मैतीदेवीका संक्रमित युवक आइसोलेसनबाट भन्छन्- घरबाहिर खासै निस्किएको थिइनँ

तस्बिर: बर्षा शाह

काठमाडौँ – ‘अहिले पाटन अस्पतालको आइसोलेसन वार्डमा छु। खासै डर लागेको छैन। गाह्रो पनि भएको छैन।’

कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि आइसोलेसनमा राखिएका रामेछाप स्थायी घर भई काठमाडौँको मैतीदेवी बस्दै आएका युवकले टेलिफोनमा देशसञ्चारसँग भने।

रामेछापको खाडादेवी–४ स्थायी घर भई मैतीदेवीमा बस्ने जुम्ल्याहा दाजुभाइमध्येका दाजुलाई संक्रमण पुष्टि भएपछि बुधबार पाटन अस्पतालको आइसोलेसनमा राखिएको हो। उनका भाइ अहिले घरमै क्वारेन्टिनमा छन्।

बिहीबार बिहान अस्पतालको आइसोलेसनबाट टेलिफोनमा संक्रमित युवकले भने, ‘काठमाडौँमा रेस्टुरेन्टमा काम गर्थेँ। लकडाउन हुन्छ भनेपछि घर गयौँ। बिचमा केही खुकुलो हुन्छ भन्ने कुरा आएपछि काम सुरु होला भनेर आएका थियौँ। परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आयो।’

कोरोना भाइरसको संक्रमण हुँदा देखिने भनिएका कुनै पनि लक्षण आफूमा अहिले पनि नदेखिएको उनले जानकारी दिए।

उनले आफू रामेछाप घरमा रहेका बेला पनि त्यति बाहिर ननिस्किएको बताउँदै भने, ‘यहाँ आएपछि पनि खासै बाहिर निस्किएको थिइनँ। तरकारीसहित अरु आवश्यक सामान ल्याउन परे भाइ नै बाहिर जान्थ्यो। म त कोठामै बस्थेँ।’

आइसोलेसन वार्डको अवस्था बताउँदै उनले भने, ‘यहाँ हामी १२–१३ जना छौँ। हामी सबैले प्रयोग गर्ने ट्वाइलेट एउटै हो। खाना चाहिँ ठिकै छ। इन्टरनेटको सुविधा पनि छ।’

परिवारसँग बारम्बार कुराकानी भइरहेको बताउँदै उनले आफूमा संक्रमण देखिएको भए पनि कुनै चिन्ता भने नरहेको जानकारी दिए। उनले भने, ‘आमाले नडरा है बाबु भन्नु भएको छ। परिवारका अरु सदस्यसँग पनि कुरा भइरहेको छ। सबैले ढाडस दिनुभएको छ। मलाई पनि डर लागेको छैन। शरीरलाई अप्ठ्यारो पनि छैन।’

उनीहरुले टेकू अस्पतालमा गएर जेठ २ गते स्वाब दिएका थिए। रिपोर्टमा संक्रमण देखिएपछि अस्पतालबाटै फोन आएको उनले बताए। दाजुभाइ वैशाख ३० गते रामेछापबाट फर्किएको उनले जानकारी दिएका छन्।

उनले भने, ‘मलाई संक्रमण देखियो, अहिले आइसोलेसनमा छु। अरुलाई मबाट संक्रमण नभएको होस् भन्ने कामना छ। त्यति बाहिर ननिस्किएकाले शायद नहोला पनि। अब हुने परीक्षणमा रिपोर्ट नेगेटिभ आओस् र घर फर्किन पाइयोस् भन्ने कामना गरेको छु।’

जेठ ८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्