अम्पुनको अप्रत्यक्ष प्रभावले मौसम बदली, वर्षाको सम्भावना कुन–कुन क्षेत्रमा?

काठमाडौँ – अम्पुन आँधीको अप्रत्यक्ष प्रभावका कारण नेपालको पूर्व र मध्य क्षेत्रको मौसम प्रभावित भएको छ।

बंगालको खाडीमा बनेको अम्पुन चक्रवात जमिनमा प्रवेश गरिसकेकाले अहिले कमजोर हुने क्रममा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अम्पुनसँगै स्थानीय वायुको प्रभावका कारण पनि देशका अधिकांश क्षेत्रको मौसम बदली भएको छ।

अहिले देशको पूर्वी र मध्य भू–भागमा पूर्ण बदली रही पश्चिमाका आंशिक बदली रहेको मौसमविदले बताएका छन् । पूर्व र मध्यका थोरै स्थानमा वर्षा भइरहेको छ ।

बिहीबार दिउँसो देशको पूर्वी भू–भागमा पूर्ण बदली र मध्य क्षेत्रमा सामान्य बदली रहने छ । यस्तै बाँकी क्षेत्रको मौसम आंशिक बदली हुने जनाइएको छ ।

पूर्वका केही र पश्चिम तथा मध्य क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

पूर्वको उच्च हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको समेत संभावना रहेको मौसमविदले बताएका छन् ।

राति देशको पूर्वी भू–भागमा पूर्ण बदली रही बाँकी क्षेत्रको मौसम आंशिक बदली हुने जनाइएको छ ।

पूर्वका केही स्थान र मध्य क्षेत्रका एक–दुई स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

पूर्वी तथा मध्य क्षेत्रका उच्च हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्ययम हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

जेष्ठ ८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्