लिमीका गाउँमा सुरु भयो विकास निर्माणको काम

सिमकोट – चिसो कम हुँदै गएको तथा आर्थिक वर्षको अन्तिम समय आउनै लागेपछि हुम्लाको लिमीमा विकासे गतिविधि सुरु भएका छन् । जमिनमा रहेको हिउँ बिलाएर गएपछि काम गर्न सकिने हुँदा गाउँबासी मिलेर विकासे काम गर्न सुरु गरेका हुन् ।

गाउँको खोलामा तटबन्ध निर्माण गर्न पाउँदा रोजगारी मिलेको बताउँदै लिमीका पेम्बा तामाङले लिमीका लागि काम गर्ने सिजन सुरु भएको बताए । चार हजार मिटर अग्लो स्थान लिमीमा चिसोका कारण कात्तिकदेखि वैशाख महिनासम्म विकासका काम गर्न सकिँदैन । जेठ लागेपछि काम गर्न सुरु भएको उनले बताए ।

लिमीका बासिन्दाले काम सुरु हुँदा कमाउन पनि पाउनेछन् । मंसिरदेखि वैशाखसम्म पशु हेर्ने र घरयासी काम गरेर बस्ने गर्छन् यहाँका बासिन्दा।

यो अवधिमा कमाई पनि नहुने बताएका तामाङले अब भने कमाई सुरु भएको जानकारी दिए । कोरोना भाइरसको महामारीका कारण अहिले ताक्लाकोटमा काम गर्न जाने अवस्था छैन ।

काम गर्न सकिने महिना लागेपछि लिमीका तीनवटै गाउँका लागि चालु आर्थिक वर्षमा तय भएका कामहरु सुरु भएको नाम्खा गाउाँपलिकाको वडा नम्बर ६ का अध्यक्ष पाल्जोर तामाङले बताए ।

योजनाको काम गर्नका लागि उपभोक्ता समिति गठन गर्ने गरिएको भएपनि काम भने सबै गाउँबासीले गर्नु पर्ने हुन्छ । काममा नआउने परिवारलाई जरिवाना लाग्ने भन्दै वडा अध्यक्ष तामाङ समिति नाम मात्रको हुने र जिम्मेवारी सबैले लिनु पर्ने बताए ।

आएको बजेट पनि सबैले बाँडेर लिने गर्छन् । यस पाली लिमीमा आधा दर्जन योजना छन् । त्यसमा तटबन्ध निर्माण, खानेपानी, सिंचाई सडक, कुला लगायतका योजनाहरु रहेका छन् ।

जेष्ठ ८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्