प्रदेश-१मा थप सातजनामा कोरोना संक्रमण पुष्टि

मोरङ– प्रदेश एकमा बुधबार थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोरोना सूचना डेस्कका अनुसार बुधबार झापाबाट ५, धनकुटा र धरानबाट समान एक जनामा कोभिड १९ संक्रमण पुष्टि भएको हो।

विराटनगरस्थित प्रदेश एक प्रयोगशालामा संक्रमितको स्वाबको नमुना परीक्षणका क्रममा उनीहरुमा पोजेटिभ रिपोर्ट आएको डेस्कले जनाएको छ।

यससँगै प्रदेश एकमा हालसम्म ६६ जनामा कोभिड १९ पुष्टि भएको छ। यद्यपि हालसम्म विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट २६ जना सफल उपचारपछि डिस्चार्ज भएका छन्।

हाल प्रदेश सरकारले कोभिड १९ को संक्रमण दैनिक रुपमा बढेसँगै विभिन्न तीन ठाउँबाट पिसिआर परीक्षण जारी राखेको छ।

बुधबारसम्म पिसिआरबाट ३ हजार सात सय ७ जनाको परीक्षण भएको र आरडीटीबाट ९ हजार ८ सय ३७ जनाको परीक्षण भएको डेस्कले जनाएको छ।

जेष्ठ ७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्