चौहानको हत्या गरी घरभित्रै पुरिएको अवस्थामा शव फेला

मोरङ-विराटनगर महानगरपालिका-१४ जतुवामा हत्या गरी शव घरभित्र गाडेको अवस्थामा फेला परेको छ। जिल्ला प्रहरी कार्यालय मोरंगमा प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार जतुवामा ५५ वर्षीय सत्यराम चौहानको शव घरभित्रै गाडेर राखेको अवस्थामा भेटिएको हो।

महानगरपालिका १५ मिल्स एरियास्थित डेरामा परिवारसहित बस्दै आएका मृतक चौहानका माइलो छोरा नगेन्द्रले बुबा बस्ने घरतिर बुधबार बेलुका डुल्दै जानेक्रममा घरको झ्याल ढोका खुल्ला अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए।

नगेन्द्रले घरमा बुबा र जेठो दाजु रोहितलाई नदेखेपछि प्रहरीलाई खबर गरेको प्रहरी प्रमुख अधिकारीले बताए। प्रहरीले राती घटनास्थलमा घरभित्र मृतक सुत्ने खाटनजिक करिब ३ फिट गहिरो खाल्डो खन्दा शव गाडेको अवस्थामा भेटेको हो।

मृतक चौहानको घर जस्तापाता र काठले बनेको छ। जहाँ जमिन भने माटोकै रहेको छ। तीन छोरा मध्ये मृतक चौहान अविवाहित जेठो छोरा रोहितसंग बस्दै आएका थिए। त्यसैगरि माइलो नगेन्द्र मिल्सएरियामा डेरामा र कान्छो छोरा गएको चार।

पाँच वर्षदेखि वेपत्ता अवस्थामा रहेको प्रहरीले जनाएको छ। घटनापछि प्रहरी घर पुग्दा रोहित नभएको र केहीबेरपछि आएर उनले आफू घरमै रहे पनि दिनभर काममा जाने र केही दिनदेखि बुवालाई आफूले समेत नदेखेको प्रहरीसमक्ष बताएकाछन्। प्रहरीले हाल रोहितलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अघि बढाएको छ ।

त्यसैगरी प्रहरीले माइलो छोरो नागेन्द्रमाथि पनि सोधपुछ गरेको छ। घटनास्थलको प्रकृतिका आधारमा चार÷पाँच दिन अघि नै हत्या गरेर शव पुरेको जस्तो देखिने प्रहरी प्रमुख अधिकारीको भनाइ छ। प्रहरीले चौहानको शव उत्खनन् गर्दै पोस्टमार्टमका लागि कोसी अस्पताल पुराएको छ।

जेठ ७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्