देश सञ्चार र शिखर इन्स्योरेन्सबीच बीमा सम्झौता

काठमाडौँ– देश सञ्चारमा कार्यरत सबै पत्रकार र कर्मचारीको कोभिड–१९ बीमा र दुर्घटना बीमा गरिएको छ। शिखर इन्स्योरेन्स कम्पनीमा देश सञ्चार परिवारको कोभिड-१९ तथा दुर्घटना बीमा गरिएको हो।

उक्त बीमा सम्झौतामा शिखर इन्स्योरेन्सका गोंगबु शाखा प्रमुख किशोर श्रेष्ठ र देश सञ्चारका व्यवस्थापक कपिल भण्डारीले हस्ताक्षर गरेका छन्।

बीमितलाई कोरोना संक्रमण रहेको पुष्टि हुनासाथै बीमा दाबी भुक्तानी हुनेछ। शाखा प्रमुख श्रेष्ठले पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिना साथ कम्पनीले बीमा बापतको एक लाख रकम तुरुन्तै भुक्तानी हुने जानकारी दिए।

यसका साथै दुर्घटना भएमा पनि बीमा दाबी भुक्तानी हुने छ। श्रेष्ठका अनुसार दुर्घटना भएमा उपचार खर्च बढीमा ७० हजार रकम उपलब्ध हुने छ। उनले दुर्घटनाको भवितव्यमा बीमितको मृत्यु भएमा ७ लाख रकम इच्छाइएको व्यक्तिलाई भुक्तानी गरिने जानकारी दिए।

सम्झौताअनुसार शिखर इन्स्योरेन्सले देश सञ्चारका हरेक पत्रकार तथा कर्मचारीको एक लाख रुपैयाँको कोभिड–१९ बीमा गर्ने छ।

विश्वव्यापी महामारीको रुप लिएको कोभिड–१९ (कोरोना भाइरस) संक्रमण भइहालेमा बिरामीलाई आर्थिक राहत प्रदान गर्न कोभिड–१९ बीमाले सहयोग गर्ने श्रेष्ठले बताए। उनले यस बीमाप्रति मानिसहरुको आकर्षण बढिरहको जानकारी दिए।

जेठ ८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्