भारतबाट फर्केका बाराको पचारौताका युवकमा संक्रमण, भारतमै गराएका थिए परीक्षण

वीरगञ्ज – बाराको पचरौता नगरपालिकाका एक युवामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पचरौता नगरपालिका वडा नम्बर १ पिपरपाती टोलका ३० वर्षका युवकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

भारतबाट फर्केर तीन दिनदेखि नगरपालिकाको क्वारेन्टाईनमा बस्दै आएका युवकलाई कोरोना पोजेटिभ देखिएको भन्ने खबर आएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।

भारतबाट फर्किने क्रममा बिहारको आदापुरमा भारतीय प्रहरीले ती युवकको स्वाब संकलन गरि परीक्षणको लागि पठाएको र उनको भारतकै ल्याबमा कोरोना पोजेटिभ देखिएको भन्ने खबर प्राप्त भएको मिश्रले बताए ।

संक्रमित युवकलाई कलैया अस्पतालको आइसोलेशनमा ल्याउने कार्य भइरहेको तथा उनको यहाँ पनि स्वाब संकलन गरेर पुनः परीक्षण गरी कोरोना पोजेटिभ भए नभएको भन्ने यकिन गरिने मिश्रको भनाई छ ।

रोजगारीको सिलसिलामा भारतको दिल्लीमा बस्दै आएका ती युवक त्यहाँबाट घर फर्किदा बिहारको आदापुरमा क्वारेन्टाइनमा बसेका बेला नै उनले स्वाब संकलन गराएका थिए ।

आदापुरबाट पचरौतामा रहेको घर फर्किए लगतै उनलाई नगरपालिको क्वारेन्टाइनमा राखिएको पचरौता नगरपालिकाका स्वास्थ शाखाका प्रमुख नवल यादवले जानकारी दिए ।

उनले ती युवकले भारतमै स्वाब संकलन गराएको भए पनि अहिलेसम्म आफूहरुलाई प्राप्त नभएकाले आधिकारिक रुपमा ती युवक संक्रमित भए–नभएको कुरा भन्न नसकिने बताए ।

जेष्ठ ८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू