झापामा हालसम्म १७ जनामा कोरोना संक्रमण, भारतबाट लुकीछिपी आउने क्रम रोकिएन

झापा– बुधबार साँझको तथ्यांक लगायत गरी अहिलेसम्म सीमावर्ती जिल्ला झापामा १७ जना कोरोना भाइरस संक्रमित भेटिएका छन्।

जन स्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको पीसीआर परीक्षणमा बुधबार साँझ ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।

मंगलबार मात्र ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो भने गत सोमबार एकजनामा संक्रमण पुष्टि भएको थियो।

बाह्रदशी गाउँपालिका र दमक नगरपालिकाका दुईजना संक्रमितहरू निको भएर घर फर्किसकेका छन्।

पछिल्लो पटकका १५ जना संक्रमित भने दक्षिणी सीमावर्ती कचनकवल गाउँपालिकाको क्वारेन्टाइनमा राखिएका भारतबाट केही दिन अघि आएका युवा रहेका छन्।

भारतबाट आउनेलाई क्वारेन्टाइनमा


झापाका कचनकवल तथा झापा गाउँपालिका र मेचीनगर नगरपालिका हुँदै लुकीछिपी नेपाल आउनेहरूको क्रम नरोकिएपछि नेपाली सेना तथा स्थानीय तहले बनाएका क्वारेन्टाइनमा उनीहरूलाई राख्न थालिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्ण कोइरालाका अनुसार मुख्य नाकाबाट नभइ खुल्ला सीमाका कारण लुकीछिपी मकैबारी हुँदै उनीहरू नेपाल प्रवेश गरेका हुन्।

उनले भने, ‘समुदाय जाँदा संक्रमण बढ्ने भएकाले उनीहरूलाई सोझै क्वारेन्टाइनमा पठाइएको हो।’

भारतबाट आएका मान्छेका बारेमा अहिले स्थानीयबासीले प्रहरीलाई जानकारी गराउन थालेको उनले बताए।

मंगलबार साँझसम्ममा करिब पाँच सय जना भारतबाट आएका नेपालीहरूलाई राखिएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ।

झापाका दक्षिणी सीमावर्ती गाउँपालिकाहरू कचनकवल र झापाका सीमा क्षेत्रबाट दैनिक सयौंको संख्यामा नेपालीहरू लुकीछिपी नेपाल आइरहेका छन्। तर सीमामा रहेका प्रहरीले उनीहरूलाई एकत्रित गरेर क्वारेन्टाइनमा पठाउने गरेको छ।

झापा बाहिरका नेपालीहरूलाई नेपाली सेनाले व्यवस्थापन गरेका क्वारेन्टाइनमा राखिएको छ भने झापा घर भएकाहरूलाई सम्बन्धित स्थानीय तहले जिम्मा लिएर उनीहरूले तयार गरेको क्वारेन्टाइनमा राख्न थालिएको छ।

क्वारेन्टाइनमा राखिएका सबैको कोरोना भाइरस संक्रमणको परीक्षण गरेर मात्र घर जना दिइने स्थानीय तहहरूले जनाएका छन्।

सोमबार, मंगलबार र बुधबार गरी झापाको कचनकवल गाउँपालिकामा राखिएका १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

संक्रमण भएकाहरू सबै भारतका विभिन्न शहरहरूबाट आएका हुन्।

जेष्ठ ७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्