बुवाको हत्या गरी घरभित्रै गाड्ने दुई छोरा पक्राउ

मोरङ – विराटनगर महानगरपालिका–१४ जतुवाका सत्यराम चौहानको हत्यामा छोराहरुको संलग्ना रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बुधबार बेलुका चौहानको शव उनकै घरभित्र कोठामा गाडेको अवस्थामा फेला परेको थियो।

मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार चौहानको हत्यामा २९ वर्षीय जेठो छोरा रोहित र २६ वर्षीय माइलो छोरो नागेन्द्र चौहानको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो।

प्रहरीका अनुसार दुवै दाजुभाइले गत शनिबार फरुवा प्रहार गरेर सत्यरामको हत्या गरेको खुलेको छ । हत्या गरेलगत्तै दुवैजनाले कपडाले बेरेर कोठाभित्रै खनेर शव पुरेको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ।

घरमा जेठो छोरा रोहितसँग बस्दै आएका मृतक चौहानले पैसा माग्दै आएका थिए। दैनिक ज्यालामजदुरी गर्दै आएका रोहितले मागे बमोजिम रकम दिन नसक्ने जनाएपछि चौहानले घरबाट निकाल्ने धम्की दिँदा परिवारमा विवाद उत्पन्न भएको थियो। विवादकैबिच नागेन्द्र  पनि घर पुग्दा रोहितले चौहानमाथि फरुवा प्रहार गरेको खुलेको छ।

सो प्रहारबाट घटनास्थलमै मृत्यु भएका चौहानको शव छिमेकले थाहा नपाउने गरि मिलेर कोठाभित्रै गाडिएको प्रहरीको भनाई छ। प्रहरीका अनुसार नागेन्द्रकी श्रीमतीले घटनाका बारेमा थाहा पाएपछि बुवा घरमा नभएको भन्दै नागेन्द्र आफै बुधबार प्रहरी कार्यालयमा पुगेका थिए।

त्यसपछि पुगेको प्रहरी टोलीले घर भित्रै गाडेको अवस्थामा शव उत्खनन् गरेको हो । बुवाको हत्यामा संलग्न रोहित र नागेन्द्र दुवैलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरी नायव उपरीक्षक राईले बताए ।

जेठ ८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्