गुल्मीका संक्रमित युवकको रूपन्देहीमा मृत्यु, शव व्यवस्थापनको काम सुरु

बुटवल – रूपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा उपचार गराईरहेका कोरोना संक्रमित शिक्षकको मृत्यु भएको छ । गुल्मीको मदाने ६ का ४१ वर्षीय पुरूष जेठ १ गते क्रिमसन अस्पतालमा भर्ना भएका थिए ।

भेन्टिलेटरमा उपचार भइरहेको उनको बिहीबार बिहान मृत्यु भएको प्रदेश ५ सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख डा . उमाशंकर चौधरीले जानकारी दिए ।

क्रिमसन अस्पतालले औपचारिक रूपमै उनको मृत्यु भएको जानकारी गराएको डा‍. चौधरीले बताए। उनको बिहीबार बिहान ७ बजेर १० मिनेटमा मृत्यु भएको डा. चौधरीले जानकारी दिए ।

बुधबार मृत्युको खबर आएपछि खण्डन गरेको अस्पतालले विज्ञप्ति निकाले पनि मृत्यु भएको सार्वजनिक जानकारी गराएको छैन । उनले शव व्यवस्थापनको तयारी थालिएको र शव नेपाली सेनाले व्यवस्थापन गर्ने उनले बताए । मृत्युको औपचारिक जानकारी स्वास्थ्य मन्त्रालयले नै दिने भएकाले अस्पतालले विज्ञप्ति ननिकालेको जनाइएको छ ।

निमोनिया भएको भन्दै बिरामीको ढाडको अप्रेसन गरी पानी निकालेपछि उनी सिकिस्त बनेको उनका आफन्तले बताएका छन् । सिकिस्त अवस्थामा रहेका उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

जेठ १ गते उपचारका लागि क्रिमसन अस्पतालमा आएका उनको दुई गते स्वाब संकलन गरिएको थियो । जेठ ५ गतेमात्रै उनमा कोरोना पोजेटिभ देखिएको भैरहवास्थित प्रयोगशालाले जनाएको थियो ।

संक्रमण देखिएपछि बिरामीको वास्ता नगरेको र चिकित्सकले नियमित निगरानी पनि नगरेको आफन्तको दाबी छ । गुल्मीमा रहेका उनमा कसरी संक्रमण भयो भन्ने अझै खुलेको छैन ।

उनी कार्यरत रहेको विद्यालयलाई क्वारेन्टाइन बनाईएकोले त्यहीँबाट संक्रमण भएको अनुमान गरिएपनि क्वारेन्टाइनमा बसेका सबैको परिक्षण नहुदा अन्योल छ ।

जण्डिस, रुघा र ज्वरो आएपछि स्थानीय स्वास्थ्यचौकीमा उपचारका लागि पुगेका उनी त्यहाँ निको नभएपछि अर्घाखाँचीको छाया पोलिक्लिनिकमा आएका थिए ।

सन्धिखर्कमा उपचार हुन नसक्ने बताएपछि उनी एम्बुलेन्समा क्रिमसन अस्पताल आएका थिए । अस्पतालमा उनको सम्पर्कमा आएका चिकित्सकसहित ३८ जनाको स्वांब संकलन गरेर कोरोना परीक्षण गरिदैछ।

उनको अन्य व्यक्तिसंगको सम्पर्कको विषयमा अध्ययन भइरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनमा कोरोना संक्रमण देखिएपछि क्रिमसन अस्पताल, अर्घाखाँचीको छाया पोलिक्लिनिक शिल गरिएका छन् ।

जेष्ठ ८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू