटिभ रिर्पोटसहित निस्कन चाहन्छु।’

कोभिड १९ बाट संक्रमित हुने उनी खोटाङ जिल्लाको पहिलो ब्यक्ति हुन्। कुराकानीका क्रममा केही हतास भेटिएका युवकले बुधबार ८ जना विरामी डिस्चार्ज गरेको समेत जानकारी नपाएको बताए।

उनले भने, ‘हिजो आएदेखि एउटा कोठमा भित्र रहेको छु। बाहिर निस्कन पाउँदिन। सबै कुरा नर्स र चिकित्सकले पुराइदिनु भएको छ। ८ जना डिस्चार्जको खबरले खुशी लाग्यो।’

भक्तपुरको पेप्सीकोलामा बसोबास गर्दै आएका युवकले लकडाउनकै क्रममा पेप्सीकोलामा संक्रमित भेटिएको खबर सुने। त्यसपछि उनी घरफर्कने तयारीमा जुटे। यसैबीच, स्थानीय तहको पहलमा घर फर्कन पाउने आशामा ती युवक बेलुका पेप्सीकोला डेराबाट गाडी चढ्न हिँडे। मिति यकिन नभएपनि बैशाख ९।१० गतेतिरको बेलुका पानी परिरहेको अवस्थामा उनी गाडी चढ्न डेराबाट हिँडेको सम्झन्छन्।

यसक्रममा उनी लगायत थुप्रै सर्वसाधारण खोटाङ घर फर्कन सम्बन्धित स्थानमा पुगिसकेका थिए। उनीपनि पुगे र गाडी चढे। भीडभाड र अस्तब्यस्त हुदाँ गाडीमा कम्तीमा ६० जना चढेका थिए। काठमाडौंकै एक निजी कम्पनीमा बजार प्रतिनिधिको रुपमा काम गरिरहेका युवक घर फर्कने क्रममा काठमाडौंबाट एकरातको यात्रा बसको ढोका छेउमा उभिएर पुरा गरेको सुनाउँछन्। उनी भन्छन्, ‘गाडी चढ्नेक्रममा पानीले चुट्यो। अनि रातभर गाडीमा उभिएर यात्रा गरेँ। विहान करिब साढे चारबजेतिर जयरामघाट पुगियो। हामी त्यही रोकियौं।’

भक्तपुरको पेप्सीकोलामा बसोबास गर्दै आएका युवकले लकडाउनकै क्रममा पेप्सीकोलामा संक्रमित भेटिएको खबर सुने। त्यसपछि उनी घरफर्कने तयारीमा जुटे। यसैबीच, स्थानीय तहको पहलमा घर फर्कन पाउने आशामा ती युवक बेलुका पेप्सीकोला डेराबाट गाडी चढ्न हिँडे। मिति यकिन नभएपनि बैशाख ९।१० गतेतिरको बेलुका पानी परिरहेको अवस्थामा उनी गाडी चढ्न डेराबाट हिँडेको सम्झन्छन्।

उदयपुरबाट खोटाङ, ओखलढुंगा जाने सीमाका रुपमा रहेको जयरामघाटमा जनप्रतिनिधिसहित चिकित्सकको टोली बिहान आएको उनी सम्झन्छन्। त्यसपछि कम्तीमा ११ वटा बसका यात्रुको स्क्रिनिङ र ज्वरो नाप्ने कार्य बेलुका चार पाँचबजेसम्म जारी रह्यो। संक्रमित युवकको पालो दिउँसो साढे दुईतिर आयो। उनको पनि चेकजाँच गरियो। त्यसपछि उनी आफ्नो घर वडा नम्बर एक बेलुका आइपुगेका थिए।

त्यसपछि उनी निरन्तर १४ दिन घरमै क्वारेन्टाइनमा बसेका थिए। यद्धपी उनमा रुघाखोकी भने यथावत थियो। त्यसपछि जेठ २ गते शुक्रबार उनको स्वास्थ्य परीक्षण गरिएको थियो। नाकबाट गरिएको परीक्षणमा संक्रमण देखिएको बताएका युवक आफूमा कोभिड १९ को लक्षण नभएको र बसबाट आउने क्रममा चिसो मौसमको कारण रुघाखोकी लागेको हुनसक्ने बताँउछन्।

तुवाचुंग  नगरपालिकाकी उपप्रमुख विमला राईले ती युवकको स्वास्थ्यलाई हेर्दै गर्दा परीक्षण गरेको र अन्ततः कोभिड १९ को संक्रमण पुष्टि भएको बताइन्। संक्रमित युवक घर आएको १४ दिन बाहिर ननिस्किएको बताएकी उपप्रमुख राईले भनिन्, ‘१४ दिनको होम क्वारेन्टाइनपछि भने उनी घरबाहिर निस्किएका थिए।’

रुघाखोकी जारी रहँदा उनको परीक्षण गरिएको थियो। ५ गते उनमा संक्रमणको रिपोर्ट पोजेटिभ आएपछि विराटनगर पठाउनेतर्फ नगरपालिका लग्यो। तर प्राविधिक कारण सो दिन पठाउन सकिएन र मंगलबार पठाइएको हो।’

उपप्रमुख राईका अनुसार हालसम्म नगरपालिकामा ५ जना क्वारेन्टाइनमा रहेका छन्। यसअघि ४५ जनासम्म क्वारेन्टाइनमा राखिएको बताएकी उपप्रमुख राईले हालसम्म आरडिटीतर्फ ४९ जना र पीसीआरतर्फ ८१ जनाको स्वाब नमुना संकलन गरिएको जानकारी दिइन्।

पहिलो चरणमा ३८ जनाको पीसीआर परीक्षण गरिएकोमा युवकको रिपोर्ट पोजेटिभ आएको र मंगलबार दोस्रोचरणमा ४३ जनाको परीक्षण गरिएको नगरपालिकाले जनाएको छ।

जेष्ठ ७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्